अमेरिका उड्ने विमानबाट निकालिइन् इरानी युवती


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका छिर्न लगाएको प्रतिवन्धले विश्वभर तरंग ल्याएको छ । यो प्रतिवन्धबाट समस्यामा पर्नेहरुमध्ये एक हुन् नजानिन जिनौरी । इरानी पीएचडी होल्डर जिनौरी करिब सात वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् । पछिल्लो हप्ता विदा मनाउन आफ्नो घर तेहरान आएकी उनी फेरि अमेरिका फर्किन सकिनन् । शनिबार दुबई एयरपोर्टमा अमेरिका प्रस्थान गर्ने जहाजबाट दुई अधिकारीले उनलाई बाहिर निकाले । उदास मन लिएर घर फर्केकी जिनौरीले आफ्नो तितो अनुभूति फेसबुकमा सेयर गरिन् । सात वर्षसम्म अमेरिकामा बसेर गरेको सेवा आज मूल्यहीन बनेको उनले बताइन् । THE-TRITNA-300x75अमेरिकाको क्लेमसन युनिभर्सिटीबाट पीएचडी गरेकी जिनौरी एक डाटा साइन्टिस्ट हुन् । उनी २८ घन्टा यात्रा गरेर २० जनवरीमा परिवारलाई भेट्न इरान गएकी थिइन् । गत साता ट्रम्पले आप्रवासनमा कडाई गर्ने हल्ला सुनेपछि उनले हतार-हतार साउथ क्यारोलिनाका लागि टिकट बुक गरिन् । उनको उडानभन्दा केही घन्टा पहिले ट्रम्पले सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाउँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । त्यसको प्रभावले गर्दा दुवई एयरपोर्टका अधिकारीले उनलाई ४० मिनेट सोधपुछ गरे र अन्ततः वासिङटन जाने बिमानबाट बाहिर निकाले । फेसबुकमा जिनौरीले लेखेकी छिन्, ‘अमेरिकामा झण्डै सात वर्ष सेवा गरेपछि म देश निकाला भएँ ।’ अमेरिका छोड्नुअघि उनलाई कसैले कुनै प्रकारको चेतावनी दिएको थिएन । उनले आफ्नो पाल्तु कुकुर साथीको जिम्मामा छोडेर हिँडेकी थिइन् । उनको कार एयरपोर्टमै पार्किङमै छ ।
तर, अमेरिकामा उनको घर र सम्पुर्ण सरसामन बेवारिसे बनेका छन् । ‘उनीहरुले मुखले त भनेनन्, तर उनीहरुको क्रियाकलापले मेरो जीवनको केही अर्थ छैन भन्ने सन्देश दिन्थ्यो,’ जिनौरीले लेखेकी छिन् । उनको कथा फेसबुकमा १ लाख २० हजार जनाले सेयर गरेका छन् भने एक लाख जनाले लाइक गरेका छन् । ट्रम्पको आदेशपछि उडान गर्न नपाएका करिब ३७५ यात्रुहरुमध्ये जिनौरी एक हुन् ।
स्राेत:अनलाइनखबर