८ फागुन, नयाँदिल्ली ।
नेपाली समकक्षी केपी ओलीसँगको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘असझदारी अन्त्य’ भएको बताएको भारतीय एक नेताले बताए । प्रधानमन्त्री सहितका नेपाली अधिकारीहरुले पनि नेपाल र भारतबीच देखिएको असमझदारी अन्त्य भएको बताएका छन् । दुई सरकार प्रमुखबीच झन्डै एक घन्टा हैदरावाद हाउसमा वान-टु-वान कुराकानी भएको थियो । कुराकानी पश्चात दुवै नेताहरु प्रसन्न मुद्रामा निस्केका थिए । करिब आधा घण्टा हुने अनुमान गरिएको कुराकानी दुवै नेता खुल्दै गएपछि एक घन्टा लम्बिएको हो । वार्ता लम्बिएपछि हैदरावाद हाउसमा लञ्च खान निम्त्याइएका भारतीय नेता मन्त्रीहरुले समेत केहीबेर पर्खिनु परेको थियो । वार्ताका क्रममा मोदीले नेपालमा संविधान जारी भएपछि उत्पन्न समस्यालाई हल गर्न सरकार लचकताका साथ प्रस्तुत हुनुपर्ने सुझाव दिएका थिए । त्यसलाई नेपालका प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएका थिए । ‘मोदीजी निकै खुशी देखिनुभएको थियो’ भारतीय राज्यसभा सांसद डीपी त्रिपाठीेले अनलाइनखबरसँग भने, ‘यो भ्रमणपछि अब द्विपक्षीय सम्वन्धमा कुनै समस्या बाँकी नरहेको उहाँले हामीलाई सुनाउनुभयो ।’ वार्ता फलदायी: मन्त्री पौडेल नरेन्द्र मोदीसँगको भेटपछि नेपालका अर्थमन्त्री विष्णु पौडेलले पनि वार्ता निकै फलदायी भएको र असझदारीको निवारण भएको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो तर्फबाट नेपालमा भएको संविधान निर्माणदेखि संशोधनसम्मका विषयवस्तुबारे जानकारी गरायौं । त्यसलाई उहाँहरुले सकारात्मक रुपमा लिनुभएको छ । अब भारतको तर्फबाट कुनै पनि असन्तुष्टी बाँकी छैनन् ।’ सम्बन्ध सुदृढ बन्ने राजनाथको विश्वास भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधि मण्डलसँगको द्विपक्षीय वार्ता उपलब्धीमुलक भएको बताएका छन् । यो भ्रमणले दुई मुलुकबीचको सम्वन्धमा नया आयाम थप्ने उनको विश्वास छ । राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीसित भेट गरेर फर्केपश्चात उनले सो प्रतिक्रिया दिएका हुन् । सिंहले पत्रकारसँग भने, ‘सौहार्दपूर्ण वातावरणमा दुई पक्षबीच खुलस्त कुराकानी भएको छ । यो भ्रमणले नेपाल-भारत सम्वन्धलाई नयाँ दिशा दिने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति हमिद अन्सारीसँग भेटवार्ता गरेका छन् । ‘अब भारतले कुनै दबाब दिँदैन’ भारतीय सांसद डिपी त्रिपाठीले प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि मोदी निकै खुशी देखिएको बताए । ‘नेपालका प्रधानमन्त्रीसँगको वार्तापछि उहाँसित हैदराहाउसमा भेट गरेँ’ उनले भने-विभिन्न पार्टीका नेतासँगको छलफलमा मोदीजी सन्तुष्ट देखिनुभयो । उहाँको भनाइका आधारमा म यति भन्न सक्छु कि नेपाल-भारत सम्वन्ध फेरि पहिलेजस्तै सौहार्दपूर्ण बनेको छ ।’ नेपालमा अझै पनि मधेसीहरु सरकारसँग सन्तुष्ट छैनन् । सीमांकन विवाद सुल्झाउन सरकारले राजनीतिक संयन्त्र बनाएपनि माधेसी मोर्चालले स्वीकार गरेका छैनन् । यद्यपि यो पूर्णरुपमा नेपालको आन्तरिक मामला हो भन्ने भारतले महसुस गरेको भारतीय सांसद त्रिपाठीले दाबी गरे । भारतीय सांसद डिपी त्रिपाठीले भने-‘अब यसलाई इस्यू बनाएर भारतले कुनै किसिमको दबाबमूलक नीति लिँदैन र लिनुहुँदैन भन्ने मलाई लाग्छ ।’
साभारः अनलाइनखबरबाट




Milan Shrestha । ९ फाल्गुन २०७२, आईतवार ०२:४१ बजे