गुल्मीमा निःशुल्क रक्त समूह पहिचान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न


नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीको पहलमा खानीगाउँ स्थित शिद्धवावा माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क रक्त समूह पहिचान तथा स्वास्थ्य परीक्षण कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ९० जना विद्यार्थीहरूको रक्त समूह परीक्षण गरिएको थियो । सानै उमेरदेखि आफ्नो रक्त समूहको जानकारी हुनु आकस्मिक अवस्थामा अत्यन्त उपयोगी हुने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति जिम्मेवार सोच विकास गराउने बताउँदै आगामी दिनमा पनि विद्यालय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निराजन थापाले विद्यार्थी र अभिभावक दुवैमा स्वास्थ्य सचेतना विस्तार गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो ।

यस्तै शिक्षण अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर धर्तीले “रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्छ, त्यसैले आफ्नो रक्त समूह थाहा पाउनु जीवनरक्षाका लागि आधारभूत कुरा हो” भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य भेषराज पाण्डे (ध्रुव)ले विद्यार्थी अवस्थादेखि नै रक्त समूह पहिचान गराउनु भविष्यमा रक्त अभाव न्यूनीकरणका लागि महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो । उहाँले स्वेच्छिक रक्तदान मानव जीवन बचाउने पुण्य कार्य भएको बताउँदै जिल्लाभर यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो ।

राना डेन्टलका सञ्चालक तथा संस्थापक सदस्य दिपक रानाले रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले स्वेच्छिक रक्तदानको विकल्प नरहेको बताउनुभयो । साथै शुभलक्ष्मी फर्माका प्रतिनिधिले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको प्राविधिक जिम्मेवारी संस्थापक सदस्य राजु मरासिनी र नेशनल प्याथ ल्याव सेन्टर का टेक्निसियन मनोहर कुर्मीले सम्हाल्नुभएको थियो भने कार्यक्रमलाई सफल बनाउन शुभलक्ष्मी फर्मा, राना डेन्टल, नेशनल प्याथ ल्याव सेन्टर तथा नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्य रहेको थियो ।