मदनकृष्णको ‘साझा पृथ्वी’


madan-book-20022017084036-1000x0फाल्गुन ९, २०७३- पृथ्वी मानिसको मात्र नभई पशुहरूको पनि भएको सन्देशसहित मदनकृष्णले ‘साझा पृथ्वी’ कथासंग्रह ल्याएका छन् ।

कृतिको शनिबार राजधानीमा लेखक/व्यवसायी कर्ण शाक्यले लोकार्पण गरे । कार्यक्रममा शाक्यले प्रकृति रहे मानिसको अस्तित्व रहने बताए । उनले पुस्तकले बालबालिकाहरूमा जीवजन्तुप्रति माया बढाउन मद्दत गर्ने सुनाए । कथा लेखनको सन्दर्भमा मदनकृष्णको भने बाल्यकाल सम्झे । ‘झन्डै १२ वर्ष हुँदा हजुरबुवालाई खुसी बनाउन एउटा भँगेरा मारेर घर लगेको थिएँ, मरेको भँगेरा देखेपछि हजुरबुुवाले ‘यो चराहरूको बच्चा काढ्ने समय हो । तिमीले बच्चाको माउलाई मारेपछि बच्चाहरू भोकभोकै मर्छन्’ भन्दै गाली गर्नुभयो,’ मदनकृष्णले भने, ‘हजुरबुवाको कुराले म प्रभावित भएँ, त्यही बेलादेखि जनावरहरूप्रति प्रेम बढेको हो ।’

वन्यजन्तुलाई विषयवस्तु बनाएर उनले टेलिफिल्म पनि लेखेका छन् । ‘टेलिफिल्मको केही एपिसोड बनाएर देखाइयो । पछि सबै हरायो,’ उनले भने, ‘छोरा यमनको सल्लाहअनुसार पुस्तक लेखेको हुँ ।’ अहिलेको पुस्ताले डायनासोरलाई किताबमा पढेअनुसार आगामी पुस्ताले बाघ र गैँडालगायत जनावरहरूलाई पनि किताबमा पढ्न नपरोस् भन्ने अभिप्रायका साथ पुस्तक लेखेको उनले सुनाए । कलिला बालबालिकाको मनमा अहिलेदेखि नै वन्यजन्तुप्रतिको माया बढाएमा वन्यजन्तुको संरक्षणमा उनीहरूले योगदान पुर्‍याउनेमा उनले विश्वास व्यक्त गरे ।

साभारः कान्तिपूरअनलाइन