अदालतले रोक्का गरेको जग्गा बैंक र मालपोतको मिलिमतोमा नामसारी गरेको आरोप

५ मंसीर, सुर्खेत । सुर्खेतमा अदालतले रोक्काको आदेश दिएको जग्गा बैंक र जिल्ला मालपोतका कर्मचारीहरुको मिलिमतोमा नामसारी गरेको आरोप एक जग्गाधनीले लगाएका छन् ।

वीरेन्द्रनगर सुर्खेतका व्यवसायी प्रकाश उप्रेती र उहाँका श्रीमती अर्चना उप्रेतीको नाममा रहेको ६ कित्ता जग्गा एनआईसी एसिया बैंक र मालपोत कार्यालय सुर्खेतका कर्मचारीले मिलेर देवीराम पौडेलको नाममा लिलाम गरी नामसारी गरेको आरोप लगाइएको हो ।

एनआईसी एशिया बैंकमा उप्रेतीद्वयको नाममा रहेको साबिक जर्बुटा गाविस वडा नं. १ क किता नं २०४० को क्षेत्रफल ०–०–१५ (बिगाह) र सोही वडा १ ख कित्ता नं. ८३५, १८६५, १४०१, १८६६ र १८६३ को क्षेत्रफलहरु क्रमश: ०–१–१०–०, ०–०–८–१, ०–०–१६–१, ०–०–११–३ र ०–०–८–१ (बिगाह) जग्गालाई सुर्खेत जिल्ला अदालतले २०७९ फागुन ५ गते रोक्का गर्नु भनी बैंकलाई आदेश दिएकोमा बैंक र मालपोतका कर्मचारीहरुको मिलेर गत साउन २ गते बैंकबाट फुकुवा गराइ लिलामीमा देवीराम पौडेलका नाममा दाखिला गरेको जनाइएको छ ।

जग्गाधनी प्रकाश उप्रेतीले अदालतले रोक्का राख्नु भनी आदेश दिएको तर बैंक र मालपोतका कर्मचारीहरु मिलेर रोक्का राखेको जग्गा फुकुवा गरी देवीराम पौडेलका नाममा दाखिला गरिएको घटनावारे आफूले सोमवार मात्रै थाहा पाएको बताउनुभयो । उहाँले अदालतको आदेशलाई समेत बैंक र मालपोतले उल्लंघन गरेर लिलामीमा अर्कैलाई सकार गर्न लगाएको भन्दै यो काममा बैंक र मालपोतको बदमासी भएको आरोप लगाउनुभयो । उहाँले आफूलाई पौडेलले नै तपाईको जग्गा मैले बैंकको लिलामीबाट लिएको भनेपछि मात्रै थाहा पाएको बताउनुभयो ।

यता मालपोत कार्यालय सुर्खेतले मङ्सिर ४ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौंलाई देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साविक बमोजिम नै कायम गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ । मालपोत अधिकृत जनकबहादुर हमालले पठाएको पत्रमा एनआईसी एसिया बैंकमा २०७५ कात्तिक १४ गते रहेको उप्रेतीद्वयका जग्गाहरु २०७९ फागुन ५ गतेको जिल्ला अदालतले रोक्का राखेकोमा लिलाम सकारकर्ता देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साविक बमोजिम नै काम गर्न भनिएको छ ।

यस्तै मालपोत अधिकृत हमालले अदालतबाट रोक्का राखेको जग्गाहरु के कति कारणले पौडेलको नाममा नामसारी भएको भनी कार्यालयका दुई जना कर्मचारीलाई तीन दिनभित्र स्पष्टिकरण सोध्नु भएको छ । सोमवार नै कार्यालय प्रमुख हमालले कार्यालयका नासु राजकुमार सिंह र खरिदार राजेन्द्रबहादुर खड्कालाई के कसरी नामसारी भएको हो सो बारे चित्तबुझ्दो जवाफ तीन दिनभित्र पेश गर्न स्पष्टिकरण सोध्नुभएको छ । यदि तोकिएको समयभित्र जवाफ नदिएमा कानुन अनुसार कारबाही गरिने जनाइएको छ ।

यता एनआईसी एसिया बैंक सुर्खेतले बैंकले सवै प्रक्रियाहरु पूरा गरेर मात्रै लिलाम गरेको भन्दै कुनै जालसाज नगरेको दावी गरेको छ । बैंकका सुर्खेत प्रवन्क अशोक तिमिल्सेनाले ऋणीले समयमै ऋण नतिरेपछि लिलाम प्रक्रिया अनुसार गरेको भन्दै कुनै जालसाज नगरेको जिकिर गर्नुभयो । समयमै ऋण नतिर्दा बैंकले धितो लिलाम गर्नु स्वभाविक भएको भन्दै उहाँले सवै कामहरु कानुन अनुसार नै प्रक्रिया पूरा गरेर गरिएको उल्लेख गर्नुभयो । आफू बैंकमा नयाँ आएको र यी सवै कामहरु पहिले नै भएकोले थप कुराहरु बैंकको माथिल्लो निकायबाट बुझ्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।