विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा महत्त्वपूर्ण काम भइरहेकोः पूर्व राष्ट्रपति भण्डारी


२१ फागुन, सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरुलाई अझै पनि पुरातनवादी सोचका कारण सामाजिक,आर्थिक, सांस्कृतिक, राजनीतिक हिसाबले पछि परिरहेको बताउँनु भएको छ ।

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस सन् २०२४ को अवसरमा आज (सोमबार) कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रथम कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा आफ्नो भनाइ राख्दै आफुले महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन र सङ्घर्षका कारण महिलाका क्षेत्रमा महत्त्वपूर्ण काम भइरहेको बताउँनुभएको हो  ।

भण्डारीले महिलाले प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै महिला सशक्तीकरणको अभियानलाई जारी राख्नुपर्ने बताउँदै उहाँले महिलाको सीप, क्षमतालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागि महिलाहरुलाई उहाँले शैक्षिक, आर्थिक सशक्तीकरणका साथै समग्रमा समाजको सांस्कृतिक रूपान्तरणका लागि अझै सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्णाली भौतिक पूर्वाधारको विकासमा पछि परे पनि भौगोलिक विविधता, प्राकृतिक स्रोत, साधनले सम्पन्न रहेको छ । यहाँको रारा ताल, से–फोक्सुन्डो, नेपाली भाषाको उद्दगम स्थल सिंजा, कालिकोटको रास्कोट, पञ्चदेवल, पचालझराना कर्णालीको मात्र नभई सिङ्गो देशका अमूल्य सम्पदा हो । यहाँको जैविक विविधताको उपयोग र पर्यटन प्रवर्धन गर्दा कर्णाली एक समुन्नत प्रदेशका रुपमा रुपान्तरण हुन् सक्दछ ।’

कर्णालीको भौगालिक विकटतालाई चिर्नका लागि उत्तरी सिमा सम्मको कर्णाली करिडोर, नदिहरुमा पुल,पहाडमा सुरुङ्ग मार्ग र केवलकार जस्ता विद्युतियमा आधारित यातायात सञ्चालन गर्न सके विकासले वैज्ञानिक रुप लिने सक्ने पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो ।