१३ जेठ, बाँकेमा पहिलो पटक व्यवसायिकरुपमै मुङ दालकोखेती सुरु गरिएको छ ।
दालबालीको उत्पादन बृद्धि गर्न र माटोको उर्बराशक्ति बढाउन बाँके जिल्लाको चिसापानी, हिरमुनिया, नौबस्ता, बनकटुवा लगायतका गाबिसमा करिब ३२ बिघा जग्गामा व्यवसायिकरुपमा मुङको खेती सुरु गरिएको हो।
मुङ एक किसिमको कोसेबाली हो। नेपालमा दलहन बालीको उत्पादन बढाउन जिल्ला कृषि बिकास कार्यालय, कोसेबाली बिकास कार्यक्रमले कृषिको क्षेत्रमा काम गर्ने सिसा, किसान लगायत बिभिन्न गैह्र सरकारी संस्थासँग समन्वय गरी व्यवसायिकरुपमा मुङखेती सुरु गरिएको हो ।
यसरी मुङखेती गर्ने किसानलाई प्रोत्साहन गर्न बीउमा अनुदान दिनुका साथै अन्य प्राबिधिक सेवा उपलब्ध गराइ खरिद गर्ने सुबिधा समेत उपलब्ध गराइएको छ ।
मुङको बोटले वायूमण्डलमा रहेको नाइट्रोजनलाई सोसेर आफ्नो जरामा संचित गर्छ। यसरी संचित भएको नाइट्रोजनका कारण माटोको उर्बरा शक्ति बढ्ने भएकाले रासायनिक मलको अभाव सामना गरिरहेका किसानहरुले मुङ खेती गर्दा एकै पटक फल र मल पाउने कृषि वैज्ञानिक दिल प्रसाद शेरचनले बताए।
मुङखेती गर्मी हुने तराइका जिल्लामा चैतदेखि जेठ मसान्तसम्म गर्न सकिन्छ। मुङ ९० दिनमा तयार हुन्छ।
यो एक हेक्टरमा एक मेट्रिक टनसम्म उत्पादन हुन्छ। मुङको दाल अन्य दालभन्दा बढी मूल्यमा बिक्री हुने किसान बताउँछन्।
मुङ लगाएको खेतमा धानखेती गर्दा धानको उत्पादनमा २० देखि ३० प्रतिशतसम्म बृद्धि गर्न सकिने भएकाले सिँचाईको सुविधा भएको खेतमा मुङ खेती गर्दा किसानले राम्रो फाइदा लिनसक्ने कोसेबाली बिकास कार्यक्रम खजुरा बाँकेका वरिष्ठ कृषि प्राबिधिक रबिन्द्र प्रसाद शाहले बताए ।
साभारः सेतोपाटी अनलाइन



Prawash Kumar Shakya । १३ जेष्ठ २०७३, बिहीबार १५:०४ बजे