चिरञ्जीवी पौडेल
१२ माघ, काठमाडौं । म्याच फिक्सिङमा मुछिएका पूर्वफुटबल कप्तान सागर थापाले लगाएको आरोपहरुमाथि स्पोट्र्स र्याडरले कडा प्रतिक्रिया जनाएको छ । स्पोर्टर्याडर खेलकुदसम्वन्धि सूचना संकलन तथा अनुसन्धानमा संलग्न अन्तर्राष्ट्रिय निकाय हो, जसको प्रतिवेदनमा आधारित रहेर एएफसीले सागरसहितका खेलाडीहरुमाथि आजीवन प्रतिवन्ध लगाएको थियो ।सागरले अनलाइनखबरलाई दिएको अन्तरर्वार्तामा स्पोर्टर्याडरका कर्मचारी विप्लव गौतमले आफूलाई म्याच फिक्सिङमा फसाएको आरोप लगाएका थिए । यसलाई खण्डन गर्दै स्पोर्टर्याडर सञ्चार अधिकृत एलेक्स इन्ग्लोटले विप्लवले त्यहाँ काम सुरु गर्नु अगावै नेपालमा म्याच फिक्सिङको अनुसन्धान जारी रहेको उल्लेख गरेका छन् ।
‘थुप्रै सूचना विश्लेषक तथा गुप्तचर विश्लेषक संलग्न रहेको स्पोर्टर्याडर सेक्युरिटी सर्भिसको ५२ सदस्यीय अन्तर्राष्ट्रिय टोलीले गरेको अनुसन्धान हो यो । विप्लवले ज्वाइन गर्नुभन्दा धेरै महिना अघिदेखि अनुसन्धान भइरहेको थियो ।’ अनलाइनखबरसँगको सम्बादमा उनले भने ।
यसैगरी स्पोर्टर्याडर सेक्युरिटी सर्भिसका प्रवन्ध निर्देशक एन्डि्रयास क्रान्निचले एक विज्ञप्ति जारी गरी सागरको अन्तरवार्तार्मा लगाइएका आरोप, अनुमान तथा षडयन्त्रका सूत्रहरु अनुचित र चिन्ताको विषय रहेको जनाएका छन् । सागरसहितका खेलाडीहरु १० वर्षदेखि म्याच फिक्सिङमा संलग्न रहेको स्पोर्टर्याडरको अनुसन्धानले पुष्टी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘सागर थापा र अन्य प्रतिवादीहरुमाथिको अनुसन्धान एउटा वृहद र वस्तुगत प्रक्रिया थियो, जून पूरा हुन एक वर्ष लाग्यो । यसमा एएफसी -एशियाली फुटबल महासंघ), नेपालको महानगरीय अपराध शाखा, यूइएफए -यूनियन अफ यूरोपियन फुटबल एसोसिएसन) र स्पोर्टर्याडर सेक्युरिटी सर्भिसेज टिमको समन्वय रहेको थियो ।’
‘सोही अनुसन्धानबाट ती खेलाडी तथा प्रशिक्षकहरुले विगत १० वर्षयता थुप्रै -म फेरि जोड दिएर भन्छु, थुप्रै) फुटबल खेलहरुको नतिजा प्रभावित बनाउन भूमिका खेलेको देखिएपछि उनीहरुलाई आजीवन प्रतिवन्ध लगाइएको हो,’ विज्ञप्तिमा अगाडी भनिएको छ ।
‘धम्की’ का विषयमा गम्भीर
अनलाइनखबरसँगको अन्तरवार्तामा सागरले विप्लवलाई घुमाउरो ‘धम्की’ दिएको भन्दै यो विषयलाई एकदमै गम्भीरताका साथ लिइएको पनि क्रान्निचले जनाएका छन् । अन्तरवार्तामा सागरले म्याच फिक्सिङको आरोपमा आफूहरु निर्दोष पाइए विप्लवलाई नछाड्ने आशय व्यक्त गरेका थिए ।
‘विप्लवले मलाई यो अवस्थामा पुर्याएको हो । मैले उसलाई भनेको छु, यदि मेरो म्याच फिक्सिङ पुष्टि भयो भने म मर्छु, पुष्टि भएन भने पनि चुप लागेर बस्दिन,’ उनले भनेका थिए ।
क्रान्निचले लेखेका छन्, ‘हाम्रा कुनै पनि कर्मचारीको सुरक्षामाथि आउने धम्की (सार्वजनिक धम्की मात्र होइन) लाई अत्यन्तै गम्भीरताका साथ लिन्छौं र यसबारे नेपालमा हामीलाई कस्तो कानूनी व्यवस्था उपलब्ध छ भनेर खोजविन गरिरहेका छौं ।’
‘अन्तरवार्तामा उल्लेखित एक-एक गल्तिहरुमा आफू जान चाहन्न, किनकि यो निकै लामो हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
के हो स्पोर्टर्याडर ?
स्पोर्टर्याडर एउटा अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वव्यापीरुपमा खेलकुदका तथ्यांंक विश्लेषण, सूचना संकलन तथा खोज-अनुसन्धान गर्दछ ।
एफएफसी र फिफाले टेक्निकल पार्टनरका रुपमा स्पोर्टर्याडरको सहयोग लिँदै आएका छन् । विश्वका ८० देशका आठ सय कम्पनीहरुले आफूसित सहकार्य गरिरहेको संस्थाको वेवसाइटमा उल्लेख छ ।
स्पोर्टर्याडर सेक्युरिटी सर्भिसेजले विशेषगरी बाजीमा आधारित म्याच फिक्सिङका विरुद्धमा लड्नका लागि विभिन्न खेलकुद महासंघ तथा क्लवहरुलाई सहयोग गर्दै आएको छ । एएफसीको अनुरोधमा यसले नेपालको म्याच फिक्सिङका विषयमा एक वर्षभन्दा अगाडीदेखि अनुसन्धान गर्दै आएको थियो । उसले जुटाएका प्रमाण एएफसीका प्रतिनीधिहरु नेपालमा आएर प्रहरीलाई उपलब्ध गराएका थिए ।
फिक्सिङबारे विप्लवको व्लग
आफ्नो वेवसाइट http://www.rangashala.com/ मा शुक्रबार मात्रै उनले नेपालको म्याच फिक्सिङका विषयमा ब्लग लेखेका छन् । अंग्रेजीमा लेखिएको ब्लगको सार यस्तो छ :
सन् २००८ को अक्टोबरमा मलेसियाको साह अलाम रंगशालामा म मण्डेका कप अन्तरगत नेपाल र सियरा लियोनको म्याच हेर्न पुगेको थिएँ । त्यतिबेला म एएफसीको क्वालालम्पुर कार्यालयमा काम गर्थेँ । रंगशालामा उक्त म्याच हेर्न आठ सयदेखि एक हजार नेपाली फ्यानहरु पुगेका थिए, जसमध्ये धेरै श्रमिकहरु थिए । उनीहरु रंगशालामा आफ्ना हिरोहरुको हौसला बढाउन नेपाली झण्डा फहराइरहेका थिए ।
यदि कहलिएका म्याच फिक्सर विल्सन राज पेरुमलको भनाई विश्वास गर्ने हो भने उक्त म्याच पहिल्यै ‘फिक्स’ गरिएको थियो । हालै नेपालका ५ खेलाडीहरुलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गरिएको र एएफसीले उनीहरुलाई आजीवन प्रतिवन्ध गरेको सन्दर्भलाई जोड्ने हो भने उनको भनाईलाई विश्वास गर्न करै लाग्छ । नेपाली श्रमिकहरुले जसलाई हिरो ठानेका थिए, उनीहरु वास्तवमा भिलेन रहेछन् ।
आफ्नो किताबमा पेरुमलले विस्तृत विवरणसहित सियरा लियोनको यू-२० टिमविरुद्धको म्याच हार्नका लागि नेपाली टिमलाई आफूले पैसा दिएको दावी गरेका छन् ।
आफ्नो किताबमा पेरुमलले विस्तृत विवरणसहित सियरा लियोनको यू-२० टिमविरुद्धको म्याच हार्नका लागि नेपाली टिमलाई आफूले पैसा दिएको दावी गरेका छन् ।
फुटबलमा एकदमै कमजोर अफ्रिकन देशको युवा टिमसित नेपालको बलियो राष्ट्रिय टिम हार्न पुगेको थियो । त्यो पनि सियरालियोनका एक खेलाडी रेडकार्ड खाएर सुरुमै मैदानबाट बाहिरिएको अवस्थामा । नेपालले १-३ ले नतिजा सुम्पदा दुई गोल खेलको अन्त्यमा खाएको थियो । पेरुमलले ती दुवै गोल जानाजान खाएको दावी गरेका छन् । यसरी म्याच फिक्स गर्ने नेपाली खेलाडीहरुले पैसा पाए भने फ्यानहरुले निराशा ।
केहि व्यक्तिहरुले म्याच फिक्सिङ गर्ने खेलाडीहरुप्रति सहानुभूति दर्शाउदै उनीहरुको सेवा-सुविधा राम्रो नभएकाले आफ्नो परिवार पाल्नका लागि यस्तो काम गर्न वाध्य हुनुपरेको तर्क पनि गरिरहेका छन् । यो एउटा विकृत सोचाई मात्रै हो । पैसा छैन भन्दैमा अपराध गर्न कसैलाई छुट हुँदैन । त्यसमाथि यो त देशविरुद्ध गद्दारीको कुरा हो । यी खेलाडीहरुले विश्वभरी रहेका नेपाली फुटबलका फ्यानहरुसित माफी माग्नुपर्छ ।
को हुन् विप्लव गौतम ?
राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमका छोरा विप्लव गौतम नेपाली मूलका अमेरिकी नागरिक हुन् । हाल उनी सिंगापुरमा बस्छन् ।
सन् २०१४ देर्खिदेखि स्पोर्टर्याडरमा काम गर्न थालेका विप्लव केहि वर्षअघि एएफसीमा डेभलपमेन्ट अफिसर थिए । उनले भारत, बहराइन, इरान, ओमान, फिलिपिन्स र स्पेनमा फुटबल विकास परियोजनाहरुको समन्वय गरेका थिए । अहिले एएफसी र स्पोर्टर्याडरबीच समन्वयको जिम्मेवारी उनलाई छ ।
सन् २०१४ देर्खिदेखि स्पोर्टर्याडरमा काम गर्न थालेका विप्लव केहि वर्षअघि एएफसीमा डेभलपमेन्ट अफिसर थिए । उनले भारत, बहराइन, इरान, ओमान, फिलिपिन्स र स्पेनमा फुटबल विकास परियोजनाहरुको समन्वय गरेका थिए । अहिले एएफसी र स्पोर्टर्याडरबीच समन्वयको जिम्मेवारी उनलाई छ ।
त्यो भन्दा पहिले उनी नेपालको मच्छिन्द्र फुटबल क्लवमा मार्केर्टिङ डाइरेक्टर थिए । त्यतिबेला मच्छिन्द्रलाई रेलिगेसनबाट बचाउन उनले विभिन्न चलखेल गरेको चर्चा चलेको थियो । उनी सन् २०१३ मा फिफा अवार्डको जुरीमासमेत थिए । उनलाई नेपालको खेलकुदमा योगदान पुर्याएको भनेर एनआरएनएले सन् २०१४ मा सम्मानित गरेको थियो ।
विप्लवमाथि सागर थापाले दुई आरोप लगाएका छन् । पहिलो, मच्छिन्द्र क्लवमा रहँदा म्याच फिक्सिङका लागि महेन्द्र पुलिस क्लवका खेलाडीलाई पैसा अफर गरेको र दोस्रो गणेश थापासितको दुश्मनीका कारण आफूलाई म्याच फिक्सिङमा फसाएको । दुवै विषयमा उनको धारणा जान्न अनलाइनखबरले इमेलमार्फत् अनुरोध गरेको भए पनि उनले जवाफ पठाएनन् ।
साभारः अनलाइन खबर



Milan Shrestha । १२ माघ २०७२, मंगलवार ०९:०४ बजे