आज यःमरि पून्हिँ, सुर्खेतमा पनि नेवार समुदायले परिकार उत्सव गरेर मनाउँदै


फोटोः गुगलबाट

आज नेवार जातिहरुको यःमरी पुन्हिँ  आज मनाँइदै छ । हेमन्त ऋतुको समय एवं नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले यो पर्व मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको परिकार यःमरी बनाएर खाने गरिन्छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा रहेका नेवार समुदायले पनि यःमरि पून्हिँ पर्व मनाउँदै छै । नेवाः देय् दबु सुर्खेतले आज समुदायकालागि ५औं नेवारी परिकार उत्सव गरेर यो पर्व मनाउन लागेको दबुका अध्यक्ष तिला शाक्य श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गरिन्छ । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको  रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइने गरिन्छ । यःमरी खाइने भएकोले यसलाई य: मरि पुन्हिँ  (य: मरि पूर्णिमा) पनि भन्ने गरिन्छ । आजकै दिनलाई काठमाण्डौं उपत्यकाका नेवार भित्र कै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार यःमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष मानिन्छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्हिँ अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेपाल भाषामा य: मरी पुन्हिँ भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर य: मरि पुन्ही मनाउने चलन रहिआएको छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य: मरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । य: मरी पुन्हिँका दिनदेखि दिन लामो हुने र य: मरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश समेत रहेको छ ।

बनाउने तरिका

य: मरि बनाउँदा चामलको पिठोमा तातो पानी हाली मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी औंलाको सहायताले खाल्डो पारिन्छ । अण्डाकारको स्वरूपमा आइसकेपछि पिठोभित्र विशेष प्रकारले बनाएको चाकु र तिलको मिश्रण राखिन्छ । य: मरि मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसरी बनाएको य: मरि बाफले मात्रै पकाइन्छ । चामलको पिठोबाट बनाई बाफले मात्रै पकाईने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ ।

महत्त्व

नेवार संस्कृतिमा य: मरिको विशेष महत्त्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा य: मरि पुन्हीका दिन सबैले य: मरि सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने गरिन्छ । बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म य: मरिको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ । जन्मदिनमा बच्चालाई दुई वर्षमा दुई वटा, चार वर्षमा चार वटा यस्तै प्रकारले य: मरिको माला लगाइदिने चलन छ ।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केहि समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा य: मरि लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर य: मरि खसाल्ने चलन छ । नेवार समाजमा य: मरिको साँस्कृतिक एवं धार्मिक महत्त्व रहेको पाइन्छ ।

लोककथा

नेवारा समुदायमा य: मरि पुन्हीसँग सम्बन्धित एउटा ऐतिहासिक लोककथा प्रचलित छ । पाञ्चाल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापारकर्म गरी बस्दथे । धनधान्य र सम्मृद्धिका देवता कुवेरलाई ती दम्पतिको परोपकार र दानधर्ममा कत्तिको विश्वास रहेछ भन्ने कुरा बुझ्न मन लागेछ र उनी दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परीक्षा लिन गएछन् । घरमा एउटा दिनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा मागेको देखेर सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ र उनले त्यसर भिखारीको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिइछन् र उचित आदर सत्कार र श्रद्धा गरिछन् ।

सुचन्द्रकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलाई आफ्नो सक्कली रूपको दर्शन दिए र ज्ञान प्रदान गरी अन्तर्ध्यान भए । कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको (यःमरी) रोटी बनाएर त्यही रोटीको कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् । अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीं विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । अनि अन्न, धन र योमरी दान गरिन् । यसरी कुबेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुनगई दैनिक आम्दानीमा बढोत्तरी हुनगयो । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास छ ।

यःमरी पुन्हीका दिन विभिन्न मठमन्दिरहरूमा मेला लाग्ने गर्छ । यसदिन बनेपाको धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा बिहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।

श्रोतः विकिपिडिया