जनमत अर्ध साप्ताहिकको ६० औं श्रृङ्खलामा जायसवालद्वारा १००औं पटकको रक्तदान

पत्रकार पवन जायसवाललाई शतक रक्तदाता सम्मान



३१ जेठ, नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अर्ध साप्ताहिक पत्रिका र एसओएस नेपालगन्जको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्लाको समन्वयमा त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

आजको कार्यक्रममा आफ्नो १००औं पटकको रक्तदान पत्रकार एवं स्वयंसेवी रक्तदाता पवन जायसवालले गर्नुभएको थियो । रक्तदान पश्चात जायसवाललाई कार्यक्रममा आजकै दिन १०० औं पटक रक्तदान गर्ने पत्रकार तथा रक्त अभियन्ता पवन जायसवाललाई “शतक रक्तदाता” को रुपमा सम्मान गरिएको थियो । उहाँलाई नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमतका सम्पादक पूर्णलाल चुके, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकारहरु दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनालले दोसल्ला ओडाएर “शतक रक्तदाता” को रुपमा सम्मान गरिएको हो ।

जायसवालले “रक्तदान जीवन दान”को महान उद्देश्यका साथ २०४६ साल असोज महिनादेखि निरन्तर रुपमा रक्तदान गर्दै आउनु भएको छ ।त्यसैगरि कार्यक्रममा रक्तदानको महान अभियानमा हातेमालो गरी सहकार्य गर्ने सिद्धबाबा हार्डवेयर तथा स्टार पोलिपाइप प्रा.लि., नेपालगन्ज–१८ का सञ्चालक स्वयंसेवी रक्तदाता तथा समाजसेवी कमल कार्की र ६० औं श्रङ्खलासम्म निरन्तर रुपमा प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई उहाँहरुको योगदानको कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

खजुरा क्यान्सर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुभाष मेहता, वरिष्ठ पत्रकार झलक गैरे र एसओएस नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिकहरु होमराज गिरी, सन्दिप आचार्य र पुनम रानालाई रक्त संकलन थैली हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।

आज आयोजित कार्यक्रममा ४ जना सञ्चारकर्मी तथा ७ महिला सहित ४१ जनाले रक्तदान गर्नुभएको छ ।

वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ६० औं श्रृङ्खलासम्म करीब ३ हजार ५ सय पिन्ट भन्दा बढी स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरिसक्नुभएको छ । स्वास्थ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक ३ महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।