९ फागुन, काठमाडौं । नेपालले २३ वर्षपछि साग फुटबल जित्यो । यो जितसँगै दुई खेलाडी चम्किए- नवयुग श्रेष्ठ र विकेश कुथु ।
फुटबल टिम गेम हो र नेपालले पाएको जितमा हरेक खेलाडीको उत्तिकै महत्त्व छ । तर, स्ट्राइकर नवयुग र गोलकिपर विकेश कुथु बढी नै ‘सिन’मा आए । नवयुगले विजयी गोल गरे भने कुथुले नेपालको गोलपोस्ट सम्हाले ।
इलामका नवयुग र सिन्धुपाल्चोकका विकेशको ‘केमेस्ट्री’ पनि गजबले मिलेको देखिन्छ । क्लब फुटबल त्रिभुवन आर्मीबाट खेल्ने भएकाले उनी एक-अर्काका घनिष्ठ मित्र हुन् ।
बंगबन्धु र सागमा दुवै रुम पार्टनर रहे ।
रोचक त यो छ, कुनै पनि खेलमा मैदान उत्रने बेला नवयुग विकेशलाई ग्लोब्स लगाइदिन्छन् । अनलाइनखबरको अंग्रेजी संस्करणलाई दिएको अन्तर्वार्तामा कुथुले भनेका छन्, ‘नवयुगले मलाई मैदान गर्ने बेला सधैँ तँलाई म ग्लोब्स लगाइदिन्छु भन्छ ।’
यसरी ग्लोब्स लगाइदिँदा आफूलाई लक लाग्ने नवयुग बताउँछन् । अहिले त कुथुलाई पनि त्यस्तै लागेको छ र खेल मैदान छिर्नुअघि आफैं ‘नवयुग, मेरो ग्लोब्स लगाइ दे’ भन्न थालेका छन् ।
फुटबल समर्थकहरूलाई जस्तै कुथुलाई पनि नवयुगको फिनिसिङ खुब मन पर्छ । भन्छन्, ‘उसलाई पहिला थाहा हुन्छ कि के हो, थाहा छैन, गोल हान्ने ठाउँमा गएर ट्याक ट्याक गोल हान्छ ।’
एक अर्काको प्रतिद्वन्द्वी टिमबाट खेल्यो भने भन्ने प्रश्नमा कुथुले म्यान मार्किङ चाहिने बताए । नवयुगले स्वतन्त्र रूपमा खेल्न पायो भने रोक्न गाह्रो हुने उनको निष्कर्ष छ ।
२३ वर्षका कुथु भारतविरुद्ध फाइनलमा ‘गोर्खे जोस’ले खेलेको बताउँछ । उनी भारतका केही डरलाग्दा आक्रमण असफल पारे भने अरु समयमा पनि उनी सक्रिय रहे । ५० प्रतिशत खेल किपरले खेल्ने र रियल क्याप्टन किपर नै हुन्छ भन्ने गुरु उपेन्द्रमान सिंहले मन्त्र दिएका छन् । उनले भने, ‘गोर्खे जोसले खेल्नुपर्छ भन्नुहुन्थ्यो । यो शब्द एकदमै मोटिभेटिभ लाग्छ ।’
भारतविरुद्ध खेलमा नेपाली टोली निकै दबाबमा रह्यो । भारतले अट्याकिङ खेल्यो । विकेशका अनुसार नेपाली खेलाडी अलिकति नर्भस जस्तो देखिए । उनले भनेका छन्, ‘पहिलो हाफमा दुई-तीन क्रस डेन्जर नै आएको थियो । त्यसबेला मलाई लकले राम्रो साथ दियो ।’
पहिलो हाफको ३१औं मिनेटमा नेपालका आदित्य चौधरीले गरेको गल्तीमा भारतले पेनाल्टी पायो । नेपालका गोलकिपर कुथुले पेनाल्टीको सही दिशा पत्ता लगाए पनि रोक्न सकेनन् । भारतीय खेलाडीले पेनाल्टी हान्दै गर्दा विकेशले पूर्वप्रशिक्षक ज्याक स्टाफानोस्कीले दिएको मन्त्र सम्झिए ।
ज्याकले पेनाल्टी हान्दै गरेका खेलाडीको खुट्टाको मुभमेन्टलाई वान-टु-थ्री गर्दै गन्न र लेफ्टको डिरेक्सन डाइभ हान्न सिकाएका थिए । कुथु भन्छन्, ‘डिरेक्सन त पत्ता लगाउन सकेँ । तर, अनलक्की गोललाई रोक्न सकिनँ ।’
नेपाल पहिलो हाफमा १-० ले पछि पर्यो । तर, दोस्रो हाफमा नेपाल उत्कृष्ट पुनरागमन गर्न सफल भयो । आखिर ड्रेसिङ रुपमा के भयो त्यस्तो, जसले नेपाली टोलीमा जोश ल्यायो ? कुथु भन्छन्, ‘राजु सरले केटा हो चिन्ता नमान । तिमीहरूले फर्काउँछौ र हामीले जित्छौं भन्नु भो ।’
दोस्रो हाफको ६५औं मिनेटमा प्रकाश बुढाथोकीले उत्कृष्ट फ्री किक गरे । कुथुका अनुसार त्यो फ्री किक प्रकाशका लागि उपयुक्त पोजिसनमा थियो र उनले साबित गरिदिए । यदि भारतीय गोलकिपरको ठाउँमा तपाईं भएको भए ? गोलकिपर कुथु भन्छन्, ‘मुस्लिक त थियो । एकदमै नजिकको फ्री किक किपरलाई गाह्रो हुन्छ । किनभने, वाल (मानव पर्खाल) धेरै हाल्नुपर्छ, जसले बल देखिँदैन ।’
साभारः अनलाइन खबर




Milan Shrestha । ९ फाल्गुन २०७२, आईतवार १०:३४ बजे