दोलखा महोत्सवमा रक्तदाता सम्राटद्वारा रक्तदान शिविरको उद्घाटन


१५ षौष, चरिकोट,दाेलखा । दाेलखा उद्योग वाणिज्य संघद्वारा आयाेजित बृहत् दाेलखा महाेत्सव कार्यक्रम अन्तर्गत बिशेष रक्तदान शिविरकाे आज शुभारम्भ गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता, “रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक” “रगत महानायक” लगायत अन्य बिभिन्न विभूषणबाट विभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैलि हस्तान्तरण गरि शिविरको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज दाेलखा जिल्ला शाखाद्वारा रगतकाे आवश्यकता र रगतकाे महत्त्वबारे सडक नाटक समेत प्रदर्शन गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज दाेलखा जिल्ला शाखाका अध्यक्ष श्याम गाैतमद्वारा लेखिएको उक्त नाटकमा पात्रहरू क्रमशः श्याम गाैतम, मनाेज खत्री, कुमार श्रेष्ठ, भरत बस्नेत, डाेल्मा तामाङ, सुसना फुयाल, अरूणाचल पाेखरेल, रमेश श्रेष्ठ, मनिषा श्रेष्ठ, अरूणा खड्का, ज्ञानबहादुर श्रेष्ठले अभिनय गर्नुभएको थियो ।

साे महाेत्सवमा अतिथिहरू क्रमशः खाेरथलि सामुदायिक बनका अध्यक्ष नारायण बहादुर थापा नेपाल रेडक्रस साेसाइटी दाेलखा जिल्ला सभापति ईश्वरी प्रसाद दाहाल,नेपाल स्वयंसेवी रक्तदाता समाज दाेलखा जिल्ला शाखा अध्यक्ष श्याम गाैतम, स्वास्थ्य कार्यालय दाेलखाका प्रमुख उत्तम खनाल लगायत अन्य अतिथिहरू रहनुभएकाे थियो । माेहन तामाङले सञ्चालन गर्नुभएको थियो कार्यक्रमको सभापतित्व दाेलखा उद्योग वाणिाज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले गर्नुभएको थियोे ।

कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि कर्माचार्यले प्रशंसा-पत्र बितरण र रक्तदाता ब्याज प्रदान गर्नुभएको थियो । कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६३ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो ।