कार्तिक १, २०७३- सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेश दिएको एक महिना बित्दा पनि ‘ठेगाना पत्ता लगाउन नसकेको’ भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद तामेल गर्न सकेको छैन ।
म्याद बुझ्न ढिलाइ गर्ने रणनीतिका साथ मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीले विदेश भ्रमणकै दौरानमा थप बिदा स्वीकृत गराइसकेका छन् । ‘सकेसम्म तिहारअघि कुनै पनि हालतमा म्याद तामेल हुन नदिने रणनीति बनेको छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘तामेलदार, महानगरपालिकाको वडा सचिवलाई अल्मल्याएर म्याद तामेलीमा ढिलाइ गर्ने योजना चलिरहेको छ ।’
घटस्थापनापछि सर्वोच्च अदालतले घरमै म्याद बुझाउन दुई पटक तामेलदार खटाएको थियो । गत १९ गते काठमाडौं महानगरपालिकाको १० नम्बर वडा सचिवको अनुपस्थितिका कारण म्याद तामेल हुन सकेन भने भोलिपल्ट तामेलदार नै सम्पर्कविहीन भए । त्यसपछि भने दसैं बिदा सुरु भएकाले म्याद तामेल हुन सकेन । नियमित रूपमा अदालत खुले पनि आइतबारसम्म म्याद तामेल भएको छैन ।
सर्वोच्च अदालत स्रोतका अनुसार म्याद तामेल नगरेको भन्दै तामेल्दार शम्भु खत्रीमाथि विभागीय कारबाहीको तयारी भइरहेको छ । सर्वोच्च प्रशासनले सोमबारै फेरि कार्कीको घरमा म्याद तामेलीका लागि टोली खटाउने भएको छ । ‘सम्भव भए विपक्षीका हातमा म्याद थमाइनेछ, नभए परिवारका सदस्यले म्याद बुझ्नुपर्ने छ,’ सर्वोच्च स्रोतले भन्यो, ‘सम्भव नभए घरमै म्याद टाँस्न लगाउने तयारी छ ।’
चार दिने कार्यक्रमका लागि दुई साता लामो भ्रमणमा निस्किएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले विदेशबाट थप १० दिनको बिदा राष्ट्रपतिबाट स्वीकृत गराएका छन् । तिहारअघिसम्म म्याद नबुझ्ने र मुद्दाको पुनरावलोकनका लागि ढिलाइ गर्ने रणनीतिसहित उनी लामो बिदामा रहेको अख्तियारस्रोतले बतायो । यो दाबीलाई अख्तियारका सल्लाहकार रहिसकेका कार्कीका निकट कानुनी व्यवसायी कोमल घिमिरेले पनि पुष्टि गरेका छन् । ‘दसैं बिदामा अदालत बन्द भएका बेला देशमै नभएको व्यक्तिलाई म्याद टाँस्न अदालत खोल्नुको मनसाय के रहेछ ?’ घिमिरेले टिवटमार्फत भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका यही रहेछ ।’
अख्तियारको प्रमुख आयुक्तमा कार्कीको नियुक्तिपछि पछिल्लो जनआन्दोलन दमनमा भूमिका खेलेको, योग्यता नपुगेको र कारबाहीको प्रक्रिया रहेकै बखत राजीनामा दिएकाले उनलाई नियुक्त गर्न नहुने माग राखी अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए । उक्त रिट खारेज गर्ने फैसला पुनरावलोकन हुने भनी सर्वोच्च अदालतले गत महिना आदेश दिएको थियो । आदेशपछि मुद्दाका दुवै विपक्षीलाई म्याद बुझाउने क्रममा राष्ट्रपति र प्रधानमन्त्री कार्यालय तथा संवैधानिक परिषदको सचिवालयले म्याद बुझे पनि अख्तियारका प्रमुख आयुक्त कार्कीले विभिन्न रणनीति अपनाएर अल्मल्याइरहेका हुन् । अधिवक्ता अर्यालले भने सर्वोच्चमै पुगेर म्याद बुझिसकेका छन् ।
स्रोतका अनुसार पुनरावलोकनमा रहेको उक्त मुद्दा सुशीला कार्की प्रधानन्यायाधीश रहुन्जेल किनारा लगाउन नदिने रणनीतिमा अख्तियार प्रमुख आयुक्त कार्की छन् । म्याद बुझेपछि कार्कीले १५ दिन समय पाउने छन् भने एक महिना थप्ने सुविधा पनि उनलाई हुनेछ । कात्तिक १ गते म्याद तामेल भए पनि मुद्दा पेशीमा चढ्न छिटोमा पनि मंसिर १५ लाग्छ । ‘विभिन्न बाहनामा अल्मल्याएर मुद्दा वैशाख/जेठसम्म धकेले प्रधानन्यायाधीश कार्कीले अवकाश पाउने र त्यसपछि अदालतलाई प्रभावित पार्न सकिने मनस्थितिमा अहिलेको झमेला भइरहेको हो,’ अख्तियारस्रोतले भन्यो ।
साभारः कान्तिपूर अनलाइन



Prawash Kumar Shakya । १ कार्तिक २०७३, सोमबार ०६:४६ बजे