काठमाडौं, १४ मंसिर । रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी)को भर्ना प्रक्रिया अघि बढेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ७ सय ४३ सशस्त्र वन रक्षक, ४ सय १६ वन रक्षक र ७ सय ७७ गेमस्काउटको भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘नयाँ पाठ्यक्रम बनाएर एकीकृत परीक्षा प्रणालीबाट जतिसक्दो चाँडो रिक्त वन रक्षक र गेमस्काउट भर्ना गर्दैछौं’, उनले भने । पाठ्यक्रम तयार भएपछि विज्ञापन आह्वान गरिनेछ र लोक सेवा आयोगले पदपूर्तीका लागि परीक्षा लिनेछ । विभागअन्तर्गत १ हजार ८३ सशस्त्र वन रक्षक, २८ सय वन रक्षक र निकुञ्ज विभागअन्तर्गत ८ सय २४ गेमस्काउटको दरबन्दी छ ।
गत वर्ष मात्रै ४ सय ६१ गेमस्काउटको नयाँ दरबन्दी थपिएको हो । आर्थिक वर्ष २०६९–७० पछि वन रक्षक र गेमस्काउट भर्नाका लागि विज्ञापन हुन सकेको छैन । तराई तथा चुरे मधेसका जिल्लामा वन गस्ती र निकुञ्ज–आरक्षको प्रभावकारी गस्ती हुन सकेको छैन ।



Prawash Kumar Shakya । १४ मंसिर २०७३, मंगलवार ०३:२४ बजे