काँक्रेविहार संरक्षित वनमा बनभोज खान रोक लगाउन माग


 

२० पौष, सुर्खेत । सामाजिक अभियन्ता नवराज बोहोरा “भेडा”ले नेपालको पहिलो संरक्षित वन एवं कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल काँक्रेविहार संरक्षित वन भित्र बनभोज लगाएत मानिसहरुको ठूलो जमात भै गरिने कार्यक्रमहरुलाई रोक लगाउन आज डिभिजन वन कार्यालय सुर्खेतमा निवेदन दिनुभएको छ ।

संरक्षित काँक्रेविहार वनमा बनभोज एवं विभिन्न कार्यक्रमहरु आयोजना गर्दा ठूलो मात्रामा मनोरञ्जनकालागि बनाइने आवाजले वनमा रहेका जरायो लगाएतका अन्य वन्यजन्तुहरु त्रसित भै वन क्षेत्र भन्दा बाहिर जाने भएकोले उक्त क्षेत्रमा यस्ता कृयाकलापहरुलाई रोक लगाउन निवेदन दिनुभएको अभियन्ता भेडाले बताउनुभयो । उहाँले भन्नुभयो “यस्ता किसिमका कृयाकलापले वन्यजन्तुहरुको चोरीशिकारी समेत बढेको छ त्यसैले यस्ता कार्यमा रोकलगाउन मैले निवेदन दिएको हुँ । आशा छ सम्वन्धित निकायले यस्मा पहल गर्नेछ ।”

निवेदनमा अभियन्ता भेडाले “जरायो लगाएतका वन्यजन्तुहरुको बासस्थान, प्रजनन् स्थल संरक्षणकालागि कडा नियमका साथै काँक्रेविहार क्षेत्र भित्र बनभोज, मानिसको ठूलो जमातमा हुने जमघट, ठूलो आवाज निकाल्ने स्पीकर तथा बाजाहरु बजाउन पूर्णरुपमा मनाई गरियोस् । साथै त्यस क्षेत्र भित्र जरायो तथा वन्यजन्तुहरुलाई विषादी प्रयोग गरि घाइते अवस्थामा रहेको वा मृत्यु भएको अवस्थामा भेटिए जिल्ला प्रहरी कार्यालयद्वारा मुचुलका उठाई त्यसको छानवीन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गरियोस् ।” भनी जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयलाई बोधार्थ राखी माग गर्नुभएको छ ।