बिहेमा लमीलाई दण्ड


marrigeरौतहट, ७ पुस । दाइजो प्रथा बन्द अभियानले रौतहटमा दाइजो दिनेलाई जरिवाना र लिनेलाई फिर्ता गर्ने अभियान चलाइएको छ ।

दाइजो प्रथा बन्द अभियानले विवाहमा दाइजो मागिदिने अर्थात् विवाह गराउने लमी कनकपुर गाविस वडा नम्बर २ नहरटोलका मौगलाना शेख मुस्तुफालाई सामाजिक कारबाही गरी ५० हजार जरिवाना गरेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

गाविस कनकपुर वडा नम्बर ६ जंगलसहिया टोलका शेख ओकिलको १६ वर्षीया छोरी बचिया खातुनसँग गाविस राजपुर फरहदावा वडा नम्बर ५ का शेख जाकिरले आफ्नो २२ वर्षीय छोरा शेख सकिलको विवाह गर्न २ लाख ५० हजार दाइजो मागी विवाह गराउने मुस्तुफालाई कारबाही गरेको अभियानका सदस्य शेख दाउदले बताए ।

दाइजो लिएको कुरा अभियान समितिका सदस्य दाउदले थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई विवाह रोकेको थियो । विवाह रोकिएपछि दाइजो लिएको रकम फिर्ता गराई बिनादाइजो त्यहीँ जन्ती लिएर गएको केटा पक्षले सोही केटीसँग विवाह गरेका छन् ।

यसैबीच, छोराको विवाह गर्दा केटी पक्षसँग लिने गरिएको दाइजो रकम मुस्लिम समुदायका केटा पक्षले धमाधम फिर्ता गर्न थालेका छन् । यसै क्रममा कटहरिया गाविस ३ का २१ वर्षीय सद्दाम मन्सुर र सखुअवा धमौरा गाविस ५ की १९ वर्षीया हास्मुन खातुनको विवाहमा दाइजोस्वरूप केटी पक्षले दिएको रकम केटा पक्षले विवाहको दिन फिर्ता गरेका हुन् ।

एक वर्षअघि छोराको विवाह गर्न कुरा छिन्दा कटहरियाका इलाही मियाले ५० हजार रुपैयाँ लिएका थिए । सोही रकम मियाले फिर्ता गरेका हुन् ।

यसअघि सो गाउँका भिखारी मन्सुरीले छोरीको विवाह गर्न कुरा छिन्दा दिएको १ लाख ५० हजार दाइजो रकम केटा पक्षले विवाहकै दिन फिर्ता गरेका थिए । यस्तै, अर्को एक परिवारले पनि सो गाउँमा ५० हजार दाइजोबापत दिएको रकम फिर्ता पाएका छन् ।

दाइजो लिनेदिने काम राम्रो नभएको र यसले समाजमा नराम्रो असर पर्ने बुझेपछि लिएको रकम फिर्ता गरेको केटाका बाबु इलाही मियाले बताएका छन् । आफ्नो गाउँमा पछिल्ला दिनहरूमा दाइजोविरुद्ध अभियान चलाएपछि दाइजोबापत लिएको रकमसमेत फिर्ता हुन थालेको चाँद सितारा महिला स्वावलम्बन समूहकी अध्यक्ष रोक्सना खातुनले बताइन् ।

धार्मिक मान्यताविपरीत कुप्रथाको रूपमा दाइजो प्रथा रहेकाले यसको अन्त्य गर्न सबैले सहयोग गर्नुपर्ने मुस्लिम अगुवाहरूको भनाइ छ । इस्लाम धर्ममा दाइजो लेनदेन गर्न नहुने उल्लेख भएकाले दाइजो लेनदेन अन्त्य गर्न जिल्लास्तरीय समिति गठन भएको मुस्लिम समुदायका अगुवा हाजी जिकुरुल्लाहले जानकारी दिएका छन् ।

दाइजो प्रथामुक्त समाज बनाउने उद्देश्यका साथ केही दिनअघि रौतहटमा मुस्लिम समाजका शिक्षित जिल्ला अगुवाहरूले प्रमुख जिल्ला अधिकारी नरहरि बराल, प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरूको बैठक बसी दाइजो प्रथा बन्द अभियान समिति गठन गरेका थिए ।

साभारः दैनिकनेपाल अनलाइन