
२२ मंसीर, सुर्खेत । नेपाल स्वयंसेवी रक्तदाता समाजको नारा “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडित पक्षको नैसर्गिक अधिकार हो ।” लाई आत्मसाथ गर्दै लायन्स क्लब अफ सुर्खेत बुलबुलेको आयोजनामा आज सुर्खेतको पञ्चपुरी नगरपालिका पलैटे शिवशक्ति घाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय रक्तनायक/रक्तदाता सम्राट स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्य, कर्णालीका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्य तथा बर्दियाका सर्वाधिक रक्तदाता प्रेम प्रसाद लम्सालको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको लायन्स क्लब अफ सुर्खत बुलबुलेका तिलकराम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, केन्द्रीय सदस्यद्वय प्रेम प्रसाद लम्साल र प्रवाश कुमार शाक्यले रक्तदानका क्षेत्रको बारेमा आफ्नो अनुभव सुनाउनुभएको थियो । त्यस्तै कार्यक्रममा सहभागी रक्तदाताहरुलाई पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी सुर्खेतको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।
Milan Shrestha । २२ मंसिर २०८०, शुक्रबार २१:३२ बजे