काठमाडौं: भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका क्रममा त्यहाँको राष्ट्रपति भवनमा बसोबासको प्रबन्ध मिलाउने भएको छ ।
‘भारतको नाकाबन्दी र मधेस आन्दोलनपछिको अवस्थामा नेपालसँग सम्बन्ध सुधार्न चाहेको सन्देश दिन ओलीलाई उच्च सम्मान दिन लागेको देखिन्छ’, परराष्ट्र मन्त्रालयका भारत महाशाखा हेर्ने एक उच्च अधिकारीले आइतबार अन्नपूर्णसँग भने ।
ती अधिकारीका अनुसार प्रधानमन्त्रीलगायत भ्रमणमा दलका अन्य केही सदस्यलाई भारतीय राष्ट्रपति भवनमै बसोबासको प्रबन्ध मिलाउन लागिएको छ । यसअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारत भ्रमणका क्रममा राष्ट्रपति भवनमा बसोबासको व्यवस्था मिलाइएको थियो ।
२०६३ मा राजतन्त्र अन्त्य भएयता नेपालका सरकार तथा राष्ट्रप्रमुखलाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको थिएन ।
फागुन ७ गते प्रजातन्त्र दिवस समारोहमा सहभागी भई प्रधानमन्त्री अपराह्न नयाँदिल्ली पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले फागुन ८ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ओलीले त्यहाँका उपराष्ट्रपति हमिद अन्सारी, मन्त्रीहरू र विभिन्न दलका नेताहरूसँग पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा रहने सदस्यको नाम परराष्ट्र र प्रधानमन्त्री कार्यालयले अझै टुंग्याउन सकेका छैनन् । ‘सकेसम्म भ्रमण टोली सानो बनाऊँ भन्ने हाम्रो मन्त्रालयको सुझाव छ’, परराष्ट्रका ती अधिकारीले भने ।
प्रधानमन्त्रीको भ्रमण दलमा ७० जनाभन्दा बढी सदस्य रहने परराष्ट्रका शिष्टाचार महाशाखाका एक उच्चअधिकारीले जानकारी दिए ।‘प्रधानमन्त्रीको भ्रमण दलमा रहने सदस्यहरूको नाम हामीले टुंग्याएका छौं । सोमबार मन्त्रिपरिषद्मा पठाउँछौं’, उनले भने ।
भ्रमण दलमा परराष्ट्रका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, परराष्ट्र सचिव शंकर बैरागी, शिष्टाचार महापाल रमेश खनाल, भारत महाशाखा हेर्ने सहसचिवहरू प्रकाशकुमार सुवेदी र ताराप्रसाद पोख्रेल, उपसचिव भरतकुमार रेग्मीलगायत सातजना सहभागी हुनेछन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला विज्ञ गोपाल खनाल, प्रेस सल्लाहकार प्रमोद दाहाल, विभिन्न दलका सभासद्समेत रहने शिष्टाचार महाशाखाका ती उच्च अधिकारीले जनाए । ऊर्जा, अर्थ, वाणिज्य, आपूर्ति मन्त्रालयका सचिव एवं सहसचिवसमेत भ्रमण टोलीमा रहने भएका छन् । ‘मन्त्रिपरिषद्ले भ्रमण दलमा रहने सदस्यको नाम थपघट गर्न सक्छ’, ती अधिकारीले भने ।
साभारः अन्नपूर्णबाट




Milan Shrestha । ३ फाल्गुन २०७२, सोमबार ०३:५४ बजे