काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसीएल) अन्तर्गत नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ । सोमबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको हो ।
नेपालले दिएको २ सय १८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ४८ ओभर ३ बलमा मात्र १ सय ९८ रन जोड्दा अलआउट भयो । जितसंगै नेपालले शनिबार भएको पहिलो खेलको हारको बदला समेत लिएको छ । शनिबार पहिलो खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । सोमबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सका भ्यान डर मर्वी र म्याक्स ओदाउदले चौथो विकेटका लागि ८२ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन ।
नेदरल्यान्ड्सका दुई ओपनरद्वय स्टेफेन मेवर्ग र मिचेल रिप्पोन भने सस्तैमा पेभेलियन फर्किएका थिए । मेवर्ग ८ र रिप्पोन ७ रनमा आउट हुदा नेदरल्यान्ड्सले मात्र १९ रन जोडेको थियो । त्यस्तै नेदरल्यान्ड्सले २१ रन जोड्दा अर्का ब्याट्सम्यान वेस्ली बार्रेसीलाई पनि ६ रनमा गुमाएको थियो । तर, भ्यान डर मर्वी र म्याक्स ओदाउदले चौथो विकेटका लागि ८२ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको पारी उकासेका थिए ।
सन्दिप लामिछानेको बलमा बोल्ड हुनुअघि मर्वीले अर्धसतकिए पारी खेल्दै ५६ रन बनाए । म्याक्स ३५ रन बनाएर शक्ति गौचनको बलमा आउट भए । उसका पिटर सेलर एक रनमा आउट भए । त्यस्तै टिम गुइटजरले ४४ रन बनाए । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले समान दुई दुई तथ सन्दिप लामिछाने, शक्ति गौचन र सागर पुनले समान एक एक विकेट लिए ।
यसअघि आम्सटर्डमस्थित भिआरए मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो । शनिबार भएको पहिलो खेलमा ७ विकेटले गुमाएको नेपालले दोस्रो खेलमा पनि सुरुवाती ब्याट्सम्यान सस्तैमा गुमाएको थियो । तर, नेपाली टोलीको पारी कप्तान पारस खड्का र सागर पुनले सम्हालेका थिए ।
साभारः बाह्रखरी अनलाइन



Prawash Kumar Shakya । ३१ श्रावण २०७३, सोमबार १७:०५ बजे