केपीएल २ मा कर्णाली ११ को दोश्रो जित


१४ बैशाख, सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग केपिएलमा घरेलुटाेली कर्णाली ११ ले  लगातार दाेस्राे जित हातपार्न सफल भएकाे छ ।

स्थानीय कालिन्चाेक किक्रेट मैदानमा भएकाे खेलमा समुह ‘ए’ अन्तर्गत कर्णाली-११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ। जितसंगै कर्णाली-११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

खेलमा टस जितेर ब्याटिंग गरेको कर्णाली-११ ले २० ओभरमा ४ विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो । लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिंग गरे पनि ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

मध्यपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिनुभएको थियो । कसिलो बलिंग गरेका कृष्णले ४ ओभरमा १ मेडन ओभर सहित ११ रन मात्र खर्चिनुभयो । जितेंर सिंह ठकुरी र ललित प्याकुरेलले १/१ विकेट लिए। मध्य-पश्चिमको लागि शैलेन्द्र यादबले सर्वाधिक ३१ , राजबिर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन ।

खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिनुभयो । यस अघि पहिले ब्याटिंग गर्ने क्रममा कर्णाली-११ को लागि कप्तान रबिन्द्र जंग शाहीले अविजित ६१ रन योगदान दिनुभयो । अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शाहीले ५६ बलमा ६ चौका प्रहार गर्नुभयो ।

यस्तै कृष्ण कार्कीले आक्रामक इनिंग खेल्दै अविजित ४६ रन बनाउन मात्र २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्नुभयो । लोकेस बमले १७ रन बनाउनुभयो । ७९ रनमा ४ विकेट गुमेपछि रबिन्द्र र कृष्णले पाँचौ विकेटको लागि ६९ रनको साझेदारी गरेका थिए । मध्यपश्चिम क्रिकेट क्लबको लागि तुल्सीराम अहिनले २ विकेट तथा अमित तामांग र अजय शाहनीले १/१ विकेट लिनुभएको थियो ।