
गुल्मी — नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखाले आफ्नो सातौं स्थापना दिवसको अवसरमा जिल्लाको शिद्धबाबा माध्यमिक विद्यालयमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जीवन बचाउने महान उद्देश्यसहित सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले रक्तदानको महत्वबारे सशक्त सन्देश दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रेसुङ्ग नगरपालिका वडा नं. ८ एवं विद्यालय व्यवसथापन समितिका अध्यक्ष निराजन काउछा र समाजका अध्यक्ष ध्रुव पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गुल्मी मोडल अस्पतालका डा. मणि कार्कीले सहजीकरण गर्दै रगत, रक्ततत्व र रक्तदानका विषयमा वैज्ञानिक एवं व्यावहारिक जानकारी प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीषले नेपाल स्वयंसेवी रक्तदाता समाजले विद्यालय छानेर विद्यार्थीमाझ जीवन उपयोगी ज्ञान प्रवाह गर्नु अत्यन्त सराहनीय भएको बताउँनुभयो । “स्वयंसेवी रक्तदाता समाजको २४ सै घण्टा सक्रिय सेवा प्रेरणादायी छ । म आफैंले आवश्यक पर्दा फोन गरेर सहयोग मागेको छु,” भन्दै उहाँले आभार प्रकट गर्नुभयो ।
यस्तै विद्यालय कै शिक्षक हरि ज्ञवालीले १८ वर्ष पुग्ने विद्यार्थीहरूलाई नियमित रक्तदानमा सक्रिय बन्न उत्प्रेरित गर्दै, रक्तदाता समाजका गुल्मी जिल्ला अध्यक्ष ध्रुव पाण्डे जस्तो सेवाभाव हरेक युवामा विकास हुनु जरुरी रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा गुल्मी अस्पताल अन्तर्गत सञ्चालित पेन प्लस कार्यक्रमकी प्रमुख रेनुका थामीले नसर्ने रोगसम्बन्धी उपयोगी जानकारी प्रस्तुत गर्नुभएको थियो, जसले रक्तदान र स्वास्थ्यप्रतिको सचेतनालाई अझ विस्तार गरेको छ ।

यसै अवसरमा महेन्द्र माविमा समेत एक कार्यक्रम गरिएको थियो । प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक कृष्ण मरासिनीले नेपाल रेडक्रस जत्तिकै महत्वपूर्ण भूमिका नेपाल स्वयंसेवी रक्तदाता समाजले निर्वाह गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “पहिला रगत अभावमा बिरामीलाई पाल्पा वा बुटवल लैजानुपर्थ्यो, अब भने जिल्लामै रगतको व्यवस्थापन सम्भव भएको छ ।”
कार्यक्रममा रक्तदाता समाजका अध्यक्ष ध्रुव पाण्डेले आजको दिनलाई समाजको यात्रामा एक विशेष मोडको रूपमा स्मरण गर्दै भन्नुभयो, “हामी ‘रक्त नबेचौं, नकिनौं, निःशुल्क दिन सिकौं’ भन्ने मूल मन्त्रमा अडिग छौं । रक्तदानलाई अब अझ सुसंस्कृत, संगठित र निरन्तर अभियानको रूपमा अघि बढाइनेछ ।”
उहाँले जात, धर्म, वर्ग वा उमेरको आधारमा रगतको आवश्यकता नफर्किने बताउँदै स्वयंसेवी रक्तदातालाई असली नायकको संज्ञा दिनुभयो । “हामीले सयौं जीवनहरू बचाएका छौं । अब समय आएको छ अझ बलियो संगठन निर्माण गर्ने, युवाहरूलाई अघि ल्याउने, र आकस्मिक रक्त आवश्यकताको व्यवस्थापनमा गम्भीर ध्यान दिने,” अध्यक्ष पाण्डेले जोड दिनुभयो ।
कार्यक्रममा समाजका कोषाध्यक्ष विष्णु अधिकारी र सदस्य रामकृष्ण पौडेलको समेत उपस्थिति रहेको थियो।



Prawash Kumar Shakya । १३ असार २०८२, शुक्रबार २१:४६ बजे