नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन: तीन महिनासम्म ‘परीक्षणकाल’, अत्यावश्यक सेवालाई मात्र प्रवेश


काठमाडौँ । लामो पर्खाइपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जाइका (JICA) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा एक विशेष समारोहका बीच सुरुङमार्गको उद्घाटन गर्नुभएको हो ।

तीन फरक सरकारको कार्यकाल पार गर्दै यो ऐतिहासिक आयोजना सञ्चालनको बिन्दुसम्म आइपुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा मुख्य सुरुङको ‘ब्रेकथ्रु’ भएको यो सुरुङमार्ग, वर्तमान बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका पालामा औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

सुरुङमार्ग उद्घाटन भए पनि यो सर्वसाधारण वा सबै प्रकारका सवारीसाधनका लागि तुरुन्तै खुला हुने छैन । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुवाती चरणमा: एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी र अन्य अत्यावश्यक सेवाका गाडीलाई मात्र चल्न अनुमति दिइनेछ ।

करिब तीन महिनासम्म ‘परीक्षणकाल’ (Trial Opening Period) को रूपमा सुरुङ सञ्चालन गरिनेछ । यस अवधिमा सुरक्षा प्रणाली र ट्राफिक व्यवस्थापनको सूक्ष्म मूल्यांकन गरेपछि मात्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ । परिक्षण अवधिभर सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनसँग कुनै पनि किसिमको शुल्क लिइने छैन ।

परीक्षणकाल सकिएपछि भने मन्त्रिपरिषद्ले तोकेको ६० देखि ६०० रुपैयाँसम्मको मापदण्डअनुसार सवारीको वर्ग र काठमाडौँ प्रवेश वा बाहिरिने दिशा (आउजाउ) हेरी शुल्क निर्धारण गरिएको छ ।

सवारी साधनको प्रकार काठमाडौँ प्रवेश गर्दा (शुल्क) काठमाडौँबाट बाहिरिँदा (शुल्क)
कार र भ्यान रु. ६५ रु. ६०
मिनीबस, ट्रक र टिपर रु. ११५ रु. ८०
बस तथा ठूला ट्रक रु. २६० रु. २००

यी सवारी र पैदलयात्रीलाई पूर्ण प्रतिबन्धः 

सुरुङभित्रको सुरक्षा र आधुनिक मापदण्डलाई ध्यानमा राख्दै केही सवारी तथा सर्वसाधारणका लागि भने प्रवेशमा पूर्ण रोक लगाइएको छ । दुईपाङ्ग्रे (मोटरसाइकल, स्कुटर), तीनपाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई सुरुङमार्ग प्रयोग गर्न दिइने छैन । त्यस्तै डिजेल, पेट्रोल, ग्यास जस्ता प्रज्ज्वलनशील पदार्थ तथा अन्य विस्फोटक/खतरनाक सामग्री बोकेका सवारीसाधनलाई सुरुङभित्र प्रवेश पूर्ण रूपमा वर्जित गरिएको छ ।

नागढुङ्गाको सास्तीदायी उकालो र ट्राफिक जामबाट मुक्ति दिलाउने यो सुरुङमार्ग नियमित सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको आवागमन अझ द्रुत र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।