धरहरा पुरानै स्वरुपमा स्वदेशी पुँजीमा बन्ने



४ फागुन, काठमाडौं । भूकम्पले भत्किएको ऐतिहासिक धरहराको पुनर्निर्माण सरकारले स्वदेशी पूँजीमा बनाउने भएको छ । धरहराको पुनर्निर्माणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक महिनाको तलब दिने घोषणासमेत गरेका छन् ।
ऐतिहासिक धरोहर पुनर्निर्माण राष्ट्रिय संकल्प गर्न मंगलबार सुन्धारामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताकै लागतमा अग्लो, अत्याधुनिक र फराकिलो धरहरा बनाउने घोषणा गरे ।
जमिन मुनि तीन तला पार्किङ, स्मारकमा मृतकको नाम
अब बन्ने धरहरा भूकम्प प्रतिरोधी र पहिलेकै स्वरुपमा हुनेछ । धरहरा पुनर्निर्माण गर्दा जमिन मुनि तीन तला पार्किङ हुनेछ । बाहिर स्मारक बनाउने र त्यसमा भूकम्पमा धरहरा भत्किँदा ज्यान गुमाएकाहरुको नामावली राखिनेछ ।
प्रधानमन्त्री ओलीले नेपाली जनताकै लागतमा निर्माण हुने धरहराका लागि रकम संकलनका लागि छुट्टै बैंक खाता खोल्न पुनर्निर्माण प्राधिकरण र पुरातत्व बिभागलाई निर्देशन दिए । आफ्नो एक महिनाको तलब राखेर बैंक खाता खोलिने उनले बताए ।
बैंकमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरु, उद्योगी व्यापारीहरु जसले पनि रकम जम्मा गर्न पाउने छन् । ‘म बनाउँछु धरहरा’ भन्दै सबैले धरहरा पुनर्निर्माणका लागि रकम जम्मा गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।
साभारः अनलाइन खबर