किन रोकियो दरुण दलको निर्वाचन प्रक्रिया?


Tarun-Dalसुर्खेत, भदौ १८ । नेपाली काँग्रेसको युवा संगठन तरुण दलको जिल्ला अधिवेशन बिहीबार सुरु भएपनि निर्वाचन प्रक्रिया भने रोकिएको छ । जिल्ला विकास समितिको हलमा सुरु भएको अधिवेशनमा अध्यक्षका उम्मेद्वारहरु धेरै भएपछि निर्वाचन प्रक्रिया नै अघि बढ्न नसकेको हो । नेपाली काँग्रेस र तरुण दलका नेताहरुले शुक्रबार विवाद मिलाउने कसरत गरे पनि शुक्रबार पनि कुनै टुङ्गो नलाग्दा निर्वाचन प्रक्रियाले गति लिन सकेको छैन । नगर समितिको नेतृत्व चयन गर्नसमेत हम्मेहम्मे परेको तरुण दलको जिल्लाको नेतृत्व चयन गर्नलाई अझ समस्या देखिएको छ । अधिवेशनमा निर्वाचन प्रक्रियामै जान नसक्ने स्थिति आएपछि निर्वाचन प्रक्रिया नै रोकिएको छ ।

खासगरी यसअघि नै नेपाली काँग्रेसका अन्य संगठनहरुमा देखिने पार्टीका आन्तरिक खेमाकै कारण समस्या भएको हो । त्यसमा पनि तरुण दलको जिल्ला अधिवेशनमा अझ फरक देखिएको छ । एउटै प्यानलमा समेत समस्या भएपछि अप्ठ्यारो परेको बताइएको छ ।  अन्य भातृ संगठनमा देउवा र पौडेल समूहबीच प्रतिस्पर्धा हुने भए तापनि तरुण दलमा भने देउवा समूहकै तर्फबाट व्यक्तिहरु आ–आफूले दावी गर्न थालेपछि अप्ठेरो देखिएको छ । अध्यक्षका एक जना उम्मेद्वार नवल गिरीलाई स्पष्टरुपमा पौडेल समूहले टिकट दिएको छ । उनी निर्वाचनमा जान तयार थिए । तर देउवा प्यानलबाट एउटै व्यक्ति अध्यक्षको उम्मेद्वार हुन नसक्दा समस्या देखिएको बुझिएको छ । उक्त प्यानलबाट अध्यक्षमा ललित भट्टराई र हरि बिष्टले दावी गरेका छन् ।

ललित भट्टराईले आफू नै देउवा प्यानलको टिकट पाएको उम्मेद्वार भएको दावी गरेका छन् ।  ‘‘देउवा प्यानलबाट मैले नै हो टिकट पाएको,’ उनले भने, “हिजोदेखि नै विवाद भएपछि निर्वाचन रोकिएको छ, वार्ता समिति छ त्यसले निष्कर्ष निकाल्छ ।’’ भट्टराईले देउवा प्यानलको टिकट आफूले पाएको दावी गरे पनि आधिकारिक अध्यक्षको उम्मेद्वार भने चित्रजङ्ग शाही भएको बताइएको छ । देउवा प्यानलबाट भट्टराईले सचिवका लागि टिकट पाएको तर अध्यक्षका लागि टिकट नपाएको अध्यक्षका अर्का उम्मेद्वार हरि बिष्टले बताए । बिष्टले आफूलाई देउवा प्यानलको सबैको समर्थन रहेको बताएका छन् । आफूलाई देउवा प्यानलको दावी गरेका भट्टराईलाई पार्टी जिल्ला सचिव टोपबहादुर रावतको मात्रै समर्थन रहेको बिष्टको आरोप छ । बिष्टले आफूलाई यज्ञ बि.सी.का साथै देउवा प्यानलका नेताहरुको समर्थन रहेको दावी गरे । “ललित भट्टराईलाई देउवा प्यानलले अध्यक्षको टिकट दिएको छैन, सचिवका लागि दिएको हो, अध्यक्षमा चित्रजंग शाहीलाई हो, उहाँ भएपछि मैले छोड्छु, म भएपछि उहाँले छोड्नुहुन्छ, मलाई समर्थन नै समर्थन छ ।”

बिष्टले अधिवेशनको उद्घाटन समारोह नै नगरी निर्वाचन प्रक्रिया सुरु गर्नु अलोकतान्त्रिक भएकोले आफूले विरोध गरेकोसमेत बताएका छन् । अन्य पक्षले भने बिष्टले निर्वाचन प्रक्रिया हुन नदिएको बताएका छन् ।

यता, नवल गिरीले भने निर्वाचन हुने संकेत नभएको बताएका छन् । आफूहरु प्रजातान्त्रिक पद्धतिलाई स्वीकार गर्न तयार भएपनि केही साथीहरुले आफैलाई अध्यक्ष बनाउनुपर्छ भन्ने अडान लिएका कारण निर्वाचन हुन नसकेको बताएका छन् । उनले वार्ता समिति गठन भएकोले उक्त समितिको निर्णय नै मान्य हुने बताए ।

“अब निर्वाचन नहुन सक्छ,” उनले भने, “वार्ता समितिले कसरी मिलाउँछ, त्यो नै अन्तिम निर्णय हुन्छ ।” वार्ता समितिमा तीन जना उम्मेद्वारहरु बिष्टको तर्फबाट विवेक आचार्य, भट्टराईको तर्फबाट टोपबहादुर रावत र गिरीको तर्फबाट नारायण कोइराला रहेका छन् । त्यस्तै, तरुण दलका नेताहरु डण्ड ढकाल, निरञ्जन केसी, वेदु गिरी, बालदीप कँडेलले पनि सहजीकरण गर्ने बताइएको छ ।

देउवा प्यानलमा विवाद देखिएपछि सुर्खेतबाट निर्वाचित तीन जना सांसदकै तीन जना उम्मेद्वार भएको बताउने गरिएको छ । देउवा प्यानलका नेता पूर्णबहादुर खड्काको उम्मेद्वारका रुपमा ललित भट्टराईले दावी गरिरहेका छन् भने नवल गिरी पौडेल पक्षका नेता हृदयराम थानी र बिष्ट सांसद तप्तबहादुर बिष्टको उम्मेद्वार भएको बताइएको छ । तर अध्यक्षका उम्मेद्वार बिष्टले भने आफू देउवा प्यानलको उम्मेद्वार भएको र आफूलाई सांसदभन्दा पनि प्यानलकै समर्थन रहेको बताएका छन् ।

साभारः नयाँनेपाल दैनिक अनलाइन