कर्णालीमा वित्तीय साक्षरतामाथि नीति संवाद


सुर्खेत – कर्णाली फाउण्डेशनको आयोजनामा “वित्तीय साक्षरता तथा वित्तीय समावेशीकरण” विषयक प्रदेशस्तरीय नीति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहले “समान पहुँचबिना समावेशी विकास सम्भव नभएको बताउनुभएको छ ।” मन्त्री शाहले कर्णाली सरकारका वर्तमान र आगामी वित्तीय नीतिहरू प्रस्तुत गर्दै डिजिटल बैंकिङ्ग सेवा विस्तार, वित्तीय चेतना अभिवृद्धि, महिला र युवालाई लक्षित कार्यक्रम तथा गाउँ–गाउँमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका सभापति, प्रदेशसभा सदस्यहरू, सरकारी अधिकारी, वित्तीय संस्थाका प्रतिनिधि, उद्यमी, व्यवसायी, नागरिक समाजलगायतको उल्लेखनीय उपस्थिति थियो । गोष्ठीमा वित्तीय पहुँच, ग्रामीण भेगको बैंकिङ अवस्था, डिजिटल वित्तीय सेवाको उपयोग, महिला तथा युवाको वित्तीय सशक्तिकरण, विपन्न वर्गमा वित्तीय शिक्षा जस्ता विषयमा गहिरो छलफल भयो। सहभागीहरूले नीति निर्माणमा स्थानीय आवश्यकता र जनसहभागिता अनिवार्य भएको धारणा राखेका थिए ।

कार्यक्रममा कर्णाली फाउण्डेशनले वित्तीय समावेशीकरणलाई दीर्घकालीन अभियानको रूपमा अगाडि बढाउने र सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने घोषणा गरेको छ।