पवन जायसवाल
२९ भाद्र, बाँके । प्राथमिक उपचार र खेलकूद भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा विश्व प्राथमिक उपचार दिवस आज शनिवार मनाइएको छ ।
नरैनापुर गाँउपालिकामा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आई.एफ.आर.सी.) को सहयोगमा बाँके जिल्लामा संचालित नेपाल बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरु सन् २०२४–२०२५ द्वारा बाढी पूर्व चेतावनी सूचनामा आधारित शिघ्र स्थानान्तरण कृत्रिम घटना अभ्यास क्रममा बाढी पूर्व स्थानान्तरणका विविध क्रियाकलाप र घाइतेहरुलाई प्राथमिक उपचार सेवाको अभ्यास गरिएको थियो ।
नरैनापुर गाउँपालिका वडा नं. ६ स्थित जय किसान माध्यमिक विद्यालयको पुरानो भवनको परिसरमा आयोजित कृत्रिम घटना अभ्यासमा भोजपुर र गंगापुरका समुदायको सहभागिता रहेको थियो । विश्वभरीका राष्ट्रिय सोसाइटीहरुले सेप्टेम्बरको दोश्रो शनिवारका दिन विश्व प्राथमिक उपचार दिवसका रुपमा मनाउने पराम्परा रहेअनुरुप नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले समुदायमा नै पुगी दिवस मनाएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, सदस्य यज्ञनारायण शर्मा, नरैनापुर गा.पा.६ का वडा अध्यक्ष प्रेमचन्द्र मौर्य, स्थानीय आपत्कालीन कार्यसंचालन केन्द्रका सहायक बच्छराज विश्वकर्मा लगायतले विचार राख्नु भएको थियो भने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उप–निर्देशक दोलखबहादुर डाँगी, सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, लेखा अधिकृत झवीलाल शर्मा र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।
Prawash Kumar Shakya । २९ भाद्र २०८१, शनिबार २०:५२ बजे