५ दिने ललितकला प्रदर्शनी जन नमूना मा.वि.मा शुरु, निःशुल्क प्रवेश गर्न पाइने


फोटोः मोटे ग्याङ्ग नेपाल

१७ फागुन, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि ५ दिने कर्णाली प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी-२०८० शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञ-प्रतिष्ठान कर्णाली प्रदेशको आयोजना एवं नेपाल कमर्शियल आर्टिष्ट संघ सुर्खेतको समन्वयमा ५ दिने ललितकला प्रदर्शनी जन नमूना माध्यमिक विद्यालयमा शुरु भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले क्यानभासमा चित्र कोर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । चित्र कोर्दै मुख्यमन्त्री शर्माले भन्नुभयो “आफूले कोर्न खोजेको चित्रमा कर्णालीको भबिष्य छ, यो सपना साकार पार्न सबै एकजुट हुनु पर्छ् ।”

त्यस्तै नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छली राईले प्रतिष्ठानले देश संघीयतामा गए सँगै सातै प्रदेशमा ललितकला प्रदर्शनीको शुरुवात गरेको बताउँनुभयो । यस्तै सुर्खेतका बालरोग विषशेज्ञ डाक्टर नवराज केसीले चित्रकला बालविकासको सम्वन्धका बारे आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रमलाई आफ्नो विद्यालयमा सञ्चालन गर्न पाउँदा आफू निकै हर्षित रहेको र आगामी दिनमा विद्यालय अझै सहयोग गर्न तयार रहेको जन नमूना माविका प्राचार्य यामबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिष्ठानका चित्रकला विभाग प्रमुख पाल्साङ्गमु लामाले सुर्खेतमा ललितकला प्रदर्शनी गर्न पाउँदा खुशी लागेको बताउनुभयो । विहान १० देखि साँझ ५ बजे निःशुल्क प्रवेश गरिएको  कार्यक्रममा कर्णालीका विभिन्न जिल्ला ४४ जना कलाकारहरुको ६६ विभिन्न चित्र तथा अन्य कलाहरु प्रदर्शनीमा राखिएको नेपाल कमर्शिल आर्टिष्ट संघका केन्द्रीय सदस्य सुभाष शाक्यले जानकारी दिनुभयो ।