संसद्ले आज संविधान दिवस मनाउँदै


caकाठमाडौँ, असोज २ गते ।  संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको तयारीअनुरूप व्यवस्थापिका संसद्ले आइतबार पहिलो संविधान दिवस मनाउँदैछ ।  संविधान दिवसको मूल कार्यक्रम सोमबार हुनेछ ।  तर, तीन दिनसम्म दिवस विशेष रूपमा मनाउने सरकारको निर्णय अनुसार संसद्ले आइतबार नै दिवस मनाउने तयारी गरेको हो ।

संसद्ले आयोजना गरेको आइतबारको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति रहनेछ ।

उपराष्ट्रपति नन्दबहादुर पुन हाल असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन भेनेजुयला जानुभएकाले संसद्ले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुनेछैन भने सरकारले आयोजना गर्ने असोज ३ गतेको विशेष समारोहमा सभामुख ओनसरी घर्तीको उपस्थिति हुनेछैन ।  असोज २ गतेको कार्यक्रम सम्पन्न गरेर सभामुख ओनसरी घर्ती सोही दिन नै उत्तरको छिमेकी चीन प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री भारत भ्रमण सकेर आउन ढिला हुने भएका कारण संसद्ले विशेष समारोह अपराह्न ४ बजे तय गरेको हो ।  प्रधानमन्त्री प्रचण्ड भने सोमबार बिहान ८ बजे सैनिक मञ्चमा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागी हुनुहुनेछ र साँझ न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।

साभारः गोरखापत्र अनलाइन