कृष्णपक्ष थापा, इजरायल
इजरायलस्थित नेपाली राजदूतावासले सेवा सुचारु गर्नु पूर्व अनिवार्य रूपमा राष्ट्रिय गानको धुन बजाएर कार्य सम्पादन आरम्भ गर्ने परम्पराको थालनी गरेको छ ।
नेपाली राजदूतावास, तेल अविवका कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठको अध्यक्षतामा २०८१ असोज २१ गतेको बैठकले पारित गरे बमोजिम नेपाली राजदूतावास, तेल अविवले २०८१ मङ्सिर ०२ गते आइतबारबाट दूतावासको कार्यालय समय ठिक ०९ बजे राष्ट्रिय झन्डाको साथमा “नेपालको राष्ट्रिय गान” बजाई कार्यालयको कामको शुभारम्भ गरेको हो ।
विदेशस्थित नेपाली नियोगहरू अन्तर्गत राजदूतावास, तेल अविवद्वारा नेपाली टोपी लगाएर दूतावासका कर्मचारीहरूको उपस्थितिमा राष्ट्रिय गान बजाइएको थियो । पहिलो पटक कार्यालयको काम नेपालको राष्ट्रिय गान बजाएर सुरुवात गर्ने प्रचलन सर्वप्रथम इजराइल राजदूतावासमा लागू गरिएको छ ।
इजरायलकालागि कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठले यस्तो अभ्यासले कूटनीतिक नियोगका कर्मचारीहरूमा राष्ट्र प्रेमको भावना अभिवृद्धि गराउनुका साथै अनुशासन र सेवा भावको सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । यसका साथै नेपाली दूतावास परिसरमा निरीक्षण गर्न या विविध कार्यक्रमको सिलसिलामा आइपुगेका अन्य देशका विदेशी प्रतिनिधिहरूलाई समेत नेपाल र नेपालीप्रति सम्मान वृद्धि हुने उहाँको विचार छ ।
राष्ट्रिय गानको सुरुवातसँगै नेपालको आफ्नै प्राचीन संवत् “नेपाल संवत्-११४५” लाई दूतावासको सरकारी कामकाजका चिठ्ठी पत्रहरूमा प्रयोग गर्ने गरी नेपाल सरकारबाट भएको निर्णय बमोजिम राजदूतावासले २०८१ मङ्सिर ०२ गते आइतबारबाट सरकारी पत्राचार गर्दा अनिवार्य रूपमा नेपाल संवत् उल्लेख गर्ने कार्यको पनि सुरुवात गरेको छ ।
विक्रम संवत् उल्लेख हुने आफ्ना सरकारी डकुमेन्ट, विज्ञप्ति लगायत पत्राचारका लागि प्रयोग हुने लेटर हेडसहितका सम्पूर्ण कागजातमा नेपाल संवत् समेत समावेश गर्ने निर्णय नेपाली दूतावास इजरायलले गरेको हो ।
नेपाली दूतावास इजरायलका कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठका अनुसार सङ्घीय मन्त्री परिषद्ले अघिल्लो वर्षदेखि नै सरकारी कागजातमा विक्रम संवत सँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको भएता पनि व्यवहारिकता या विविध कारणले सम्पूर्ण कूटनीतिक नियोग तथा निकायहरूमा यसको अभ्यास भइसकेको थिएन ।
विगत लामो समयदेखि नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । नेपाली दूतावास इजरायलको यस निर्णयबाट अन्य देशका कूटनीतिक नियोगहरूमा पनि यस अभ्यासको सकारात्मक सन्देश जाने उहाँले बताउनु भयो ।
Prawash Kumar Shakya । २ मंसिर २०८१, आईतवार १८:३४ बजे