
मिलन श्रेष्ठ
२४ मंसिर,सुर्खेत । ढाड र दुवै खुट्टा भाँचिए पछि घरमै थला परेका वीरेन्द्रनगर १० घुस्राका ५२ वर्षिय कर्ण बहादुर नेपालीलाई स्वास्थ्यकर्मी तथा सामाजिक अभियान्ता महेन्द्र बहादुर थापाले आफै एम्बुलेन्स खर्च दिएर अस्पतालसम्म ल्याएर उपचार सहयोग गर्नु भएको छ ।
उहांले बुधबार(आज) एम्बुलेन्स खर्च आफै तिरिदिएर अस्पतालसम्म ल्याएर उपचारको लागि पहल गर्नु भएको हो । उहां बुधबार एम्बुलेन्स लिएर नेपालीको घरमा पुग्नु भएको थियो । नेपालीको घरदेखि प्रदेश अस्पताल आउन एक हजार एम्बुलेन्स भाडा लाग्छ । उहांले एम्बुलेन्स खर्च सहयोग गरेर अस्पतालसम्म पुर्याउनु भएको हो ।
दैनिक मजदुर गरेर घरपरिवार पाल्दै आएका नेपाली कामकै शिलशिलामा १२ वर्ष अघि ढाड भाँचिएर थला पर्नु भएको थियो । चार वर्ष अघि ह्वीचियरबाट लडेर दुवै खुट्टा समेत भाँचियो । काठमाण्डौँसम्म उपचार गर्न जाँदा भएको जग्गा समेत बिक्रि गरेर र ऋण गरेर उपचार गरेका नेपालीले पछिल्लो समय आर्थिक संकटमा गुज्रिनु भएको थिए । अस्पतालमा घाउ सफा गर्न समेत आउन पैसा नहुँदा उहां घरमै थला पर्नु भएको थियो । स्वास्थ्यकर्मी थापाले आफुले अस्पतालसम्म ल्याउन पहल गरेको बलाउनु भयो । नेपालीसँग स्वास्थ्य बिमा कार्ड भएकाले उपचारमा सहज भएको उहांको भनाई छ । ‘मैले अस्पतालसम्म ल्याउन एम्बुलेन्स खर्च सहयोग गरे ।
उहाँहरुसँग स्वास्थ्य बिमा कार्ड भएकाले उपचारमा सहज भयो’ उहांले भन्नु भयो , ‘यहाँ घाउ सफा गर्ने मात्र काम हुन्छ । थप उपचारका लागि उहाँलाई बाहिर लैजानु पर्छ । घाउ भएको ठाउँमा सर्जरी गर्नुपर्ने भएकाले कोहरपुर तथा नेपालगञ्ज लैजानुुपर्छ भनेर डाक्टरले सल्लाह दिनु भएको छ । सहयोगको आवश्यक छ ।’ उहांले हप्तामा एक दिन आफु नेपालीको घरमै पुगेर घाउ सफा गरिदिने बताउनु भयो । उहांले नेपालीको १२ वर्षिया छोरीको अपाङ्गता परिचयपत्रका लागि पनि पहल गरिएको जानकारी दिनुभयो ।



Milan Shrestha । २४ मंसिर २०७७, बुधबार २०:४३ बजे