कठमाडौं– भारतीय आयल निगम(आईओसी)को रक्सौल डिपोले नेपालबाट गएका ३५ वटा ट्यांकरमा तेल भर्न नमानेको नेपाल आयल निगमले जनाएको छ। ‘आइओसी मुम्बईको निर्देशन नभएको भन्दै रक्सौल डिपोले हाम्रा गाडीमा तेल भरेको छैन,’ निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘उनीहरुले शनिबारलाई पनि बहाना बनाएका छन्।’ – भट्टराईका अनुसार नाकाबन्दीअघि बार नहेर अप्ठेरो परेको बेला निगमले भारतमा बिदा हुने आइतबारकै दिन पनि तेल भरेर पठाउने गरेको थियो।
भदौं ७ गतेदेखि हालसम्म वीरगन्ज नाकाबाट तेल नभित्रिएका कारण रक्सौल डिपोको सफ्टवेयरमा रक्सौलमा लोड भएका ट्यांकरको रुट जोगवनी उल्लेख गरिएकोले सफ्वेयर अपडेट गर्नु पर्ने, नाकाबन्दीको समयमा लगाईका चेक प्वाइन्टमा इन्ट्री गर्नेजस्ता सिस्टम पनि अपडेट गर्नुपर्ने जस्ता प्राविधिक काम पनि बाँकी रहेकाले वीरगन्जबाट भित्रिने गाडिलाई तेल भर्न नमानेको हुन सक्ने उनको भनाई छ।
नेपालतर्फ नाकाबन्दीको घोषणा गर्ने मधेसी मोर्चा र भारतले पनि नाकाबन्दीका विषयमा औपचारिक निर्णय गर्न बाँकी रहेका कारण पनि रक्सौल डिपोले तेल नभरेको हुन सक्ने अनुमान आयल निगमको छ। ‘यो नाकाबन्दी जनताले स्वतःस्फुर्त रुपमा खुलाएका हुन्,’ भट्टराईले भने, ‘नाका खोल्ने मोर्चाको निर्णय, भारत सरकारको निर्णय तथा आईओसी केन्द्रीय कार्यालयले नै तेल भर्न दिने औपचारीक निर्णयको पर्खाइमा पनि रक्सौल डिपो रहेको हुनसक्छ।’ वीरगन्ज नाकाबाट अमलेखगन्ज र काठमाडौंसम्म तेल ओसार्न रुट परमिट लिएका र यस रुटमा चल्ने ट्यांकरहरु लगातारको साढे ५ महिनादेखिका बन्दका कारण अन्य नाकाबाट तेल ओसारि रहेकोले पनि यस नाकाबाट तेल ओसार्ने ट्ंकरको व्यवस्था मिलाउन पनि अझै ३–४ दिन लाग्ने उनले बताए। ‘रक्सौल कस्टमले नेपाली कस्टमसँग समन्वय गरेर ट्यांकर जान दिएको भए पनि तेल भर्ने र ल्याउने निकाय(आईओसी र एनओसी)बीच त्यस्तो औपचारिक समन्वय हुन सकेको छैन,’ उनले भने, ‘आइतबार भारतमा सार्वजनिक विदा पर्ने हुनाले आइओसीले के गर्न खोजेको हो भन्ने कुरा सोमबार मंगलबारसम्म थाहा हुन्छ।’
साभारः नागरिक न्युज



Milan Shrestha । २३ माघ २०७२, शनिबार १३:३१ बजे