नेपालबाट कागजात ल्याइदिने भन्दै पैसा लिएर गायव


सन्तोष न्यौपाने/उज्यालो । 

बेल्जियम, माघ १९ – पुस २८ गते एकजना युवकले फेसबुकमा स्टाटस लेखे, म पोर्चुगल आउँदैछु । नेपालबाट कसैको सामान ल्याउनु छ भने म ल्याइदिन्छु ।  पोर्चुगलमै रहेकी सुस्मी पुलामी मगरले नेपालबाट आफ्ना कागजात ल्याइदिने मान्छे खोजिरहनु भएको थियो । ढुंगो खोज्दा देउता मिलेजस्तै भयो सुस्मीलाई जब फेसबुकमा ति युवकले लेखेको स्टाटस पढ्नुभयो । 

सुस्मीले फेसबुकमै अनुरोध गर्नुभयो । कागजात ल्याइदिने सहमति भयो । सुस्मीका आफन्तले सम्पर्क गरेर काठमाडौंमा एक युवकलाई कागजात जिम्मा लगाए । कागजात हात पारेपछि उनले २५ सयदेखि तीन हजार रुपैयाँ विमानस्थलमा बुझाउनुपर्छ भन्दै मागे । त्यो पैसापनि सुस्मीका आफन्तले दिएका थिए ।  सामान ल्याइदिन्छु भनेका मान्छे हप्तौंसम्म सम्पर्कमा आएनन् । सुस्मीले बारम्बार कुराकानि गर्न खोजिन् सम्पर्क हुनै सकेन । उनको फेसबुकमा मात्रै कुरा भएको थियो । सम्पर्क नम्बर थिएन । उनले रिप्लाई त गरेनन् नै सुस्मीको कागजात पनि गायव गरे । केहि दिनपछि फेसबुकमा अर्को स्टाटस देखियो । मनि श्रेष्ठले लेखेका थिए । पीडित मध्यको म पनि हो । मेरो २५ जनवरीमा फ्यामिलि एप्लाईको डेट थियो । यो दलालले गर्दा सबै क्यान्सिल भयो । यसले नेपालबाट मेरो डकुमेन्ट ल्याइदिन्छु भनेर परिवारबाट ३ हजार रुपैयाँ लगेको थियो । अहिले फेसबुकमा ठेगाना नै परिवर्तन गरिएको छ । 
फेसबुकमा अनुप देउजा नाम राखेका व्यक्तिले एउटै स्टाटसबाट धेरैको पैसा र कागजात गायव गरेपछि हंगामा भयो । पोर्चुगलमा अनुप देउजा खोजियो । तर पोर्चुगलमा अनुप देउजा नाम गरेका व्यक्ति रहेनछन् । पीडितहरुले ब्रिसबेन अस्ट्रेलिया बस्ने अनुपलाई आरोप लगाएका छन् । तर अस्ट्रेलियाका अनुपले भने पोर्चुगलका नेपालीले नबुझिकन आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन् ।  फेसबुकमा ब्रिसबेन अस्ट्रेलियाको अनुप देउजा भन्ने व्यक्तिको फोटो राखेर दुरुपयोग भएको भन्दै अनुप देउजाले अस्ट्रेलियन प्रहरी समक्ष साइबर क्राइमको मुद्दा दायर गरेका छन् । उनको फोटो राखेर गालिवेइज्जत गर्नुका साथै पैसा खाएको आरोप लगाइएको छ । तर उनले प्रहरीमा आफ्नो नाममा अरु कसैले फेक एकाउन्ट बनाएर चरित्र हत्या गर्न खोजेको बयान दिएका छन् । 
साभारः उज्यालो अनलाइन