‘सहमतीय सरकारको नेतृत्वमा खुला’


माओवादी केन्द्रले संविधानको कार्यान्वयन लगायतका बांकी महत्वपूर्ण राजनीतिक कार्यभार पूरा गर्न भन्दै जुनसुकै दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन खुला रहने निर्णय गरेको छ।

सत्ता सहयात्री एमालेसंग भएको भनिएको भद्र सहमति अनुसार आफूले सत्ताको बागडोर पाउनुपर्ने दावी केही समयअघिसम्म पनि गर्दै आएको उक्त पार्टीले आफ्नो अडानमा केही परिवर्तनको संकेत गर्दै पछिल्लो निर्णय गरेको हो।

तर राष्ट्रिय सरकार गठन नभए यही सत्तारुढ गठवन्धनलाई निरन्तरता दिने वा अर्को बहुमतीय विकल्प खोज्ने भन्ने विषयमा माओवादी केन्द्र अहिले नै खुलिसकेको देखिंदैन।

लचिलो?

वर्तमान सरकारको विकल्पको खोजी भइरहेको भन्ने खबरले राजनीतिक बजार तातिएका बेला माओवादी केन्द्रको पोलिटब्युरो बैठकले राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने निर्णय बिहीबार लिएको छ।

उक्त दलकी प्रवक्ता पम्फा भुसालले भनिन्, “जुनसुकै दलको नेतृत्वमा भएपनि सहमतीय राजनीति र सरकार अहिलेको आवश्यकता रहेको निचोडमा हामी पुगेका छौं”।

के त्यसको अर्थ विगतमा एमालेसंग भएको भनिएको भद्र सहमति अनुसार माओवादी केन्द्रले नेतृत्वको दावी त्यागेको हो?

जवाफमा सोही दलका अर्का नेता वर्षमान पुनले भने, “शान्ति प्रक्रियाका बांकी काम पुरा गर्न र तराईको समस्या समाधानका लागि कांग्रेस र आन्दोलनकारी पक्षलाई पनि सहमतिमा नल्याइ सम्भव छैन। अहिलेकै गठवन्धनको निरन्तरताले समस्या समाधान हुंदैन”।

संकेत

कांग्रेस र एमाले एकअर्काको नेतृत्वमा सरकारमा सामेल नहुने मनस्थितिमा देखिएका बेला माओवादी केन्द्रले लिएको पछिल्लो निर्णय प्रधानमन्त्रीको कुर्सीमा आफूलाई आसीन गराउने उक्त दलका अध्यक्ष प्रचण्डको रणनीतिको रुपमा धेरैले हेरेका छन्।

त्यही दिशातर्फ इंगित गर्दै माओवादी नेताहरुले पनि राष्ट्रिय सहमतिको प्रयास विफल भए वर्तमान सरकारको विकल्प खोज्न सकिने संकेत गरे।

प्रवक्ता भुसालले भनिन्, “सहमति भएन भने मत मिल्ने दलहरुसंग सहकार्य हुन्छ”।

तर सरकारको विकल्पको खोजी भइरहेको आभास पाएको जस्तो देखिएका प्रधानमन्त्री केपी ओलीले भने यो गठवन्धन टुट्ने नभइ अझ विस्तार हुने सार्वजनिक टिप्पणी गरेका छन्।

तथापि उनको त्यो आत्मविश्वासको भविष्य सत्ताको सांचो बोकेर बसेका माओवादी केन्द्रका प्रचण्डले कस्तो कदम चाल्छन्, त्यसमै निर्भर रहनेछ।

साभारः विविसी