भारतबाट ८० मेगावाट विजुली थपियो


फाल्गुन ८, २०७२ ।
नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै आजबाट औपचारिक रुपमा ८० मेगावाट बिजुली आयात थालेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा आली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा त्यसका शुभारम्भ गरेका छन् ।
दिल्लीस्थित हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोटबाट स्विच अन गरेपछि विजुलीको व्यवसायीक आयात प्रारम्भ भएको प्राधिरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए ।
निर्माणाधीन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाईनबाट विजुली आयतको औपचारिक सुभारम्भका लागि हैदरावाद हाउस, मुजफ्फरपुर ढल्केवरमा एकैसाथ कार्यक्रम राखिएको थियो । काफ्लेले भारतबाट २३० मेगावाट आयत भइरहेकोमा ८० मेगावाट थपिएको बताए ।
‘अहिले हामीले भोगिरहेको उर्जा संकटमा यसले केही सुधार ल्याउँछ,’ काफ्लेले भने ‘एक साताको परीक्षणपछि मात्र लोडसेडिङमा कति कटौति हुने बारे भन्नसकिन्छ ।’ अहिले दैनिकको सरदर १३ घण्टा लोडसेडिङमा थपिएको विजलीले २ घण्टा घट्न सक्ने अनुमान गरिएको छ ।
सन २०१३ को डिसेम्वरमा निर्माण सुरु भएको अन्तरदेशीय प्रसारण लाइनको अझै पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन । निर्माण सम्पन्नपछि उक्त लाइनबाट १२ सय मेगावाट बिजुली आयात/निर्यात गर्न सकिन्छ । भारतबाट आयात गरिएको विजुली प्रति युनिट ५ रुपैयाँ ५० पैसा र हुलिङ चार्ज(प्रसारण लाइन प्रयोग वापत) प्रति युनिट १ रुपैयाँ ५३ पैसा प्राधिरणले तिर्ने गरी  सम्झौता भएको छ ।