मानवीय जीवनको सर्वोत्तम कार्य रक्तदानः शाक्य


६ माघ, सुर्खेत । कृषि विकास बैंक कर्मचारी संघ, नेपाल कर्णाली प्रदेश समितिले आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंक दिवसको अवसरमा “विशुद्ध पेशागत हकहितकालागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यकता” भन्ने मूल नारा लिएको कर्मचारी संघले स्थानीय पिपल चौतारीमा रक्तदानको आयोजना गरेको कर्मचारी संघ कर्णाली प्रदेशका अध्यक्ष सुमन रिजालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कृषि विकास बैंक कर्णाली प्रदेश निर्देशक डा. सुरज टण्डनले कर्मचारी परिवारले उदाहणीय काम गरेको बताउनुभयो । त्यस्तै कार्यक्रमका अतिथि कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष एवं केन्द्रिय सदस्य प्रवाश कुमार शाक्यले मानवीय जीवनको सर्वोत्तम कार्य रक्तदान रहेको बताउँदै १८ बर्ष उमेर पुगी ४० किलो तौल भएका यूवाहरुलाई रक्तदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा ६ जना महिला सहित २२ जनाले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो ।