माघ ८, २०७२- हिजो मोरङको रंगेली र डायनियामा प्रहरीको गोली लागि ३ जनाको ज्यान गएपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले रंगेली ३ चोपडा टोलस्थित सशस्त्र प्रहरीको निर्माणधिन भवनमा क्षति पुर्याएका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालका अनुसार मोर्चाका कार्यकर्ताले गएराति सशस्त्र प्रहरीको वोर्डर आउट पोष्टको निर्माणधिन एक भवनका दुई कोठाको सिसा फुटाएका छन् भने केही कोठाको ढोकामा क्षति पर्याएका छन् ।
यस्तै मोर्चाका कार्यकर्ताले अर्को निर्माणधिन भवनको दृुईवटा पर्खाल भत्काएका भने सय बोरा सिमेन्टमा आगो लगाएर क्षति पर्याएको रिजालले बताए । कार्यकर्ताले त्यहाँ गाडिएका दुईवटा ट्यूववेल समेत उखेलेर फालेका छन् ।
आज बिहानैदेखि रंगेली–विराटनगर सडकखण्डको कटहरी बजारमा प्रदर्शन चर्किएको छ । मोर्चाका कार्यकर्ताले उक्त सडक खण्डमा यातायात चल्न दिएका छैनन् । केही बेरअघि प्रहरीले उक्त ठाउँबाट मोर्चाका कार्यकर्तालाई तितरबितर पारेको छ ।
हिजो युवा संघले रंगेलीमा आयोजना गरेको कार्यक्रममा मोर्चाका कार्यकर्ताले बिथोल्न खोजेपछि भएको झडपमा प्रहरीको गोली लागि रेंगेलीमा दुई र डायनियामा १ गरी ३ जनाको मृत्यु भएको थियो ।
यसैगरी, रंगेली घटनापछि बाराको राजधानी कलैयामा पनि आन्दोलन चर्किएको छ । कलैयास्थित कान्तिपुरकर्मी लक्ष्मी साहका अनुसार शुक्रबार कलैयालगायतका ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले नम्बर नखुलेका तीनवटा मोटरबाइकमा आगजनी गरेका छन् । केहीदिन सुस्ताएका मोर्चाका कार्यकर्ताहरु रंगेली घटना भएपछि उग्र बन्दा जनजीवन फेरि असहज बनेको छ ।
मधेसी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि बजार र यातायात बन्द गराउँदै हिंडेका छन्
साभार : कान्तिपूर अनलाइन



Milan Shrestha । ८ माघ २०७२, शुक्रबार ०६:२९ बजे