नवलपरासीमा रक्तदान अभियानलाई नयाँ नेतृत्व: मोहन पौडेलको काँधमा रक्तदाता समाजको जिम्मेवारी


नवलपरासी, १७ गते। रक्तदान जीवनदान भन्ने मूल नारालाई आत्मसात् गर्दै नवलपरासीमा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४४औं जिल्ला शाखा गठन गर्नेक्रममा बर्दघाट सुस्ता पश्चिम जिल्ला शाखाको औपचारिक गठन गरिएको छ ।

आज (शनिवार) उद्योग वाणिज्य संघ, नवलपरासीको सभाकक्षमा आयोजित एक विशेष भेलाले समाजसेवी मोहन पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी नवलपरासी (ब.सु.प.) द्वारा सञ्चालित रक्त सञ्चार सेवाका प्रमुख सुरज के.सी.को सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले संस्थाको देशभर छरिएर रहेका रक्तदाताहरुलाई एकत्रित गरेर रक्तदान जस्तो मानवीय कार्यमा अग्रसर गराउनकालागि शाखा गठन गरेको बताउनुभयो । उहाँले भन्नुभयो “हरेक स्वस्थ यूवाहरुले आफ्नो १८ जन्मोत्सव सँगै रक्तदान जस्तो महानका कार्यमा लाग्न म अनुरोध गर्दछु ।”

भेलाले जिल्लामा स्वयंसेवी रक्तदानको अभियानलाई थप सशक्त र व्यवस्थित बनाउने उद्देश्य लिएर मोहन पौडेलको अध्यक्षतामा शाखा गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रभा ज्ञवाली, सचिवमा पुष्पा थिङ (तामाङ) कोषाध्यक्षमा बालकृष्ण भण्डारी र सदस्यहरुमा दामोदर देवकोटा, सीता कुँवर, डिल्लीराम काफ्ले, प्रकाश खनाल, गुड्डु गुप्ता चयन हुनुभएको छ । त्यस्तै सल्लाहकारहरुमा राजेन्द्र अग्रहरी, श्याम बस्याल, रम्भा कुँवर, सुरज केसी, राजेश गुप्ता, राधेश्याम सिंह सैथवाल, सुशान्त घिमिरे, अर्जुन क्षेत्री, भरत क्षेत्री र वीरेन्द्र यादव चयन हुनुभएको छ ।

नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि कर्माचार्यले संस्थाको लोगो अंकित ब्याज प्रदान गर्दै पदस्थापन गराउनुभएको थियो भने नयाँ समितिलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासी (ब.सु.प.) जिल्ला सभापति राजेन्द्र अग्रहरी, ओमप्रकाश अग्रहरी, पूर्व उपप्रमुख रम्भा कुँवर, मदनभण्डारी फाउन्डेसनका अध्यक्ष श्याम बस्याल लगायत जिल्लाका विभिन्न संघसंस्थाका प्रमुख तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।