
पवन जायसवाल
नेपालगन्ज (बाँके) । बाँकेको कोहलपुरमा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापनका लागि रक्तदान गरिएको छ ।
सञ्चारिका समूह नेपाल बाँकेको आयोजनामा कोहलपुरमा रक्तदान कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, स्वयंसेवी रक्तदाता महलिा पुरुक्ष गरी ३५ जनाले रक्तदान गरेका छन् ।
सञ्चारिका समूह नेपाल बाँकेकी अध्यक्ष पवित्रा परियारको अध्यक्षतामा, रेडक्रस सोसाइटी कोहलपुर उप–शाखा र रक्तसञ्चार केन्द्र कोहलपुरको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
भाद्र १० गते आएको बाढीबाट घाइते तथा प्रभावित नागरिकको उपचारमा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सञ्चारिका समूह नेपाल बाँकेकी उपाध्यक्ष सरला सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका प्रहरी निरीक्षक धर्मेन्द्र रोकाया, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओली, निशान्त प्रसाद शाह, प्रहलाद हुमागाई, सदस्य स्मृति देवकोटा, टिकाराम न्यौपाने, खेमराज शर्मा, सदस्य प्रमिला बिक, सदस्य, कल्पना शाही, सूर्य ढकाल, सदस्य लक्ष्मी कुमारी तिमिल्सेना, राजेश आचार्य, केशव बहादुर बम, धिरज बम, देब बहादुर मल्ल, शुभाकर बिश्वकर्मा, भूम भण्डारी, कमल चौधरी, राजु क्षेत्री, मुकेश चौधरी, रबि रोकाया, दिल प्रकाश गौतम, समाजसेवी नारायणी ओली, दिपक शाही, सचिन सुनार, पत्रकार अन्जू चौधरी, तिलक शाही, बीरेन्द्र बम, समाजसेवी निशा नेपाल, कबि शुढाक्षेत्री, प्रशान्त बुढाक्षेत्री, राजु थारु, निराजन भट्ट र दिल बहादुर राना लगायतले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतरा, सन्दिप आचार्य र निर्मला थारुले प्राबिधिकमा सहयोग गर्नुभएको थियो ।

त्यस्तै रक्तदान पछि ‘विपद्को समयमा सञ्चारकर्मीको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले विपद्का बेला सञ्चार माध्यमले समाचार सम्प्रेषण मात्र नभई उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने सही र विश्वसनीय सूचना नागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले विपद्को समयमा सञ्चारकर्मीको पहिलो प्राथमिकता सही सूचना प्रवाह हुनुपर्ने बताउनुभयो । गलत सूचना तथा अफवाहले थप समस्या सिर्जना गर्न सक्ने भएकाले पत्रकारहरू तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषणमा जानुपर्ने उहाँको भनाइ थियो ।
विपद् प्रभावित क्षेत्रका स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, रेडक्रस लगायत सरोकारवाला निकायसँग सञ्चारकर्मीले प्रभावकारी समन्वय गर्नुपर्ने उहाँको भनाई थियो । समयमै सही सूचना प्रवाह गर्न सके त्यसले मानवीय जीवन जोगाउन समेत महत्वपूर्ण भूमिका खेल्ने उहाको धारणा थियो ।
कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माले विपद्को समयमा सञ्चारकर्मी प्रति नागरिकको विश्वास अझ बढी हुने भएकाले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।
रसुवा बाढीका कारण कोहलपुरसमेत प्रभावित भएको उल्लेख गर्दै उहाँले नगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा सहयोग गर्नुका साथै बाढीमा ज्यान गुमाएका कोहलपुरका नागरिकका परिवारलाई समेत सहयोग गरी रहेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले विपद् कोषका लागि रकम जम्मा गरिएको जानकारी दिँदै पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत भूमिकासँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष डिलप्रसाद गौतमले सञ्चार माध्यमलाई पूर्वसूचना प्रणालीसँग जोड्नुपर्ने बताउनुभयो । जोखिम पहिचान, पूर्वतयारी तथा सम्भावित विपदबारे नागरिकलाई समयमै जानकारी गराउन सञ्चारमाध्यम प्रभावकारी माध्यम बन्न सक्ने उहाँको भनाइ थियो ।
सञ्चारिका समूह बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले विपद्को समयमा सञ्चारकर्मीको भूमिका झनै महत्वपूर्ण हुने बताउनुभयो । प्रभावित नागरिकका समस्या राज्य र सम्बन्धित निकायसम्म पु¥याउने तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा निरन्तर खबरदारी गर्ने जिम्मेवारी सञ्चारकर्मीको रहेको उहाँले बताउनुभयो ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले विपद्को रिपोर्टिङमा जानुअघि सञ्चारकर्मी स्वयं सुरक्षित हुनुपर्ने बताउनुभयो । सुरक्षित भएर पेशागत जिम्मेवारी पूरा गर्दै राज्य तथा सम्बन्धित निकायका सकारात्मक कामलाई जनतासम्म पु¥याउने र कमजोरी देखिएमा खबरदारी गर्ने भूमिका सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय वर्माले विपद् सम्बन्धी समाचारमा विषयको संवेदनशीलतालाई ध्यान दिनुपर्ने बताउनुभयो । तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिता मार्फत प्रभावित नागरिकलाई थप पीडा नहुने गरी सूचना सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो ।
राष्ट्रिय युवा संघका पूर्वकेन्द्रीय सचिव खेमराज शर्माले सञ्चारिका समूहको रक्तदान कार्यक्रमलाई सराहनीय मानवीय पहलका रूपमा लिनुपर्ने बताउनुभयो । विपद्का बेला पीडित परिवारको उद्धार, राहत र व्यवस्थापनका सवालमा सञ्चारकर्मीले निरन्तर खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।
अन्तरक्रियामा सञ्चारकर्मी पुष्पराज हमाल, कपिल अञ्जान, शुभाकर विश्वकर्मा र रवि रोकाय लगायतले विपद्का समयमा सूचना सम्प्रेषण, पूर्वसूचना प्रणाली तथा प्रभावित नागरिकका सवालमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, नियमित रक्तदाता संघका संयोजक बलबहादुर खड्का, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओली, महिला नेतृ नारायणी वली, समाजसेवी भुम भण्डारी, सञ्चारकर्मी राजेश आचार्य, स्मृति देवकोटा जिल्ला ट्राफिक कार्यालयका धर्मेन्द्र रोकाय लगायतको उपस्थिति रहेको थियो ।
सञ्चारिका समूह बाँकेले रक्तदानमार्फत रसुवा बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पु¥याउनुका साथै विपद्को समयमा सञ्चारकर्मीको मानवीय तथा सामाजिक जिम्मेवारीबारे छलफल गर्ने वातावरणसमेत तयार गरेको जनाएको छ ।



Prawash Kumar Shakya । १९ भाद्र २०८३, शुक्रबार १९:४३ बजे