ज्यानमारा विज्ञापन


केही दिनअघि एक युवतीलाई आफन्तले अत्तालिँदै मेडिकेयर अस्पतालको इमर्जेन्सी कक्षमा पु¥याए । बेहोस अवस्थामा रहेकी युवतीको अवस्था गम्भीर थियो । इमर्जेन्सीका डाक्टरले आफन्तलाई सोधपुछ गरे । त्यसपछि थाहा भयो, ‘जाँडरक्सी र गाँजा छुटाउने भनेर प्रचारित औषधिको सेवनले उनको अवस्था त्यस्तो भएको रहेछ ।’ रक्सी र गाँजाकी अम्मली सिंह थरकी ती युवतीलाई उनकी आमाले सुटुक्क दालमा राखेर उक्त पदार्थ खुवाएकी रहिछन् । जसको असरले युवती त्यस्तो अवस्थामा पुगेकी थिइन् । अवस्था गम्भीर देखेपछि प्राथमिक उपचार गरेर त्यहाँबाट उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पठाइयो ।
मेडिकेयरमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माका अनुसार उनको अवस्था र आफन्तको प्रतिक्रिया सुन्दा उक्त औषधिमा ‘डाइसल्फिराम’ नामक केमिकल मिसाएको हुनसक्ने देखिन्छ । पत्रिकामा आएको ‘थाहै नदिई जाँडरक्सीको कुलतबाट छुट्कारा पाउने’ विज्ञापनका पछि लागेर ती महिलाले छोरीलाई उक्त औषधि दिएको डा शर्मा बताउँछन् ।
छोराछोरी, आफन्तलाई कुलतबाट छुट्कारा दिलाउन चाहने धेरै छन् । त्यो पनि ‘थाहै नदिई छुट्ने’ भनेर राष्ट्रिय स्तरका नाम चलेका पत्रपत्रिका र टिभीमा विज्ञापन आएपछि सर्वसाधारणले विश्वास गर्छन् नै । साइडइफेक्ट (प्रतिअसर) भएका औषधीय तत्व मिसाइएका तर हर्बल भनिने त्यस्तो औषधिले ज्यानै लिनसक्ने चिकित्सकहरु बताउँछन् ।  ती महिलाले जस्तै भ्रमपूर्ण विज्ञापनको पछि लागेर आफन्तलाई कुलतबाट छुट्कारा दिनुको सट्टा झन् रोगी बनाइरहेको घटना धेरै रहेको डा. शर्मा बताउँछन् । आफूकहाँ त्यसअघि पनि केही व्यक्ति यस्तो औषधि प्रयोगबाट बिरामी भएर उपचारका लागि आएको उनले बताए । ती बिरामीले प्रयोग गरेको ‘स्मार्ट–पी’ नामक ‘कुलत छुटाउने औषधि’ देखाउँदै उनले भने, ‘सम्बन्धित व्यक्तिलाई थाहै नदिइ बिरामी पार्ने गरेकाले आफन्तले के खुवाउँदा त्यस्तो भएको हो भनेर खोल्न चाहँदैनन् । यही औषधिका कारण गम्भीर बिरामी भएर अस्पतालमा आउनेको सँख्या निकै हुन्छ ।’ नजिक अस्पताल नभएकाहरुको त यसको असरबाट मृत्यु नै हुनसक्ने उनले बताए ।
‘जाँडरक्सीलगायतका कुलत थाहै नदिइ छुटाउन’ भनेर बिज्ञापन गरिरहेकाहरु मध्ये तिनकुने, कोटेश्वर, बागबजार तथा कलंकीका टेलिमार्केटिङ सेन्टरमा स्वास्थ्य खबरपत्रिकाको टोली ग्राहक बनेर पुगेको थियो । तिनकुनेस्थित सेन्टरमा पुग्दा आफूलाई प्रोपाइटर बताउने विनोद बोलाखेले नाम, लेबल, प्याकेट केही नभएका केही पोका दिएर बिना साइडइफेक्ट ठिक पार्ने बताए । तर, उनले हर्बल औषधि भएकाले कुनै साइडइफेक्ट नगर्ने भन्दै सक्दो सेवनकर्तालाई थाहै नदिई सेवन गर्न सुझाए । उनले भने, ‘यसले भोमिट गराउँछ र खानै मन नलाग्ने अवस्थामा ल्याउँछ ।’
उनले भनेको प्रतिअसर ‘डाइसल्फिराम’ नामक केमिकलले गराउनेसँग मिल्ने डा शर्माले बताए । उनले भने, ‘पहिले–पहिले चिकित्सकले अस्पतालमै भर्ना गरेर यो केमिकलबाट दुव्र्यसन छुटाउने प्रयास गर्थे ।’ तर, अहिले भने यसको प्रयोग हटिसकेको डा. शर्मा बताउँछन्  । डा. शर्मा भन्छन्, ‘यो केमिकलको प्रयोग गरिएको हो भने त्यसले ज्यानै लिन सक्छ  । त्यसैले छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
त्यसबाहेकमा पनि हर्बल भनेर केमिकल मिसाइरहेको हुनसक्ने आशंका औषधिविज्ञ गर्छन् । औषधि व्यवस्था विभागका फर्मासिस्ट राजेश श्रेष्ठ भन्छन्, ‘यसरी समस्या समाधान गर्ने हर्बल भनिने कतिपय औषधिले तत्काल निको भएको महशुस पनि गराउँछन् । पछि गएर अनुहार सुन्निने, ज्वरो आउने, किड्नी बिग्रिनेसम्मका समस्या आउन सक्छन् ।’

भ्रमपूर्ण विज्ञापन

add2
यो मात्रै होइन, यौनशक्ति घटाउने वा बढाउने, दुब्लो बनाउने वा मोटा बनाउने, लिंगको साइज बढाउने, हाइट बढाउने, दुखाइ ठिक गर्ने जस्ता भ्रमपूर्ण बिज्ञापन भइरहेका छन् । पत्रपत्रिका, अनलाइन र टिभीमार्फत् बढाइचढाइँ भ्रमपूर्ण बिज्ञापन गरेर समस्यामा परेका उपभोक्तामाथि ठगी भइरहेको छ ।
सर्वोच्च अदालतले २०७२ जेठ २७ गते नै उपभोक्ताको स्वास्थ्यमा असर र आर्थिक क्षय भएको उल्लेख गर्दै यस्ता भ्रमपूर्ण बिज्ञापन नगर्न आदेश दिइसकेको छ । न्यायाधीशहरू गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजालशले यस्तो आदेश दिएको हो । उपभोक्ता अधिकार मञ्चका तर्फबाट अधिबक्ता विष्णु तिमिल्सिनाले दायर गरेको रिटमा यी सबै भ्रमपूर्ण बिज्ञापन रहेको ठहर सर्वोच्च अदालतले गरेको थियो ।
औषधि ऐन २०१९ को दफा १९ मा औषधिको उपयोगीता तथा प्रभावकारीता सम्बन्धमा झुठो र भ्रमात्मक प्रचार गर्न नहुने र प्रचार वा बिज्ञापन गर्न अनुमति लिनुपर्ने प्रावधान छ  । यसैको कानूनी व्यवस्था संयुक्त बजार निर्देशिका २०६९ ले बिज्ञापनको अनुगमन गर्ने व्यवस्था गरेको छ ।
‘दुखाइ कम गर्ने’ भनेर भ्रमपूर्ण बिज्ञापन गरिरहेको प्रोग्रेसिभ कम्पनीको ‘पेन नील’ तेलको अनुगमनमा जाँदा विभागका कर्मचारी चकित परे । ‘विभिन्न टिभी रेडियोमा मलाई त यो तेल लगाएपछि दुखाई ठिक भयो भन्ने उपभोक्ता होलान् भन्ने ठानेका थियौं । तर, उनकै कर्मचारी रहेछन्,’ औषधि व्यवस्था विभागका प्रवक्ता नारायणप्रसाद ढकालले भने । उक्त तेलका उत्पादक हरिनारायण चौधरीले  चारभन्दा बढी टेलिभिजनमा बिज्ञापन गरिरहेको स्वीकारे । उनले औषधि व्यवस्था विभागकै कार्यालयमा उक्त तेलले ठीक हुने दाबी गरे । ‘यसले हानी गर्दैन भन्ने आधार के छ ?’ भनेर स्वास्थ्य खबरपत्रिकाले गरेको प्रश्नमा उनी अकमकिए ।
विभागका निर्देशक वालकृष्ण खकुरेल सामान्यतया यस्ता सामग्री बिक्री गर्दा ‘हानी नगर्ने’ प्रमाणित हुनुपर्ने बताउछन् । उक्त उत्पादनका उत्पादक औषधि उद्योगका रुपमा सञ्चालन अनुमति माग्न आउँदा आफूले अनुगमन गर्न पठाएको उनले बताए । यसैगरी यौनोत्तजेक औषधि तथा औषधिजन्य उपकरणको प्रयोगले मानिसको स्वास्थ्यमा दीर्घकालिन असर पार्ने गरेको बताइन्छ  । यसले स्वास्थ्य तथा सम्पत्ति दुवैमा हानी पुगेको सर्वाेच्चकै आदेशमा उल्लेख छ । ‘यस्ता तथ्यहीन र भ्रम सिर्जना गर्ने बिज्ञापन नियन्त्रण नियमन र निषेध गर्नुपर्ने कर्तव्य देखिन आउँछ,’ फैसलामा भनिएको छ ।

विभागलाई टेरेनन् टेलि–मार्केटिङले

dda
यसरी भ्रमपूर्ण बिज्ञापन गरी उपभोक्ताको स्वास्थ्य र सम्पत्तिमा हानी गरिरहेका छन् टेलीसपहरुले । तिनीहरुको संगठन नेपाल टेली–मार्केटिङ एशोसियसन छ । औषधि व्यवस्था विभागले गत भदौ ३१ गते उक्त एशोसियसनका नाममा एक पत्र पठाई भ्रमात्मक बिज्ञापन नगर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको बेवास्ता गर्दै यस्ता विज्ञापन प्रकाशित भइरहेका छन् ।
प्रचलित कानुनबमोजिम सम्बन्धित निकायबाट इजाजत लिएर मात्रै बिज्ञापन गर्न पाउने विभागका निर्देशक बालकृष्ण खकुरेलले बताए । उनले भने, ‘कुनै पनि भ्रमात्मक सूचना प्रयोजन वा स्वास्थ्यउपचार निको पार्न वा रोग साम्य पार्ने विषय विज्ञापनमा समेट्न पाइँदैन र विज्ञापन गर्दा प्रचलित कानुन पालना गर्नुपर्ने हुन्छ ।’ यसैगरी सूचना दिँदा यस्ता सामग्री ‘औषधि होइनन्’ भन्ने सन्देशसहित विज्ञापन गर्न पनि विभागले निर्देशन दिएको छ । तर कुनै पनि निर्देशन टेलि मार्केटिङ गर्नेहरुले पालना गरेको पाइदैंन ।
विभागका तर्फबाट आफूले सचेत गराइसकेको र त्यसको पालना नभए कानूनी दायरा ल्याउन अघि बढ्ने प्रवक्ता ढकालले जानकारी दिए । उनले भने, ‘सर्वाेच्चको आदेशपछि उनीहरु गरिखाने बाटो भएन भनेर अनुमति माग्न हामीकहाँ आएर धर्ना दिएका थिए । विभागले गलत काम गरेर ठग्न पाइदैंन भनेर पठायौं । सँगै त्यसो नगर्न बुँदागत रुपमा उल्लेख गरी सूचना जारी ग¥यौं ।’

आदेशको अपहेलना

press
सर्वाेच्चको आदेशमा भनिएको छ, ‘भ्रमपूर्ण विज्ञापनलाई व्यवस्थापन गर्ने सम्बन्धमा आम उपभोक्ताको स्वास्थ्य, सम्पत्ति, सार्वजनिक नैतिक र सदाचार प्रतिकुल हुने खाद्य पदार्थ, औषधि तथा औषधिजन्य उपकरण तथा अन्य उपभोग्य वस्तुको पत्रपत्रिका, रेडियो टेलिभिजनलगायतका सञ्चारमाध्यम र अन्य विद्युतीय उपकरण, पर्चा, होर्डिङ बोर्ड लगायतमा गर्न पाइदैन । उक्त कुराको नियमन र आदेश कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिइएको छ ।’
तर यसरी विज्ञापन गर्नेहरुले सर्वाेच्चको आदेशको ठाडो अवज्ञा गरिरहेका छन् । उनीहरुले खुलेआम प्रचार जारी राखेर उपभोक्तामाथि ठगी गर्दै आएका छन् । आदेश भएको १ वर्ष बित्नै लाग्दा पनि कार्यान्वयन नभएको भन्दै आफू मानहानीको मुद्दा हाल्ने तयारीमा रहेको उपभोक्ता हित संरक्षण मञ्चका विष्णु तिमिल्सिनाले बताए । उनले भने, ‘सर्वाेच्चको आदेशपछि केही समय रोकिएपनि फेरि पुरानै अवस्था आएको छ । हामी मानहानीको मुद्दा दायर गर्ने तयारी गरिरहेका छौं ।’
उक्त आदेशको पालना गर्न  पत्रपत्रिकालाई समेत सूचना विभागले पत्राचारको गरेको छ । आदेश जारी भएको ८ महिनापछि गत माघ २२ गते सबै पत्रपत्रिकाका सम्पादकका नाममा सूचना जारी गरेको सूचना विभागले जनाएको छ । सूचनामा भनिएको छ, ‘सो अनुरुप (भ्रमपूर्ण) प्रकाशित, प्रसारित नगर्न नगराउन निर्देशानुसार अनुरोध छ ।’ तर, समाचार तयार पार्दाको मितिसम्म पत्रपत्रिकामा उक्त बिज्ञापन रोकिएका छैनन् ।

ज्यानै जान सक्छ

bishowbandhu
डा. विश्ववन्धु शर्मा, मनोचिकित्सक
मदिरा तथा लागुऔषधको कुलत छुटाउने औषधि भन्दै बजारमा छ्याप्छ्याप्ती विज्ञापन आइरहेका छन् । तिनकै पछि लागेर धेरैले ब्याच, सिरिज डेट, उत्पादक कम्पनीलगायत उल्लेख नभएका त्यस्ता पदार्थ सेवन गर्ने र समस्या भएपछि अस्पताल आउने गरेका छन् । उक्त पदार्थको सेवनपछि बिरामीले सुनाएको अनुभव र भएको असर हेर्दा त्यसमा ‘डाइसल्फिराम’ मिसाइएको हुन सक्छ । ‘डाइसल्फिराम’ सँग अल्कोहल मिसिदा स्वास्थ्यमा घातक समस्या आउन सक्छ ।
तर, बेच्नेहरुले हर्बल दाबी गरिरहेका छन् । हर्बलमा एलोप्याथी औषधि मिसाउनु अपराध मानिन्छ । यस्तै केसमा डाक्टर जेल गएको उदाहरण भारतमा छन् ।
रक्सी खानेलाई डाइसल्फिराम खुवाउँदा शरीरमा एक प्रकारको विष उत्पादन हुन्छ । यसले बान्ता गराइरहने हुन्छ । ब्लडप्रेसर बढाउने गर्छ । यस्तो भएपछि तुरुन्तै स्वास्थ्य संस्था पु¥याउन सकिएन भने बिरामीको ज्यान जान सक्छ ।
बिरामीलाई थाहै नदिइ यो खुवाउनुपर्छ भनेर विज्ञापनकर्ताले भन्ने हुनाले झन् गम्भीर समस्या आउन सक्छ । सेवन गराइएको व्यक्ति बिरामी भएपछि सेवन गराउने व्यक्ति अत्तालिन्छ । आफूले गल्ती गरेको महशुस गरेर यथार्थ खोल्दैन । यो झन् डरलाग्दो अवस्था हो । त्यसैले यसबारे यथार्थ बुझेर यस्ता औषधिको प्रयोग बन्द गराउनुपर्छ ।
साभार : स्वास्थ्य खबरपत्रिका