मुना हमाल ।
सुर्खेत, २६ साउन ।
सिविन नेपालको आयोजनामा मनोसामाजिक परामर्श र संयन्त्र प्रणाली सम्बन्धि एक दिने तालिम बुधबार वीरेन्द्रनगर र सालकोट गाविसमा सम्पन्न भएको छ । युरिपियन कमिशनको आर्थिक सहयोगमा सिविन नेपालद्वारा संचालित ‘बाधा अबरोध हटाऔंः शिशु बालिका अधिकार संरक्षण गरांै’ (बि
टिबि) परियोजना अन्तरगत वीरेन्द्रनगर नगरपालिका र सालकोट गाविसमा तालिमको आयोजना गरिएको हो । मनोसामाजिक समस्या पहिचान गर्नका लागि अभिवृद्धि गर्ने र ५ वर्ष मुनिका बालिकाको अधिकार संरक्षण सम्बन्धि जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।
तालिममा मनोसामजिक समस्या पहिचान कसरी गर्न सकिन्छ, यसका कारण, मनोसामाजिक सहयोग गर्ने तरिका र सिप, मनोसामाजिक समस्यामा भएका व्यक्तिहरुलाई कहाँ सिफारिस गर्ने संयन्त्रबारे जानकारी, गर्भपतन सम्बन्धि अवधारणा र कानुनी व्यवस्था, समुदायमा कसरी सहयोग गर्ने र लैंगिक विभेदको बारेमा छलफल गरिएको थियो । तालिममा सहभागिहरुले तालिममा छलफल गरिएका विषयहरुलाई समुदायमा गएर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले बालिकाको संरक्षणको लागि र मनोसामाजिक समस्यामा परेका बालिका तथा महिलाहरुलाई सम्बन्धित निकायमा सिफारिस गरेर सहयोग गर्ने बताए ।
तालिममा वीरेन्द्रनगर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविका, वडा नागरिक मञ्चका सदस्य, महिला सञ्जाल, आमा समूहलगायतको सहभागिता रहेको थियो । तालिममा आवाज संस्थाकी सिनियर काउन्सलर निशा पौडेल र वल्र्ड भिजन एड्भोकेसी फोरमकी पुष्पा मल्ल कोइरालाले प्रशिक्षण दिएका थिए ।
यस्तै सालकोट गाविसमा सिविन नेपालकी काउन्सलर संगिता वली र बालिका अधिकार सहजकर्ता निर्मला आचार्यले प्रशिक्षण दिएका थिए । महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जाल, वडा नागरिक मञ्चलगायत सहभागि भएको कार्यक्रममा परियोजना सञ्चालन साझेदार संस्था वल्र्ड भिजन एड्भोकेसी फोरमकी तालिम तथा अभिलेख विज्ञ सीता गौतम आचार्य र ‘बालिका हाम्रो सरोकार’ रेडियो कार्यक्रमकी उत्पादक शान्ति लामाको पनि उपस्थित रहेको थियो ।
विटिवि’ परियोजना जिल्लाका दशरथपुर, सहारे, मेहेलकुना, बावियाचौर, सालकोट, वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेको छ । नागरिक समाजको क्षमता अभिवृद्दि गर्दै साझेदारी र समुदायमा आधारित शिक्षा मार्फत प्रमुख रुपमा नेपाली समाजमा बिद्यमान लिंग छनौट र शिशुबालिकाहत्यालाई न्यूनीकरण गरी बालिका बिरुद्ध हुने निकृष्टप्रकारको भेदभावमा कमील्याउने उद्देश्यले परियोजना लागु भइरहेको छ ।



Milan Shrestha । २७ श्रावण २०७३, बिहीबार ००:४९ बजे