नेवार समुदायले सुर्खेतमा भीमसेन थान (मन्दिर) निर्माण गर्ने


भीमसेन र दोलखा भीमसेन

२६ जेठ, सुर्खेत । “जहाँ नेवार त्यहाँ भीमसेन थान” भन्ने नारालाई सार्थक पार्नकालागि कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि नेवार समुदायले भीमसेन थान (मन्दिर) बनाउन कम्मर कसेर लागेका छन् ।

नेवार जातिहरुको संगठन नेवा देय् दबु सुर्खेतले आफ्नो समुदायहरुकालागि भीमसेन थान बनाउनकालागि शुरु गरेको दबु सुर्खेतका अध्यक्ष तिला शाक्य श्रेष्ठले बताउनुभयो । उहाँ भन्नुहुन्छ “नेवार जातिहरुले पुज्ने मुख्य देवता भीमसेन भएकोले हामीले पनि सुर्खेतमा भीमसेन थान (मन्दिर) बनाउन लागेका हौं । थान बनाउनकालागि मुख्यकुरा जग्गाको थियो । त्यो हाम्रा मनकारी सदस्य मिष्टर कार्लमार्क्स श्रेष्ठले वीरेन्द्रनगर ३ पतेनी जाने बाटोमा रहेको आफ्नो जग्गा दान गर्नुभएपछि सजिलो भएको छ । हामी भीमसेन थान बनाउनकालागि सुर्खेतमा छरिएर रहनुभएका नेवार जातिहरुबाट नै सहयोग उठाएर थान निर्माण गर्न अगाडी सरेका छौं ।”

जग्गादाता मिष्टर कार्लमार्क्स श्रेष्ठ

दबु सुर्खेतका सचिव बालकृष्ण श्रेष्ठ भन्नुहुन्छ “हामीले भीमसेन थान मन्दिर बनाउनकालागि विगत २ बर्ष अगाडीबाट नै सहयोग संकलन अभियान चलाएका थियौं केही रकम पनि संकलन पनि भयो तर मुख्य कुरा जग्गा प्राप्तिमा रहेको थियो धेरै प्रयास पनि गर्यौ अन्तत हाम्रै सदस्य मिष्टर कार्लमार्क्स श्रेष्ठले ठूलो हृदयका साथ हामीलाई जग्गादान गरेर महान पुण्यको काम गरेर यो कार्यमा हामी एक खुड्किलो चढ्न सफल भएका छौं ।”

नेवार समुदाय सुर्खेतले प्रस्तुत गरेको लाखे र कुमारी नृत्य

दबुका पूर्व केन्दीय उपाध्यक्ष मिलन श्रेष्ठ पनि अब कर्णालीबासी नेवार जातिहरुले भीमसेन देवतालाई चाँडै नै आफ्नै ठाउँमा पूजा गर्न पाउने कुराले हर्षित भएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ “एकता नै बल हो भन्ने जुन शब्द छ वास्तवमा त्यही कुरालाई आत्मसाथ गर्दै कर्णालीका हामी नेवार समुदाय अगाडी बढ्दै गएका छौं । यसैक्रममा हामीले सुर्खेतमा वास्तवमा लाखे नाँच, कुमारी नृत्य र  धिमे बाजाको धुन पनि सुर्खेतका प्रस्तुत गरिसकेका छौं । हामी हाम्रा सँस्कृतिलाई हाम्रो कार्यक्रम तथा जनजातिहरुको कार्यक्रममा प्रस्तुत गर्दै आइरहेका छौं ।”

सुर्खेतका नेवार समुदाय नेवारी नृत्य र धिमे बाजा प्रस्तुत गर्दै

डा. राजनलाल जोशी (रास)
सहप्राध्यापक, नेपालभाषा केन्द्रीय विभाग

भीमसेनको उत्पत्ति र नेवार
विशेषतः नेवारहरू उपत्यकाबासी भन्ने गरेतापनि सभ्यताको दृष्टिकोणले नेवारहरू दोलखाबाट बसाइ सर्दै आएका हुन् कि भन्ने प्रतित हुन्छ । सर्वप्रथम भीमसेनको उत्पत्ति दोलखामा भएको कथा बाहेक काठमाडौ उपत्यका प्रवेश गर्ने प्राचीन नाका नै दोलखा मान्न सकिन्छ । एकातिर भारतीय उपमहाद्वीपको रूपमा रहेको दोलखा जुन वंगालको खाडीदेखि दामोदर नदी हुँदै सिन्धुलीको सुनकोशी र तामाकोशी हुँदै
दोलखा त्यसपछि उपत्यका प्रवेश गर्ने प्राचीन नाकाको रूपमा रहेको छ भने अर्कोतर्फ तिब्बती मार्ग अर्थात प्राचीन शिल्करोड यसै स्थानमा रहेको छ । यस्को आधार भनेको महाभारतकालीन किचकवध र विराट राजाको दरवार सिन्धुलीको आसपास नै रहेकोले पनि पुष्टि हुन्छ । यसबाहेक दोलखामा हालसम्म विद्यमान पछाडिबाट धान रोप्ने परम्पराको आधारमा कृषि युगको प्रवद्र्धन हुनु पूर्वको सभ्यता झल्किन्छ । जुन पछि रातो मत्स्येन्द्रनाथ दोलखा हुँदै उपत्यका प्रवेश भइ नविनतम कृषि प्रणाली भित्रिएको भन्न सकिने आधार छ । किवंदन्तीका आधारमापनि उक्त मान्यतासँग निकटतम सम्वन्ध देख्न सकिन्छ । किवंदन्ती अनुसार दोलखाली राजकन्याको विवाह काठमाडौंका थकुजुजुको छोरासँग भएपछि भीमसेन काठमाडौं उपत्यका प्रवेश गरेका थिए । राजकन्याको डोले वा भरियाका रूपमा काठमाडौं आएका भीमसेनलाई काठमाडौंको छाउनीमा खेत खन्न पठाउँदा अल्छी मानी बसेका थिए । खनजोत् नगरी खाजामात्र खाएर अल्छीमानी बसेको देखेपछि भरिया नाइकेले भीमसेनलाई गाली गरेपछि उनले पछाडि फर्केर हेर्नु त भनी खेतमा हेर्न लगाउँदा खेत खनीसकेका थिए । यो घटनापछि ती व्यक्तिको सोधखोज गर्दा ती व्यक्ति भीमसेन देवता भएको र उनको नाममा मन्दिर स्थापना गरेको भन्ने छ । यससम्वन्धमा प्रामाणिक इतिहास नभेटिएपनि
हालको मन्दिरको प्राप्त अभिलेखको आधारमा ६१९ वर्ष अघि (नेसं ५२२मा) नै हालको संरचना बनीसकेको देखिन्छ ।

भीमसेन को हुन् ?

नेवार परम्परा अनुसार बलि दिने व्यवस्थाबिचका यो देवतालाई कतिपयले शिव भनी पूजिने गर्छन् । शुक्लयजुर्वेद ३९ अध्याय ७, ८ र ९ मा उल्लेख अनुसार शिवको नाम दिने क्रममा उग्र, भीम, पशुपति, भव, रवि, इशान, महादेव, रुद्र दिइएको छ (शर्मा, १९८८, ७१२–७१३)। नेवार तान्त्रिकहरूले विशेष महत्व दिंदै आएको कुलार्णव तन्त्रमा १२ शिवको नाम लिने क्रममा भीम अर्थात भीमसेनपनि रहेको छ (मिश्र, २००२, ९६)। रुद्रयामलतन्त्रमा भीमसेनको सहस्रनाम नै दिइएको छ । साथैव्यास प्रियो मांस भोगी । अर्थात व्यास ऋषिको प्रिय र मासु खाने भनी भीमसेनको वयान गरेको छ भने अर्को एक स्थानमा बहुभुग्वारुणी भोक्ता अर्थात धेरै खाना खाने र रक्सी पिउने भनी वर्णित छ । यस आधारमा कतिपयले भीमसेनलाई महाभारतको पात्र मान्ने गरिन्छ । भीमसेनले दुशासनको वध पश्चात रगत र मानिसको मासु खाइ समस्त क्षत्रीयहरूलाई ललकारेपछि अर्जुनले दाजुमाथि धावा बोल्न खोजेका थिए । त्यसबेला कृष्णले अर्जुनलाई रोक्दै भनेका थिए, अर्जुन उनी तिम्रा दाजु होइन । उनी शिवका अवतार मात्र हुन् (मिश्र, १९७२, ३३५–३३६)। उनी शिव– भीमसेन–भैरव, सात्विक, राजस र तामस एकै रूप हुन् । यस आधारमा पनि
भीमसेनलाई शिवको रूपमा लिन सकिन्छ । यसको ज्वलन्त कीर्तिपुरको नेसं ७०७ को वाघभैरवको ताम्रपत्रमा भीमसेन भनी लेखिएको  वज्राचार्य, २०५६, ४८६)र पाटन मंगलबजारको भीमसेनलाई मणिभैरव भनिएको छ (शाक्य, २०३१, २७) । बोन धर्मावलम्वीहरूले नेचुको रूपमा पूजिने गर्छन् । तिब्बतमा खिसोङल्दो वल्सन राजाले बोन धर्ममा रहेको तन्त्रमन्त्रलाई निस्तेज गर्नका लागि नालान्दा विश्वविद्यालयबाट शान्तिरक्षितलाइ बोलाएका थिए । पछि बोन धर्मावलम्वीले पद्मसंभवलाई बोलाएका थिए । यसरी बोलावट भएपछि ल्हासामा जानका लागि आएका पद्मसंभवले त्यहाँको अवस्था बुझ्न भीमसेनलाई (नेचु) पठाएका थिए । भीमसेन परेवा भई गएका थिए । ल्हासाको घेपुङ गुम्बामा रहेको रुखमुनि यद्यपि परेवाको मूर्ति राखिएको छ (शाक्य, १११८, १)। यसबाहेक भीमसेनलाई सुरक्षा प्रमुखको रूपमा पनि लिइन्छ ।  तिब्बतसँग व्यापार गर्नेहरू सार्थबाहहरूले दोलखाका भीषण डरलाग्दो व्यक्तिलाई नै सुरक्षार्थ लगिएको अनुमान गर्न सकिन्छ । भारतवर्ष र तिब्बत जोडिने बाटोमा वा तिब्बत जाने सिल्करोडमा बस्दै आएका भीमसेनलाई व्यापारको क्रममा आउने खतरालाई ध्यानमा राखेर नै लगेको हुन् । जो पछि गएर बलका देवताको रूपमा प्रसिद्धि कमाए ।

शिवलाई प्रधानता दिने नेवारहरूले भैरव वा भीमको रूपले पुजेपनि भीमसेनलाई आफू अनुकुल परिवर्तन गरेर आराधना गर्ने गरेका छन् । प्रायः नेवारले व्यापारका देवता भनी पुजेपनि यस देवतालाई भविष्यद्रष्टा देवताको रूपमा पनि लिइन्छ । दोलखा भीमसेनमा आउने पसिना र अन्य परिवर्तन (राजा राजेन्द्र विक्रम शाहको शासनकालमा जमीनमा गाडिएको भीमसेनको गदा एक इंच माथि निस्केको थियो) यस्का दृष्टान्त हुन् छ । त्यसैगरी कतिपयले बलका देवताका रूपमा लिने गरिन्छ भने आर्युविज्ञानका देवताका रूपमा पनि पूजिन्छ । काठमाडौं र दोलखामा भीमसेनलाई किसानको रूपमा लिइन्छ । माथि उल्लेखित काठमाडौं छाउनीको कथाका साथै लमजुङको रिसिङको खुल्ला ठाउँ (पाटन)मा भीमसेनले खेती प्रविधिको विकास गरीदिएका थिए । भीमसेनले सबैको भलो गर्ने क्रममा रिसिङको पाटनमा सुख्खा टारलाई भीमसेनलेबाँध बाँधेका थिए । फलस्वरूप उक्त गाविस नै भीम्वादको नामले चिनिन्छ । यसबाहेक भीमसेनलाई कामवासनाको देवताको रूपमा पनि लिइन्छ । हिडम्बाजस्ता शारीरिक रूपमा विशालता रहेकी कामातुर यक्षणीलाई यौनिक रूपमा शान्त गर्न सक्ने नेवार समुदायले विशेष स्थान दिंदै आएको देवता भीमसेन नै हुन् । महाभारत वा अन्य ग्रन्थको आधारमा स्थापना भएको विश्वास गरेपनि मूलतः उक्त देवता स्थानीयकरण भइ इष्टदेवताको रूपमा स्थापित भइसकेका छन् ।

भीमसेन कस्ता हुन् ?
प्रायः मूर्तिहरूमा दुई हाते भीमसेन निकै डरलाग्दो देवताको रूपमा लिइन्छ । नेवार समुदायमा डरलाग्दो देवताको रूपमा भैरवलाई लिने गरेपनि भीमसेन भने रक्तवर्णका विशाल शरीरको धनी मानिन्छ । श्वेतवस्त्र धारणगरी जटामुकुट युक्त भीमसेनको दुई हात गदा र अभय मुद्रा रहेको हुन्छ । भीमसेनसँग सम्वन्धित भजनका आधारमा कतिपय चित्रकारहरूले भीमसेन बाघ, सिंह, नाग, हात्ती र घोडालाई नियन्त्रण लिएको अवस्था चित्रण गर्ने गर्छन् (Lienhard, 1992, 33-34) । भजन अनुसार नागलाई कुल्चिएको भीमसेनले दाँया खुट्टाले बाघ बाँयाले दन्तयुक्त हात्तीलाई चेपेका, बाँया तिघ्राले सिंहलाई चेपेका र सेतो घोडालाई पछार्न खोजेको चित्र उपत्यकामा बढीमात्रामा प्रचलनमा रहेको छ । यसरी शक्तिशाली देवताको रूपमा रहेको भीमसेन लाई नेवारहरूले विशेष महत्वका साथ स्थान दिएका छन् । फलस्वरूप १२ वर्षमा एकपटक गुप्तवास राख्ने र त्यसपछि भीमसेन र देवी (द्रोपदी)बिच विवाह गराइदिने (राजा प्रतापमल्लले चलाएको) जस्ता सामाजिक कृयाकलाप गरिन्छ । यसका लागि १२ वर्षे गुप्तवासको दुईवर्ष अघि नै काठमाडौं भीमसेन गुठिका तर्फबाट प्रतिनिधि ल्हासाको झिखाछेँ गइ त्यहाँका प्रजाहरूबाट सुन लगायतका पूजा सामाग्री ल्याउने परम्परा रहेको छ । ल्हासामा हरेक व्यापार एवं अन्य कार्यमा नाफाबाट केहि निश्चित रकम भीमसेनलाई छुट्याइन्छ । जुन १२ वर्षमा एकपटक नेपालमा पठाइने गरिन्छ । यसरी छुट्याइने भीमसेन भाग किरण भैरवको भाग मानिन्छ । साथै ललितपुरमा प्रत्येक वर्ष भव्य जात्रा नै गर्ने गरिन्छ । यसरी विशेष महत्वका साथ स्थान दिंदै आएको भीमसेन१२ वर्षमा एकपटक कलेवर फेर्दा उक्त देवताको अजंगताले चित्रकारले आँखा उघार्ने बेला विशेष सावधानी अपनाउने गर्छन् । चित्रकारले सम्पूर्ण शरीरमा रंग लेपनपछि सबैभन्दा पछि आँखा बनाउने गर्छन् । उक्त बेला भीमसेनसँग आँआ जुधिएला भनी अन्यत्र हेरेर दृष्टि बनाउने गर्छ र भीमसेनको सिधा
दृष्टि पुग्ने स्थानमा राँगालाई बाँधेको हुन्छ । यसरी बाँधेको राँगा नै उक्त देवताको पहिलो वलिको रूपमा वलि दिइन्छ । भीमसेनसँगै भीमसेनका आसपासका देवीदेवतापनि उक्त देवताजत्तिकै शक्तिशाली एवं उपयोगी रहेको मानिन्छ (श्रेष्ठ, १११०, ९८)। उपत्यकाको मन्दिरहरूमा रहेको कुप्रो मूर्ति धुसि आजु धुसि अजि यस्का ज्वलन्त उदाहरण हुन् । धुसि आजु धुसि अजिसँग आँखा जुधाएर हेर्नु हुन्न भन्ने मान्यताले उक्त मूर्तिको अनुहार कपडाले छोपिएको हुन्छ ( ललितपुरमा भने त्यस्तो पाइन्न ) । यसरी कुप्रो परेको मूर्तिमा कम्मर दुखेका पुरुषले धुसि आजु र महिलाले अजिको कम्मरमा तेल लगाइदिने गर्छन् (श्रेष्ठ, १११०, ९७)। यसरी तेल लगाइ पूजा गर्ने क्रममा बाँकी रहेको सामाग्री फिर्ता लान हुन्न भन्ने छ ।

भीमसेन संस्कृतिको विकास
महाभारत अनुसार मानिसकै रगत र मासु खाने भीमसेनलाई नेवार समुदायले अक्षरसः अनुसरण गरेका छैनन् । पूजामा विशेष गरी पेडा चढाइने र यदाकदा बलि वा माछा, मासु, लसुन, अदुवा, च्यूरा र रक्सी सहितको पूजा भने गर्ने गरिन्छ । यसरी विशेष स्थान दिंदै आएको भीमसेनले उपत्यका र नेवारहरूबिचबा¥हौं शताव्दीमा नै व्यापकता पाइसकेको देखिन्छ । जस्को आधार नेसं २६० मा काठमाडौं भीमसेन टोलको भीमसेन लाई लिन सकिन्छ (पौडेल, २०२३, २९)। पछि महेन्द्र मल्लले थप मर्मत संभार गरेका थिए । हालको मन्दिर बनाएको र पछि पुनः प्रतापमल्लको कालमा विशाल मन्दिर स्थापना गरीदिएका थिए । यसबाहेक उपत्यकाका सर्वप्राचीन मन्दिरको रूपमा रहेको पशुपतिमा समेत भीमसेनलाई स्थान दिइएको छ । भूमिगुप्तभन्दा अगाडि अस्तित्वमा आएको पशुपति मन्दिरको टुँडालमा भीमसेनलाई नेवारहरूले पूजिने मूर्तिको स्वरूपमा स्थापना गरिएको छ (पौडेल, २०२०, ८२)। भिंद्य सांस्कृतिक रूपमा विशेष महत्वका साथ नेवारहरूले स्थान दिएजस्तै नेपालका अन्य जाति समुदायले भने पुज्ने गरेका पाइन्न । तर, पश्चिम नेपालका व्राम्हणहरू भने भीमसेन नै पुज्ने गर्छन् । साथै महाभारतमा वर्णित भीमसेनलाई रगत र मासु खाने भएकोले पूजा गरेको पाइन्न । यद्यपि भारतको गोण्डाहरू यस देवतालाई जल देवताको रूपमा पुज्ने गर्छन् । भारतको गोरखपुरमा भीमसेन रहेपनि उक्त स्थानमा समेत नेवार समुदायले पुज्ने गर्छन् । जुन जंगबहादुरले गोरखपुर भारतलाई दिनु पूर्व नेपालको सीमाभित्र पथ्र्यो ।

भीमसेन कस्ता देवता ?
व्यापारीहरूका लागि नाफा कमाइ दिने यो देवतालाई अन्य समुदायले शुभका देवताका रूपमा लिइन्छ । फलतः भीमसेन जगाउने वा भीमसेनलाई रिसाउन लगाउने भनी उक्त देवताको मूर्तिको नाकैमा धूपको धुँवा लगाउने गरिन्छ भने मुखमा ठुलठुला पेडाले टालेको हुन्छ । यसका साथै राज्यले यसदेवतालाइ भूत, वर्तमान र भविष्य बताउने देवताको रूपमा लिंदै आएका छन् । राज्यमा आउने कुनै परिवर्तनको संकेत अद्यापी दोलखा भीमसेनको शिलाले गर्दै आएको पाइन्छ । यसबाहेक सर्वसाधारणहरू शुभ अशुभ, दशा निवारणका लागि यो देवता पुज्ने गरिन्छ । साथै, मन्त्रतन्त्र गरी रोग निवारण गर्ने देवताको रूपमा पनि लिइन्छ । यसबाहेक खेतिका देवताको रूपमा पनि यो देवताले स्थान बनाएको छ । यस्को ज्वलन्त उदाहरण रिसिङका नेवारहरूको परम्परा र भक्तपुरका नेवारहरूको परम्परालाई लिन सकिन्छ । भक्तपुरमा धान भित्र्याइसकेपछि सबैभन्दा पहिलो पूजा नै भीमसेनको गरिन्छ । यःमरि पूर्णिमाको भोलिपल्ट यो पूजा गर्ने गरिन्छ भने त्यस लगतै भीमसेन ससुराली जाने भनी दतात्रयबाट वाराहीस्थानसम्म जात्रा गर्ने गरिन्छ । ललितपुरमा व्यापार फलिफापका लागि वर्षको एकपटक भव्य जात्रा गर्ने गरिन्छ । उपत्यकामा सम्पूर्ण नेवार व्यवसायीले वर्षको एकपटक भीमएकादशीका दिन भीमसनलाई व्रत राखी भोलिपल्ट बलीसहितको पूजा चलाउने गर्छन् । भीमसेनले सबैको हित गर्ने भएपनि उक्त देवतासँग गायन विधाको लागि भने अपेक्षा राख्न हुन्न भन्ने छ । मिथक अनुसार गायनका लागि इच्छुक भीमसेनले महादेवसँग गाउने कला सिक्न गएका बेला गधाको स्वरमा गायन सिकाएका थिए । जुन पछि भीमसेन रिसाएर आफ्ना गुरुलाई लखेटेका थिए । महादेव आफूलाई जोगाउन बालाप्वाः (नृत्यश्वर देवताको प्वाल)मा छिरेका थिए भन्ने छ । त्यसैले नेवार समुदायले यो देवतासँग गायनका लागि आशिष थाप्न हुन्न भन्ने छ ।