६ नम्बर प्रदेशको स्थायी नाम ‘कर्णाली प्रदेश’


फागुन १२, सुर्खेत । प्रदेश नं. ६ को स्थायी नाम ‘कर्णाली’ भएको छ । आज शनिबार सञ्चालित प्रदेशको चौथो संसद् बैठकले प्रदेशको नामाकरण कर्णाली गरेको हो ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदमा प्रदेशको नाम ‘कर्णाली’ राखियोस् भनि निर्णयार्थ पेश गरेको प्रस्ताव सर्वसम्मतले पारित भएपछि प्रदेशको नाम ‘कर्णाली’ भएको हो ।

नेता कँडेलले कर्णाली सभ्यताका रुपमा विकासित भएकाले विदेशमा परिचित हुने गरी चिनाउन कर्णाली क्षेत्रबाट प्रदेशको नामकरण गरिनुपर्ने प्रस्ताब राख्नुभएको थियो ।

उहाँले प्रदेशको प्रतिनिधित्व गर्ने तथ्यांकका आधारमा नामकरण गर्न प्रदेशसभा अध्यक्ष सभामुख समक्ष प्रस्ताव पेश गर्नुभएको हो ।

कँडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेशको पहिचान नै कर्णाली भएकाले यसमा समर्थन भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद बीरबहादुर शाहीले प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको बताउनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाहीले पनि प्रदेशको नाम ‘कर्णाली’ भन्ने प्रस्तावमा सहमति जनाउनुभयो ।