
नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आज जाजरकोट जिल्लाको जाजरकोट जिल्ला अस्पतालमा १८५औं पटक रक्तदान गर्नुभएको छ ।
रक्तदान गर्नुहुँदै कर्माचार्यले सरकारले अझै पनि दानमा प्राप्त रगत विरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था नगरेको हुँदा दानमा प्राप्त रगत विरामीहरूलाई निःशुल्क प्रदान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि, सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताउनुभयो। उहाँले अहिलेको समयमा जनचेतनाको कमीका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गर्नुभयो ।
यस्तै भेरी नगरपालिकाका ३ नम्बर वडाका वडा अध्यक्ष लिलाबहादुर शाहले जाजरकोट जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाजको पहलमा स्थापना गर्न लागिएको रक्तसंचार केन्द्र स्थापना गर्नका लागि रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, आगामी आर्थिक वर्षमा पनि रक्तसंचार केन्द्रका लागि थप रू १ लाख छुट्याउने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट जिल्ला शाखाका अध्यक्ष प्रेमबहादुर ओलीले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिनुभएको छ।



Prawash Kumar Shakya । २४ पुष २०८२, बिहीबार ११:५० बजे