वि श्वमा पहिलोपटक देखाइएको सिनेमा अन द ट्रेन अराइभल इन स्टेसन कुनै भाषाको नभए पनि यसलाई प्रान्सेली दाजुभाइले बनाएका थिए । यो सिनेमा सन् १८९५ को डिसेम्बर महिनाको २८ तारिखका दिन प्रदर्शन हुँदा एसियाका धेरै मुलुक सहभागी भएका थिए । यसको ठीक एक वर्षपछि नेपालको छिमेकी मुलुक भारतको मुम्बईस्थित होटल वाट्सनमा प्रदर्शन हुँदा केही नेपाली उद्योगपति पनि सो सिनेमाको प्रदर्शनमा सहभागी भएको प्रमाण पाइन्छ । तर त्यसको लगत्तै भारतमा सिनेमा बने पनि नेपालमा बन्न सकेको थिएन । सन् १९१३ मा भारतको मुम्बईमा बनेको पहिलो सिनेमा राजा हरिश्चन्द्रको प्रभावमा कोलकाता निवासी दिव्येन्द्रविक्रम परियारले सत्य हरिश्चन्द्र सन् १९५७ मा बनाए । हालसम्म पाइएको पुष्ट अपुष्ट प्रमाणका आधारमा सत्य हरिश्चन्द्र नै पहिलो नेपाली सिनेमा मानिन्छ । केही भारतीय नेपाली र केही भारतमा संघर्षरत नेपाली सहभागी भएको सो सिनेमाको स्थिर चित्रबाहेक प्रमाणका रूपमा अन्य केही भेटिएको उदाहरण छैन । पञ्चायतकालमा शाही नेपाली चलचित्र संस्थानका महाप्रबन्धक हुँदा सो सिनेमाको रिल चालीस हजार रुपियाँमा किनेको चलचित्रकर्मी यादव खरेलले दाबी गरे पनि त्यसको निसानी अब केही बाँकी छैन ।
सत्य हरिश्चन्द्र बन्दा तत्कालीन राजा त्रिभुवन भारत प्रवासमा रहेको हुनाले प्रमुख अतिथिका रूपमा उनले शुभ मुहूर्त गरेको उल्लेख गरेको पाइन्छ र उनले सम्मानपूर्वक नेपाली जातिको एडेप्टेबिलिटीप्रति गर्व गरेको कुरा स्व. दिव्येन्द्रविक्रम परियार सम्झmना गर्दथे । सत्य हरिश्चन्द्रको प्रदर्शनका बेला नेपालीको सहभागिता शून्य बराबर भए पनि यस सिनेमाको प्रदर्शनपछि नेपाल र नेपालीका निम्ति आफ्नै भाषाका बारेमा सिनेमा बन्नुपर्ने आवश्यकता महसुस हुन्छ । तर पनि यस सिनेमाको प्रदर्शनपछि आशातीत सफलता नदेखिएकाले निजी क्षेत्रबाट कुनै किसिमको उत्साह देखिएन । सत्य हरिश्चन्द्र प्रदर्शनको दश वर्षपछि नेपालभित्रैबाट सरकारी लगानीमा आमा नामक सिनेमा बन्ने घोषणा भएकै समय निजी क्षेत्रबाट सुमनान्जली फिल्म्स्को ब्यानरमा माइतीघर नामक सिनेमाको निर्माण्ँको घोषणा भयो । यी दुवै सिनेमाका निर्देशक नेपाली मूलका भारतीय भए पनि दुवै जना सिनेमा निर्माणका ज्ञाता थिए । आमा सिनेमामा सम्पूर्ण कलाकार नेपालभित्रैबाट लिइएका थिए भने माइतीघरमा नायक नेपाली भए पनि नायिकामा भारतीय अभिनेत्री माला सिन्हा, चरित्र अभिनेता सुनील दत्त, राजेन्द्र नाथ आदि समाहित थिए । दुवै सिनेमामा प्राविधिक पक्ष भारतीय प्राविधिकले सम्हालेका थिए भने माइतीघरमा संगीतकारदेखि गायनमा समेत भारतीय कलाकारको सहभागिता थियो । आमा सिनेमाका निम्ति नातिकाजी र शिवशंकरले संगीत दिएका थिए भने शिवशंकरका साथमा पुष्प नेपाली र तारादेवीले पाश्र्व स्वर दिएका थिए ।

माइतीघरका निम्ति तीन जना संगीतकार चयनमा भए पनि जयदेव एक्लै यसमा व्यावसायिक रूपले असफल भए पनि म भारतका चर्चित गायक गायिका मन्ना डे, लता मंगेशकर, आशा भोसले, गीता दत्त आदिले स्वर दिएका थिए । यस चलचित्रका निम्ति प्रेमध्वज प्रधान, नारायण गोपाल र अरूणा लामा चयन भए पनि नारायण गोपालले मुम्बई गएर गीत गाउन सकेनन् । आमा भारतको सर्वाधिक चर्चित सिनेमा मदर इन्डियाबाट प्रभावित थियो भने माइतीघर बङ्गाली सिनेमा ममताबाट प्रभावित मानिन्थ्यो । दुवै सिनेमा जे अर्थमा बनिएको भए पनि यसले नेपाली जनस्थानमा एक किसिमको प्रभाव पार्यो । निर्माणको हिसाबले निजी क्षेत्रको पहिलो मानिएको माइतीघरको प्रदर्शनमा ढिलाइ भएपछि निर्मातामा निराशा देखियो भने यसका निर्देशक बीएस थापा लामो समय नेपालबाट पलायन भए । तर आमाको प्रदर्शनपछि यसका निर्देशक हीरासिंह खत्री नेपालमै बसेर अन्य सिनेमा बनाउन थाले । उनले क्रमशः हिजो आज भोलि बनाए । बीसको दशकमा बनेको परिवर्तन साहित्यिक कृतिमा आधारित पहिलो नेपाली सिनेमा मानिन्छ । जनार्दन समको नाटक चेतनामा आधारित यस सिनेमामा गायकका रूपमा नारायण गोपालले प्रवेश गरे भने गीतकारका रूपमा चेतन कार्कीले प्रविष्टि पाए । चलचित्रमा संवाद लेखकका रूपमा चेतन कार्कीले यसै समय प्रवेश गरे । यसै सिनेमाबाट अभिनेता नीर शाह, सल्यान केसीले प्रवेश गरे । निर्देशनका दृष्टिकोणले हीरासिंह खत्रीको परिवर्तन अन्तिम चलचित्र भए पनि उनले नेपाली चलचित्र जगत्का निम्ति राम्रा निर्देशक चेतन कार्कीलाई जन्माएर गए ।
तीसको दशकः प्रवेशको युग तीसको दशक नेपाली चलचित्रका निम्ति एक आकर्षक समय मान्न सकिन्छ । यसै दशकमा नेपाली चलचित्रको विकासका निम्ति शाही नेपाल चलचित्र संस्थानको स्थापना भयो । यस संस्थानले राजाका कथानक चलचित्रका रूपमा पहिलो सिनेमा मनको बाँध बनायो । मनको बाँध भारतमा भर्खरै बनेको बीआर चोपडाको नयाँ दौरबाट प्रभावित थियो । तर यसले व्यावसायिकतको पुट दिन सफल भएको भान हुन्छ । २०३२ मा प्रदर्शित यस सिनेमाका निर्देशक प्रकाश थापा, जो भारतमा संघर्षरत कलाकार थिए, उनले प्राविधिक ज्ञान नभए पनि नेपाली छायांकार वैकुण्ठ मास्केको सहयोगमा सफलतापूर्वक परिणाम दिए ।
आमापछि नातिकाजी–शिवशंकरले यसमा छापलाग्दो संगीत भरे । यसै चलचित्रमा पाश्र्व गायनमा तारादेवी, नारायण गोपाल गुरुवाचार्य, बच्चु कैलाश, मीरा राणा देखा परे । गीतकारका रूपमा पहिलोपटक माधव घिमिरे चलचित्रमा देखा परे भने माइतीघरपछि किरण खरेलले यसमा चमत्कार देखाए । तर पनि प्रदीप रिमालको कस्तूरी है बास आउँछ भन्छन् र माधव घिमिरेको फूलको थुँगा बगेर गयो गीतले चलचित्रको ज्यानलाई बचायो । यसै चलचित्रबाट सल्यान केसी, सुषमा शाही, मीना सिंह, आनन्द थापा, हरिप्रसाद रिमालजस्ता कलाकारले ठूलो सम्भावना दिए । तर चलचित्र लेखकका रूपमा आएका श्रीधर खनालको यो पहिलो र अन्तिम चलचित्र सावित भयो भने क्यामेराम्यान वैकुण्ठ मास्केको पनि यो अन्तिम चलचित्र नै सावित भयो । तर छायांकार मास्केले दुई असल सहायक मुरारि ठाकुर र मञ्जुकुमार श्रेष्ठलाई उज्ज्वल भविष्य दिए ।
शाही नेपाल चलचित्र संस्थानबाट दोस्रो व्यावसायिक सिनेमा कुमारी बन्यो । नेपाली भाषामा बनेको पहिलो रंगीन चलचित्र कुमारी विजय मल्लद्वारा लिखित उपन्यास कुमारी शोभामा आधारित थियो । फिल्म निर्देशनमा मस्कोबाट अध्ययन गरेर आएका प्रेमबहादुर बस्नेतले निर्देशन गरेको यस चलचित्रमा नायिकाका रूपमा चैत्यदेवी सिंहले प्रवेश पाइन् भने यो नै उनको अन्तिम चलचित्र हुन पुग्यो । उनी त्यसपछि फेरि चलचित्रमा देखिइनन् । नायकका रूपमा आएका सल्यान केसीको पनि यो अन्तिम सिनेमा बन्न पुग्यो । तर खलनायक गौतमरत्न तुलाधर, हास्य कलाकार आनन्द थापा, नयाँ कलाकार लक्ष्मी श्रेष्ठले राम्रो प्रभाव पारे । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सहाभागिता जनाएको यस चलचित्रमा संगीतकारका रूपमा शिवशंकर र चन्द्रराज शर्माले संयुक्ति दिए भने गायनमा प्रतिभाशाली गायक माणिकरत्न स्थापितले ख्याति कमाए । व्यावसायिक सोचको न्यूनतम अपेक्षा राखिएको यस सिनेमाबाट निर्देशक प्रेमबहादुर बस्न्यातले पनि निर्देशनबाट बिदा लिए । तीसको दशकमा भारतबाट प्रवासी नेपालीको तर्फबाट दार्जीलिङमा प्रताप सुब्बाले परालको आगो बनाए । कथाकार गुरूप्रसाद मैनालीको कथामा निष्कपट रूपमा न्याय गरिएको यस चलचित्रले नेपाली सिनेमाको मुहारलाई बदल्ने कोसिस गर्यो । रंगमञ्चको प्रशस्त अनुभव बोकेका परिष्कृत कलाकार टंक शर्मा, वसुन्धरा भुसाल, विश्वमणि हिङमाङ, मेनुका प्रधान, आईके प्रधान आदिलाई समाविष्ट गरेर बनाइएको परालको आगो धेरै किसिमले नेपाली सिनेजगतमा एक अब्बल दर्जाको सिनेमा मान्न सकिन्छ । पहिलोपटक नेपाली चलचित्रमा महिला संगीतकारका रूपमा शान्ति ठटालले उत्कृष्ट संगीत संरचना गरिन् भने निर्देशकका रूपमा प्रताप सुब्बाले कोसेढंगा बनाएका छन् । यस चलचित्रको निर्माणपछि प्रताप सुब्बाले प्रवासको बजारलाई खोलिदिए ।
तीस दशकको मध्यतिर निर्देशक प्रकाश थापा दौलतविक्रम विष्टको कथामा सिन्दुर चलचित्र लिएर देखा परे । उनले नयाँ नायक विश्व बस्नेत, नयाँ नायिका मीनाक्षी आनन्दलाई पर्दामा सशक्त रूपमा प्रस्तुत गरे भने यही चलचित्रमार्फत दार्जीलिङबाट नेपाल आई बसेका गोपाल योञ्जनलाई नातिकाजीसित संयुक्त रूपमा संगीतकारको जोडीमा प्रस्तुत गरे । दुवैले संगीतमा सफलरूपमा आफ्ना पहिचान दिए । यसै चलचित्रबाट नवगायक उदितनारायाण झmा, नवगायिका सुषमा श्रेष्ठ पर्दामा आए भने नारायाण गोपाल र तारादेवी मनको बाँधपछि फेरि जमे । व्यावसायिक रूपमा अत्यन्त सफल मानिएको पहिलो नेपाली चलचित्र सिन्दुरले काठमाडौंको हलमा बाउन्न हप्ता चलेर अभिलेख कायम गर्यो । यस चलचित्रबाट मञ्जुकुमार र मुरारि ठाकुर छायाकारका रूपमा स्थापित भए भने अभिनेता नीर शाह, सुवर्ण पोखरेल, सुशीला केसीले आफ्नो पहिचान बनाए । पहिलोपटक पर्दामा देखा परेका हरिहर शर्मालाई सुब्बा साहेबका रूपमा र शान्ति मास्केलाई बोक्सी बूढीको रूपमा अनि गोपालराज मैनाली र वसुन्धरा भुसाललाई चंखे–नक्कलीको जोडीमा सदैव सम्झिने बनाए । यसै चलचित्रबाट अभिनयमा शम्भुजित बास्कोटा, शर्मिला शर्मा, हरिवंश आचार्य, प्रदीप रिमाल, राजन बस्न्यात, शशि पाठक, हिमालय लोहनी आदि देखा परे ।
यस चलचित्रको प्रदर्शनपछि निर्देशक प्रकाश थापा सफल निर्देशकका रूपमा देखा परे भने शाही नेपाल चलचित्र संस्थानले पुनः सक्रियता देखायो । यस चलचित्रको प्रदर्शनसँगै भारतबाट प्रताप सुब्बाको निर्देशनमा बाँच्न चाहनेहरू प्रदर्शन भयो । नवनायक किरण ठकुरी, नायिका पुण्यप्रभा लोहारसहित दार्जीलिङको एक जत्था कलाकारले आफूलाई प्रस्तुत गरेको सो फिल्मले राम्रो बजार लिन सकेन । तीसको दशकको अन्त्यसम्म आइपुग्दा नेपाली सिनेमामा विस्तारै व्यावसायिकता देखा पर्यो । यसै बेला प्रकाश थापाले अर्को व्यावसायिक सिनेमा जीवन रेखा बनाए । नयाँ नायक शिव श्रेष्ठ र परिचित नायिका मीनाक्षी आनन्दको मूल भूमिका रहेको जीवन–रेखामा पहिलोपटक संगीतकार अम्बर गुरुङले संगीत दिए । पाश्र्व संगीतकारका रूपमा यो अम्बर गुरुङको पहिलो र अन्तिम चलचित्र हुन पुग्यो । यसै सिनेमाबाट अर्जुनजंग शाही, हरिबहादुर थापा, बलमासिंह स्वाँर, जयनेन्द्र चन्द ठाकुर पहिलोपटक देखा परे । यसै सिनेमाबाट पर्दामा द्वन्द्व पस्किने परम्परा शुरू भयो ।
व्यावसायिक रूपमा सफल मानिएको यस सिनेमाले नेपाली सिनेमाप्रेमीलाई चलचित्र निर्माणप्रति आकर्षित गर्यो । यसपछि मात्र निजी क्षेत्रबाट सिनेमा बनाउने लहर नेपालभित्र पनि देखा पर्यो । यस क्रममा सुजाता प्रोडक्सनले भारतीय निर्देशक शरद् पालेकरको निर्देशनमा जुनी बनाउने घोषणा गरे । जुनी असफल भए पनि यस चलचित्रबाट भुवन केसी नायकका रूपमा स्थापित हुन पुगे । यसपछि हेम लामाले आदर्श नारी र बीएस थापाले कान्छी बनाए । कान्छीबाट नायिका शर्मिला शाह (मल्ल) नायिकाका रूपमा आइन् भने आदर्श नारीबाट विजय लामा नायकका रूपमा र अंशुमाला शाही नायिकाका रूपमा देखा परे । निर्देशकीय रूपमा आदर्श नारी हेम लामाको पहिलो सिनेमा थियो भने अन्तिम पनि हुन पुग्यो । कान्छी बीएस थापाको पुनरागमन थियो माइतीघरपछि । उनले यसपालि सफलताको झmन्डा गाडे । यस चलचित्रबाट कृष्टि केसी, ऋद्धिचरण श्रेष्ठ, गोपाल भुटानी, गौतम तुलाधर स्थापित भए । कान्छीबाट गायनमा प्रकाश श्रेष्ठ, विमला राई पर्दामा आए भने नारायण गोपाल र अरूणा लामाले स्तम्भ बनाए । पुराना गायक प्रसाद श्रेष्ठ यसै चलचित्रबाट पुनः गायनमा देखा परे ।
गोपाल योञ्जनले यसपछि शाही नेपाल चलचित्र संस्थानको अर्को चलचित्र बदलिँदो आकाशमा संगीत दिए । यसमा शिव श्रेष्ठ, सुषमा शाहीलगायत टीका पहारी, रवीन्द्र खड्का, नीर शाह आदि देखा परे । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट प्रशिक्षित लक्ष्मीनाथ शर्मा निर्देशित यो सिनेमाबाट चलचित्र संस्थानले कुनै सम्भावना दिन सकेन । चलचित्रको तीस दशकको इतिहासमा सरकारी र गैरसकारी लगानीमा बनेका चलचित्रको प्रभुत्व र≈यो भने यसै दशकमा नेपाली चलचित्रमा प्रेम रोमान्स र संगीतप्रधान सिनेमा बने पनि केही चलचित्रमा स्पष्ट रूपमा राजनीतिक सन्देश भएका सिनेमा पनि बने ।
तीसको दशकमा बनेका सिनेमामा कथा र संगीतको महङ्खवका साथै नेपाली प्राविधिकको प्रयोग प्रशस्त भएको पाइन्छ र यस समय बनेका धेरै सिनेमाको छायांकन नेपालको पश्चिमी भेग पोखरा, पाल्पा र स्याङ्जामा बढी भएको पाइन्छ भने केही चलचित्रको छायांकन भारतको मुम्बई र दार्जीलिङमा पनि भएको देखिन्छ । तीसको दशकमा नेपाली सिनेमा संगीतमा नेपाली स्वरमा नारायण गोपाल, तारादेवी, अरूण लामा र प्रेमध्वज प्रधानको स्वर बढी प्रयोग गरिएको छ भने संगीतकारका रूपमा बीस दशकका लोकप्रिय संगीतकार नातिकाजी, अम्बर गुरुङ, शिवशंकरका साथै अम्बर गुरुङकै चेलाका रूपमा परिचित शान्ति ठटाल र गोपाल योञ्जनले कान्छीमार्फत केही कालजयी गीत प्रस्तुत गरे भने चेतन कार्कीको शब्दमा रहेको कान्छी हे कान्छी बोलको गीतले लामो समय दर्शक पंक्तिमा छाप कायम गर्न सफल भयो । अम्बर गुरुङको स्वरमा कहीं आफ्नै भुमरीमा आफैं पर्यो कि जस्ता गीतले अमीट छाप छोड्न सफल भयो भने प्रेमध्वज प्रधानको स्वरमा हाँस्ने रहरहरूले लामो समय ओठमा बसाइँ सर्यो । सरकारी सुविधाका बाबजुद पनि यस समय बनेका सिनेमा ३५ मिलिमिटरको प्रतिस्पर्धायुक्त प्रविधिमा छायांकन हुने गथ्र्यो
साभारः कामना
|
Milan Shrestha । २६ माघ २०७२, मंगलवार १६:०५ बजे