समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका कोषाध्यक्ष तथा खप्तड टिभी (अनलाइन) मा कार्यरत पत्रकार गणेश वि.क.लाई नेपाल प्रहरीको साइबर ब्यूरोद्वारा पक्राउ गरी चार दिनदेखि हिरासतमा राखिएको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।
विज्ञप्तीमा प्रकाशित समाचारलाई लिएर गरिएको यो गिरफ्तारी प्रेस स्वतन्त्रतामाथि भएको गम्भीर प्रहार हो । अझ समाचारलाई सरकार सम्बन्धित निकायको आग्रहमा अनलाइन प्लेटफर्मबाट हटाइसकेको अवस्थामा पनि पत्रकार वि.क.लाई हिरासतमा राख्नु पूर्वाग्रही सोचको परिणाम हो । यस प्रकारको कार्यले “ठूलालाई चैन, सानालाई ऐन” भन्ने मानसिकतालाई प्रोत्साहन गरेको देखिन्छ ।
नेपालको संविधानले प्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्नु राज्यका सबै अंगको दायित्व हो। यद्यपि, हालका दिनमा देखिएका घटनाहरूले प्रेस स्वतन्त्रताको मूल्य र महत्वप्रति राज्यका निकायहरू असंवेदनशील बनेको पुष्टि गर्दछ। प्रेसमाथि भएको यो प्रकारको हस्तक्षेपले केवल पत्रकारहरूको काम गर्ने वातावरणमा असहजता निम्त्याउँदैन, यसले लोकतन्त्रको आधारभूत मान्यतालाई समेत कमजोर बनाउँछ। समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटी पत्रकार वि.क.लाई बिना शर्त अविलम्ब रिहाइ गर्न जोडदार माग गर्दछ । साथै, प्रेसमाथि हस्तक्षेप गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार र सम्बन्धित निकायहरूलाई गम्भीर चेतावनी दिन चाहन्छौं ।
हामी स्पष्ट रूपमा भन्न चाहन्छौं कि प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतन्त्रको रक्षा गर्नु हो।पत्रकारहरूलाई धम्की, दमन र हिरासतमा राखेर तर्साउन खोज्नुले समाजमा सत्यतथ्य जानकारी प्रवाह गर्ने अधिकारलाई कुण्ठित गर्दछ। यस्तो अवस्था लोकतन्त्रको हितमा छैन । समाजवादी प्रेस संगठन नेपाल लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षा गर्न कटिबद्ध छ। यस विषयमा सम्बन्धित निकायहरू संवेदनशील बनोस् र प्रेस स्वतन्त्रताको उल्लङ्घन गर्ने कार्य दोहोरिन नदिन आवश्यक कदम चालोस् भन्ने अपेक्षा गर्दछौं।
News Desk । १७ मंसिर २०८१, सोमबार १५:०३ बजे