
२१ भदौ, काठमाडौं । मलेसियामा नेपाली सेक्युरिटी गार्डको एकाधिकार अन्त्य हुने भएको छ । मलेसियाले मंगलबार नेपालबाहेक अन्य दुई देशबाट पनि सेक्यूरिटी गार्ड लिने घोषणा गरेको छ ।
मलेसियाले अहिले नेपालबाट मात्रै सेक्युरिटी गार्ड लिँदै आइरहेको छ । नेपालीहरु सुरक्षामा अब्बल भएको भन्दै नेपालबाहेकका देशबाट मलेसियाले सुरक्षा गार्ड लिन बन्द गरेको थियो ।
तर, मंगलबार त्यहाँका गृहमन्त्री शेर अहमद जाहिद हमिदीले राष्ट्रिय सुरक्षा उद्योगको बोर्ड बैठकमा अन्य देशबाट पनि सुरक्षा गार्ड ल्याउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजाने बताएका छन् ।
उनले थप दुई देशबाट सेक्युरिटी गार्ड ल्याउने बताए पनि कुन-कुन देशबाट ल्याउने भन्ने खुलाएनन् । तर, यसको घोषणा चाँडै हुने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री समेत रहेका हमिदीले नेपालमा पूर्वप्रहरी र सैनिकको अभाव रहेको भन्दै अन्य देशबाट सेक्युरिटी गार्ड ल्याउनुको विकल्प नभएको बताएका छन् ।
थप सेक्युरिटी गार्ड ल्याउने देशहरुका लागि मापदण्ड बनाउने तयारी भइरहेको मलेसियन सरकारले बताएको छ ।
विदेशबाट थप सेक्युरिटी गार्ड ल्याउँदा स्वदेशी कामदारको जागिर खोसिने अवस्था आउन नदिने गृहमन्त्री हमिदीले बताएको मलेसियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।



Milan Shrestha । २१ भाद्र २०७३, मंगलवार १२:१९ बजे