‘सेतो सूर्य’ ले देखाएको समाज


10122016040007img_5770-1000x0मंसिर २५, २०७३- माओवादी सशस्त्र द्वन्द्व चानचुन दस वर्ष चल्यो, तर नेपाली समाजमा त्यसका बाछिटाहरू वर्षौंसम्म देखापरिरहनेछन् । किनभने त्यो राजनीतिक उहापोहको आयतन यति फराकिलो भइदियो कि हाम्रो घर–परिवार, समाज र मुलुकको पछिल्लो आयाम बुझ्न घरीघरी त्यसैभित्र पस्नुपर्ने हुन्छ । त्यसको पक्ष वा विपक्षमा उभिएर अथवा निरपेक्ष रहेर सिर्जनात्मक अभिव्यक्तिहरू आउने क्रम पनि सायद लामै समय जारी रहला— पुस्तक, वृत्तचित्र, चलचित्र आदिका माध्यमबाट ।

केहीअघि द्वन्द्वकै विषयवस्तु समेटेर मीन भामको ‘कालो पोथी’ चलचित्र आएको थियो र व्यावसायिक रूपमा राम्रै सफलता हासिल गरेको थियो । सशस्त्र द्वन्द्वको सेरोफेरोमा यसबीच अरू थुप्रै चलचित्र बनेका छन्, केही बन्दै पनि होलान् तर २०६३ सालपछिको राजनीतिक संक्रमणलाई समातेर अघिल्लो दशकको हिंसा–प्रतिहिंसालाई नियाल्ने काम भने थोरैले मात्र गरेका छन् । भर्खरै रिलिज गरिएको ‘सेतो सूर्य’ ले यही दोस्रो बाटो रोजेको छ ।

दीपक रौनियार निर्देशित यो चलचित्र द्वन्द्वकालभन्दा पनि द्वन्द्वोत्तर कालखण्डको प्रतिविम्ब हो । ‘सेतो सूर्य’ माओवादी ‘जनयुद्ध’ को गाथा भने होइन, न त यसलाई पूर्ण राजनीतिक चलचित्र भन्नु उचित हुन्छ । वास्तवमा यो सामाजिक यथार्थवादी चलचित्र हो, जसले अहिलेको अवसरवादी राजनीतिबाट प्रभावित समाजलाई पर्दामा ल्याइदिएको छ । यसमा द्वन्द्वका कथाहरू सुनाइएका र देखाइएका छन्, तर चलचित्र मूलत: द्वन्द्व–प्रभावित पात्रहरूको मनोदशावरिपरि घुम्छ ।

‘सेतो सूर्य’ जम्मा तीन दिनको कथा हो— नयाँ संविधान जारी गर्नु अघिल्लो दिनदेखि भोलिपल्टसम्म, कुनै एउटा नेपाली गाउँमा भएको । उसबेलाका माओवादी नेता बाबुराम भट्टराईले पत्रकारलाई व्याख्या गरिरहेका हुन्छन्— किन उनीहरूले पुराना अडान छाडेर संविधानमा ‘सम्झौता’ गर्नुपर्‍यो । रेडियोमा ‘नयाँ नेता’ को त्यही भनाइ आइरहँदा गाउँका एक जना पुराना वृद्ध नेताको मृत्यु भएको दृश्य सुरुमा आउँछ ।

१२ वर्षभरि प्रधानपञ्च रहेका र पछि राप्रपाको राजनीतिमा लागेका ती वृद्धको गह्र्रौं शव घरबाट कसरी निकाल्ने— ढोकाबाट कि झ्यालबाट ? सुरुवाती तनाव त्यसैमा हुन्छ । अनि लास जलाउन निकै तल रहेको खोलासम्म कसरी पुर्‍याउने ? त्यो पनि लगभग युवारहित गाउँमा । युवा भनेका दुई जना हुन्छन्, तिनै ‘प्रधानपञ्च’ का दुई छोरा– एक जना माओवादी छापामार भएर ‘जंगल’ पसेका ‘कमरेड अग्नि’ अर्थात् चन्द्र; अर्काचाहिं नेपाली सेनाको जागिर छाडेर गाउँमै बसेका सुरज ।

फरकफरक मूल्य–मान्यताले गर्दा आफ्ना बाबुको अन्तिम संस्कार गर्ने दौरानसमेत उनीहरू बारम्बार भिड्छन् । त्यो यति बढ्छ कि सुरजले मलामीलाई बाटैमा छाडेर हिँडिदिन्छन्, अनि शव बोक्न सक्ने युवाहरूको खोजीमा भौंतारिएका चन्द्रले कोही पाउँदैनन् र अन्त्यमा आफ्नै भाइलाई फर्काउन जाँदा ऊ पनि उपलब्ध हुँदैन । त्यसपश्चात् उत्कर्षको क्षण आउँछ, जहाँ प्रहरी र माओवादी छापामारबीच भिडन्त हुन्छ र अन्त्यमा अनपेक्षित ढंगबाट वृद्धको शव घाटसम्म पुग्छ ।

त्यतिन्जेलमा उता काठमाडौंमा संविधान जारी भइसकेको हुन्छ । दुई परस्परविरोधी मान्यताबीच टकराव चल्दाचल्दै अन्त्यमा जसरी वृद्धको अन्तिम संस्कार सम्भव हुन्छ, त्यसलाई संविधान जारी हुनुअघि भएको राजनीतिक रसाकस्सीको प्रतिविम्ब मान्न सकिन्छ । सेतो सूर्य मूलत: प्रतीकात्मक चलचित्र हो, जसका कथा, पात्र, पात्रका संवाद र व्यवहार, दृश्यांकन आदि सबैलाई अर्थपूर्ण ढंगले प्रयोग गरिएको छ ।

खासगरी पात्रहरूको उपस्थिति र प्रस्तुति सशक्त लाग्छ । मुख्य दुई पात्रहरू— माओवादी बनेका चन्द्र (दयाहाङ राई) र सेनामा काम गरेका सूरज (रवीन्द्रसिंह बानियाँ) मार्फत दुइटा ध्रुवको प्रतिनिधित्व गराइएको छ । राष्ट्रिय झन्डामा अंकित चन्द्र–सूर्यको अर्थमा उनीहरूको नाम पनि सांकेतिक ढंगले राखेको देखिन्छ । यी दुई पात्र मार्फत् पुरानो र नयाँ मान्यताबीचको सामाजिक–राजनीतिक द्वन्द्वलाई झल्काउन खोजिएको छ ।

बाबुको शव आँगनबाट उठाउनै लाग्दा सुरजले कोठाभित्र दौडेर राप्रपाको झन्डा ल्याएर ओढाइदिन्छन्, चन्द्रले त्यो फ्याँकिदिन्छन् । दाजुभाइबीच विवाद चल्छ ।
चन्द्रले आक्रोश पोख्छन्, ‘योचाहिं अति भयो । यही लडाइँका लागि सारा जीवन गुमाएको छु । ठीक छ, बुवा र मेरो विचार मिल्दैन थियो होला, तर म यो रमिताचाहिं हेर्न आएको होइन यहाँ ।’

बूढापाकाले चन्द्रलाई सम्झाउँछन् । अन्त्यमा उनले बाध्यतामा परेझैं अनुहार खुम्चाएर राप्रपा–झन्डाले ओढाएको शव बोक्छन् । बाटोमा फेरि दाजुभाइबीच बहस चर्कन्छ ।
चन्द्रले तर्क गर्छन्, ‘२५० वर्षदेखि एउटै जातले राज्य गरिरहेको छ । के जनताले आफ्नो न्यायका लागि लड्नु गलत हो ?’

सुरजको जवाफ हुन्छ, ‘तेरा न्यायका नतिजा नदेखेको हो र मैले ।’

‘न्यायबिना शान्तिपूर्ण समाजको स्थापना असम्भव छ, यति कुरा त बुझ्छस् होला नि ।’

‘आफ्नै एउटा परिवार सम्हाल्न सकेको छैनस्, देशका कुरा गर्छस् ।’

हुन पनि समाज बदल्छु भनेर हिँडेको चन्द्रको आफ्नै घर–परिवार भताभुंग भइसकेको हुन्छ । उनले आफ्नी श्रीमती दुर्गा (आशा मगराँती) लाई उहिल्यै छाडेर हिँडेका हुन्छन् । उनीहरूकी सानी छोरी पनि हुन्छिन्, जसको बाबु भने चन्द्र हुँदैनन् ।

चन्द्र र सुरजलाई समेत त्यो थाहा हुन्छ, तर बाँकी समाजले चन्द्रलाई नै बुबा ठान्छ । यता दुर्गा भने छोरीलाई स्कुल पढाउन कानुनी रूपमा कोही बाबु देखिनैपर्ने भएकाले कागजमा हस्ताक्षर गराउन चन्द्र र सुरज दुवैलाई बिन्ती गर्छिन् । लैंगिक समानताको चर्को कुरा गरे पनि पछिल्लो राजनीतिक प्रबन्धले समेत महिलालाई समान अधिकार सुनिश्चित नगरेको झल्को त्यहाँनेर आउँछ ।

दुर्गाका रूपमा आशा मगराँतीको अभिनय निकै जीवन्त छ । बाँचुन्जेल आफ्ना ससुराको स्याहार–सुसार गरे पनि मरेपछि उनलाई शव छुनसमेत दिइन्न । झ्यालबाट लास निकाल्न खोज्दा उनले सघाउन खोज्छिन्, पण्डितले हकार्छन्, ‘आइमाईले लास छुनु हुन्छ ?’ दुर्गाले प्रतिप्रश्न गर्छिन्, ‘के झर्न दिनु त ?’ तर त्यसभन्दा बढी प्रतिवाद गर्न सक्ने सामाजिक परिवेश हुन्न, उनी अन्यत्रै गएर बस्छिन् ।

‘त्यो परिवर्तनका लागि यत्रो लडियो, हाम्रो परिवार जस्ताको त्यस्तै’, एउटा मोडमा चन्द्रले स्विकार्छन् । राजनीतिक विद्रोहले सफलता नपाएको, र आफू सम्भवत: ‘अयोग्य लडाकु’ बनेर फर्कनुपरेको बाध्यताबाट उनी आफैं पिल्सिरहेका हुन्छन् । उता उनले युद्धकालमा ज्यान जोखिममा हालेर सेनाबाट बचाएका नेता भने नवसम्भ्रान्तका रूपमा छोराको बिहे गर्न गाउँमा हेलिकप्टरबाट झरेको दृश्यले माओवादीभित्रै दुइटा वर्ग विकसित भएको प्रस्ट्याउँछ ।

कतिसम्म भने चन्द्रले आफ्ना बुबाको शव उठाउन मद्दत माग्दा आफैंले कुनै बेला जोगाएका ती नेताले मानवीय सहयोगसमेत गर्दैनन् । तर नेताज्यू बोलीले भने ठिक्क पार्छन्, ‘संविधान जब आउँछ मुलुकमा, अनि सब कुरा ठीक हुन्छ ।’ संविधानसभाकालमा नेताहरूले दिने ‘रेडिमेड’ आश्वासनलाई यसले सम्झाउँछ । तर संविधान आएर के भयो ? आम मानिसझैं चन्द्र पनि रनभुल्लमै देखिन्छन् ।

यो चलचित्रले राजनीतिक द्वन्द्वको पृष्ठभूमि समाते पनि पक्षधरता लिएको छैन । दुवै पक्षको सबल र दुर्बल पक्ष पात्रहरूमार्फत झल्काएको छ । अहिले नेपाली समाजलाई दुइटा कुराले तंरगित पारिरहेको छ । त्यसमा एउटा द्वन्द्वको सामाजिक बाछिटा हो भने अर्को वैदेशिक रोजगारीले गाउँघरमा सिर्जना गरेको रिक्तता । ‘सेतो सूर्य’ ले दुवैलाई समेटेको छ ।

द्वन्द्वोत्तरकालमा देखापरेको निराशाले बिदेसिने प्रवृत्तिलाई अरू बढाएको छ । त्यसैले गाउँहरू युवाविहीन बनेका छन्, बाँकी रहेका छन् चाउरी परेका वृद्ध अनुहारहरू । चलचित्रमा गाउँमा लास उठाउने युवा पनि नभेटिएको दृश्य नाटकीय लाग्न सक्छ, तर यसको प्रतीकात्मक अर्थ बुझ्न सकिन्छ ।

प्राय: नेपाली फिल्ममा स्थानीय परिवेश समेटिँदैन, सामयिक विषयवस्तुमा त अझ प्रवेशै गरिन्न । गरे पनि त्यो साह्रै नाटकीय हुने हुन्छ । तत्कालीन विषयवस्तु, वर्तमान पुस्ताले देखे–भोगेको विषयमा केन्द्रित हुँदा फिल्मका घटनाक्रमलाई दर्शकले आफू या आफ्नै अवस्थासँग ‘रिलेट’ गर्न सक्छन् र सायद व्यावसायिक रूपले ‘हिट’ हुने ढोका पनि त्यसले खोल्छ ।

हालै निकै चलेको ‘छक्का–पञ्जा’ को सफलताले यही देखाएको छ । नेपाली समाजको ‘संस्कृति’ सरह बन्न थालेको वैदेशिक रोजगारीको विषयलाई यसले राम्रोसँग ल्यायो, दर्शकले रुचाए । भलै लैंगिक दृष्टिले भने त्यसमा साँघुरो सोच राखेको देखिन्छ । सेतो सूर्य वैदेशिक रोजगारीका मुद्दामा प्रत्यक्ष प्रवेश गरेको छैन, तर यसले समाजमा पारिरहेको प्रभावलाई भने दर्साउन खोजेको छ ।

र, हालकै सामाजिक परिवेशलाई समेटेको छ, जसलाई पछिल्लो पुस्ताले भोग्दै–देख्दै छ । यसका हरेक पात्रका आ–आफ्ना कथा छन्, जससँग दर्शकले सामीप्य महसुस गर्न सक्छन् । मुख्य कलाकारबाहेक दुई जना बाल कलाकारको अभिनय निकै तारिफयोग्य छ । द्वन्द्वकालमा बाबु–आमा माओवादीबाट मारिएपछि भरिया बनेका बालकले ‘मान्छे नठान्नुहोस् दाइ, म भरिया हो’ भन्दाको दृश्यले मन छुन्छ ।

कथावस्तु र त्यसको प्रस्तुतिलाई लिएर ‘सेतो सूर्य’ माथि कहीं–कतै खोटै लगाउन नसकिने होइन, तर त्यो आलोचनाका लागि आलोचना गर्नुजस्तो हुन जान्छ । यसको सबल पक्ष सशक्त छ, कमजोरीभन्दा । कास्कीको रमणीय गाउँको छायाकंन आकर्षक छ । छायांकन र सम्पादनमा विदेशी अनुभवी जनशक्ति प्रयोग गरिंदाको महत्त्व चलचित्रभरि महसुस हुन्छ । यसअघि ‘हाईवे’ बनाएर चिनिएका निर्देशक रौनियारको यो पछिल्लो मिहिनेत निकै माझिएको र परिपक्व बनेको झैं लाग्छ हेर्दाखेरी ।

‘सेतो सूर्य’ ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरूमा ‘ह्वाइट सन’ का नामले उत्साहजनक उपस्थिति जनाइसकेको छ । त्यहाँ पुरस्कार र सम्मानसमेत पाएर यो अब काठमाडौं आइपुगेको छ ।

विदेशमा प्रशंसा पाएको चलचित्रले नेपाली दर्शकबाट चाहिं कस्तो प्रतिक्रिया पाउला ? त्यो भने हेर्न बाँकी छ, तर यस्ता मिहिनेती कामले सफलता पाउँदा समाजमा सिर्जनात्मक कार्य गर्नेलाई प्रोत्साहन नै मिल्नेछ ।

साभारः कान्तिपूर अनलाइन