मृतकका परिवारलाई फेरि पनि पुरानै आश्वासन


सुर्खेत, २५ साउन । छुट्टै प्रदेशको माग राख्दै गतबर्षको साउनमा सुर्खेतमा भएको आन्दोलनमा परी मृत्यु भएका परिवारहरुले एक बर्षको अवधिमा आश्वासन बाहेक अरु केही पाउन सकेका छैनन् । मृतक भएकालाई शहीद घोषणा गर्ने, उनीहरुको सम्झनामा सालिक राख्ने, आश्रित परिवारलाई रोजगारीको व्यवस्था गर्नेजस्ता आवश्वासनहरु दिइएपनि एक बर्षको अवधिमा ती कुनैपनि पूरा हुन सकेनन् । जसका कारण मृतकका परिवारजनहरु दुःखी छन् ।

आन्दोलनमा मृत्यु भएका सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरको स्मृतिमा स्थानीय राजनीतिक दलहरुले मंगलवार आयोजना गरेको स्मृति सभामा मृतकका परिवारजनहरुलाई फेरि पनि पुरानै आश्वासन दिइएको छ । स्थानीय नेताहरुले चार जनाको बलिदानीले छैठौं प्रदेशको जन्म भएकोले उनीहरुको रगतलाई खेर जान नदिने बताए थिए । साथै विगतमा गरेका प्रतिवद्धता यसपटक पुरा गर्न लाग्ने पनि उल्लेख गरेका छन ।

पूर्व सभासद एवं नेकपा माओवादी केन्द्रका नेता नरबहादुर विष्टले मृतकका आश्रित परिवारलाई रोजगारी, सरकारबाट शहीद घोषणा गराउन पहल गरिने फेरि आश्वासन दिए । साथै प्रदेश सभाले मृतकका परिवारलाई अवश्य पनि हेर्ने जिकिर गरे । यस्तै पूर्व सभासद एवं एमाले नेता राजबहादुर बुढाले सरकारले शहीद घोषणा नगरेपनि छैठौं प्रदेशका प्रत्येक बासिन्दाको मन मुटुमा रहेकोले यो भन्दा ठूलो सम्मान अरु नहुने जनाए । उनले पनि मृतकका परिवारलाई दिइने राहत, रोजगारीका विषयमा दवाव दिइनुपर्ने बताए ।

कांग्रेस कोषाध्यक्ष अनन्त पौडेलले मृतकहरुको बलिदानीले छैठौं प्रदेश भनेर अहिले गर्व गर्न सकिएको हु“दा उनीहरुले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए । एमाले सचिव मोहन बडुवालले मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार गराउन स्थानीय दलहरु सफल भएको दावी गरे । छैठौं प्रदेशलाई आर्थिक सम्पन्नतामा लगेपछि मात्रै सवैको सम्मान हुने उनको भनाइ छ ।

एमाले अध्यक्ष धु्रवकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष मानबहादुर खड्का, राप्रपाका अध्यक्ष कविराम पुरी, मप क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले बोलेका थिए । दलहरुले आयोजना गरेको स्मृति सभामा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएपनि उनीहरुको परिवारलाई एक शव्द पनि बोल्न दिइएन ।

यता पीडित परिवारछुट्टै प्रदेशको माग राखी आन्दोलनमा उत्रिएका बखत प्रहरीको गोली लागी मृत्यु भएका सुर्खेतका ३ जना मृतकका परिवारजनले आफूहरुलाई दिइने भनिएको किरिया खर्चसमेत नपाएको बताएका छन् । घटनापछि उनीहरुलाई किरिया खर्च भनेर जनही २५ हजार दिने भनिएको थियो ।

तर परिवारजनले पनि आफूहरुले नपाएको बताएका छन् । मृतक यामबहादुर विसीका बाबु ईश्वरबहादुर विसीले आफूहरुलाई दिने भनिएको किरिया खर्चवापत २५ हजार अहिलेसम्म नपाएको बताए । उनले क्षतिपूर्ति स्वरुप १० लाख पाएपनि किरिया खर्च नपाएको गुनासो गरे । उनले छैठौं प्रदेशमा शहीदको सम्मान गर्नुपर्नेमा जोड दिदैं सालिक निर्माण गर्न पनि लाग्नुपर्ने बताए । यसैगरी अर्का मृतक टिकाराम गौतमका छोरा उत्तम गौतमले एक बर्षसम्म पनि शहीद घोषणा नभएकोमा आक्रोश पोखे ।

उनले परिवारजनलाई रोजगार दिनेजस्ता प्रतिवद्धताहरु गरिएपनि व्यवहारमा कार्यान्वयन नभएकोमा दुःख प्रकट गरे घटना भएका स्थानहरुलाई शहीदको नाममा नामाकरण पनि हुनुपर्ने उनको भनाइ छ । यस्तै अर्का मृतक गोपालसिंह रजवारका छोरा दिपक रजवारले सरकारले छिटो शहीद घोषणा गर्नुपर्ने माग राख्दै आश्रित परिवारलाई रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताए ।

साभारः खबरइरा अनलाइन