३ दिने सुशासन सम्बन्धी तालिम शुरु


14407551_1054771127951590_1004292756_n (1)मिलन श्रेष्ठ

सुर्खेत, ४ असोज । सहकारी संस्थामा आवद्ध सदस्यहरुका लागि सुशासन सम्बन्धी तीन दिने तालिम बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । यूएसएआयडीको सहयोग तथा कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम(पहल) परियोजनाको व्यवस्थापन र सुन्दर नेपाल संस्थाको सहजीकरणमा उक्त तालिम सुरु भएको हो ।

पहल परियोजना अन्तर्गत सुर्खेतका १० वटा गाविसमा स्थापना भएका सहकारी संस्थाका पदाधिकारीहरुलाई संस्थालाई पारदर्शी र व्यवस्थापकिय ढंगले सञ्चालन गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो । कुनैपनि संस्थालाई चुस्त र मर्यादित बनाउनका लागि सुशासनको महत्व रहेकोले ती सहकारी संस्थाहरुलाई जनतामूखि र पारदर्शी बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । तीनदिने सुशासन सम्बन्धी तालिममा मुख्य प्रशिक्षकका रुपमा नेशनल इन्स्टिच्युट फर लिडरसीप डेभलपमेन्टका प्रशिक्षक विक्कलप्रसाद शेरचन र उषा मल्ल सिंह रहेका छन् । प्रशिक्षक शेरचनले तालिमका सहभागि सहकारीका पदाधिकारीहरुलाई संस्थालाई समृद्ध र समुन्नत बनाउनका लागि पारदर्शीता र सुशासन कायम गर्नुपर्ने बताए ।

उनले देशमा राजनीतिक अस्थिरताका कारण सुशासन कायम गर्न नसकिएको र जसको फलस्वरुप विभिन्न अपराधिक गतिविधि मौलाइरहेको बताए । तालिममा प्रशिक्षणका क्रममा उनले व्यंग्य गर्दै कुशल नेतृत्व नभएका कारण देशमा कानु कार्यान्वयनका साथै शान्ति र सुशासन कायम नभएको उल्लेख गरे । उनले राज्यको अवस्थाको उदाहरण दिँदै सहकारी संस्थाहरुमा पनि पारदर्शीता र सुशासन कायम नभए संस्था पतन हुने बताए । यस्तै अर्का प्रशिक्षक उषा मल्ल सिंहले पनि संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न र संस्थामा आवद्ध शेयर सदस्यहरुले दिएको जिम्मेवारीलाई कर्तव्य बोध गरी काम गर्नुपर्ने बताइन् । उनले पनि राज्यमा गैर जिम्मेवार नेता र फितलो कानुन तथा भएको कानुन पनि कार्यान्वयन गर्न नसक्दा सर्वत्र क्षेत्रमा सुशासन कायम हुन नसकेको उल्लेख गरिन् ।

संस्थामा साना–साना कुराहरुलाई पनि ख्याल राख्दै पारदर्शी रुपमा काम गर्न सके कुनैपनि हालतमा संस्था घाटामा नजाने बताइन । तालिम उद्घाटन कार्यक्रमका सभाध्यक्ष तथा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकास भुषालले दुवै जना प्रशिक्षक सुशासन तथा पारदर्शीताका विषयमा विज्ञ नै भएकोले सहभागीलाई ध्यानपूर्वक सुन्नको लागि आग्रह गरे । उनले करिब ३० वर्ष अघि हालकै प्रशक्षिक शेरचनबाट आफु स्वयम् प्रशिक्षित भएकाले आफु वर्तमान अवस्थामा पुग्न सफल भएको बताउँदै भुषालले सहभागिहरुले पनि तालिम अवधिभर प्रशिक्षकका कुराहरुलाई गम्भीरताका साथ लिन अनुरोध समेत गरे ।