रक्तदाता पाण्डेका छोराको जन्मदिनमा कुंबर समुदायलाई सहयोग



गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला समितिका अध्यक्ष धुर्ब पाण्डेले आफ्नो जेठो छोराको जन्मदिनको अवसरमा सामाजिक वहन गर्दै छत्रकोट गाउँपालिका–३ हर्दिनेटा (लक्ष्मी) स्थित कुंबर समुदायका दिनदुःखी तथा विपन्न परिवारलाई खाद्यान्न तथा जाडोका कपडा वितरण गर्नुभएको छ । पाण्डेले आफ्ना छोरा हिमाल पाण्डेको १४औं  जन्मदिनको अवसरमा तडकभडक र भोजभतेरभन्दा पनि समाजसेवामा रूपान्तरण गर्ने उद्देश्यले उक्त समुदायलाई न्यानो सिरक, डसना तथा खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।

सहयोग सामग्रीमा चामल, दाल, चिनी, बिस्कुट, चाउचाउ र साबुनलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू समावेश रहेको थियो । आर्थिक रूपमा कमजोर तथा समस्यामा परेका कुंबर समुदायका परिवारहरूलाई लक्षित गरी गरिएको उक्त सहयोगले उनीहरूको दैनिकीमा केही राहत मिल्ने विश्वास लिइएको छ । अध्यक्ष पाण्डेले व्यक्तिगत खुशीलाई समाजसँग बाँड्दा नै त्यसको वास्तविक अर्थ हुने बताउँदै यस्ता कार्यले समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना विकास हुने धारणा व्यक्त गर्नुभयो ।

सामाजिक सेवामा निरन्तर क्रियाशील रहँदै आउनुभएका अध्यक्ष पाण्डे रक्तदान अभियान, स्वास्थ्य सचेतना तथा विपन्न वर्गको सहयोगमा सक्रिय रहँदै आउनुभएको छ । उहाँको यस कार्यको स्थानीयवासी तथा समाजसेवीहरूले खुलेर प्रशंसा गरेका छन् । उक्त सहयोग कार्यक्रमले जन्मदिन, विवाह, चाडपर्व जस्ता व्यक्तिगत अवसरहरूलाई समाजसेवामा रूपान्तरण गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले अन्य व्यक्तिहरूलाई पनि सामाजिक कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष पाण्डेले व्यक्तिगत खुशीलाई समाजसँग बाँड्दा नै त्यसको वास्तविक अर्थ हुने बताउँदै यस्ता कार्यले समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना विकास हुने धारणा व्यक्त गर्नुभयो ।